Logo

‘राष्ट्र बैंक अलिकति उदार हुने अवस्था देखिएको छ’

मनोज ज्ञवाली/सीईओ, नबिल बैंक

यही आर्थिक अवस्थाको सुरुवाती अवस्थाभन्दा पहिलो क्वार्टरमा भन्दा दोस्रो, तेस्रो हुँदै चौथो त्रैमासमा केही सहज भइरहेको अवस्था छ । यो हेर्दै गर्दा पूर्ण सहज अवस्था भने होइन । विगतमा पाँच प्रतिशतभन्दा बढी एनपीए भयो भने केके न हुन्छ भनेर चर्चा गर्ने गरिएकोमा अहिले एभरेज बैंकिङ क्षेत्रको एनपीए तेस्रो त्रैमासमा ५.२४ प्रतिशत पुगिसकेको अवस्था छ । त्यो पनि राइट अफ गरेको लोन र एनपीए बुक गरेको लोनहरूलाई साइडमा राखेर बुक भइरहेको अहिलेको लोनको भोलुमको कुरा गर्दा ५.२४ प्रतिशत एनपीए पुगेको हो ।

यो भनेको धेरै ठूलो चुनौतीपूर्ण कुरा चाहिँ होइन । यो एसेस्टहरू म्यानेज गर्दा हामी बैंकिङ क्षेत्रलाई सेल्फ सस्टेन हुन्छौं भनेर गर्व गथ्र्यौँ । अहिले पनि बैंकिङ क्षेत्रको कुल फाइनान्सिङ हेर्ने हो भने ६० प्रतिशतभन्दा बढी फिक्स एसेट कोल्याट्रलमा आधारित छ । तर, त्यो कोल्याट्रल पनि कतिखेर काम लाग्दो रहेछ भन्नेमा बजारमा तरलता भएको बेलामा काम लाग्दो रहेछ । तर, अहिले भइरहेको बजारमा तरलता सबै बैंकमा थुप्रिएको छ । बजारमा तरलता छैन । व्यक्तिहरूमा पैसा छैन । जसका कारणले गर्दा क्रेडिट सेल्सको भोल्युम घटेको छ ।

पैसा नभएका कारण घरजग्गा अक्सनमै जाँदा पनि बिड नपर्ने अवस्था छ । जसको असर एनपीए घटाउन नसक्नुमा परिरहेको छ । यो हिसाबले हामीले कुरा गर्दा यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सबै बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा हेर्दा रिटर्न अर्निङको नेगेटिभ ब्यालेन्स छ । भन्नुको मतलब सबै बैंकहरूको एक ठाउँमा राखेर जोड्ने हो भने वितरण गर्न सक्ने अवस्था छैन । करिब ४/६ वटाभन्दा बढी बैंकहरूले मलाई लाग्दैन कि यो वर्ष डिभिडेन्ड वितरण गर्ने क्षमता राख्छन् । तर तेस्रो त्रैमासभन्दा चौथो त्रैमासमा केही सुधार भएको अवस्था छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको अपेक्षाको कुरा गर्दा अपेक्षा के राख्नेभन्दा पनि बैंकरहरू अब कति स्वनियममा बस्ने भन्ने मुख्य विषय हो । अस्ति राष्ट्र बैंकबाट सर्कुलर जारी भयो । सरसर्ती हेर्दा छिटो आयो भनेर हामी खुसी हुनुपर्ने जस्तो लाग्छ । तर, हामीले यस किसिमको अपेक्षा गरेका थिएनौँ । मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने कुराहरू त्यस अगावै बजेटपछि आउने परिस्थिति सिर्जना भयो । हामीले समस्याहरूलाई धकेल्ने हो कि समाधान खोज्ने भन्ने अहिलेको प्रश्न हो । यसमा हामीले विचार गर्नुपर्छ ।

हामीले बैंकरको रूपमा पनि राष्ट्र बैंकलाई आफूले सहज हुनेभन्दा पनि दिगो समाधानतर्फ सोच्नुपर्छ । त्यही अनुसारको सुझाव दिनुपर्छ । चालु पुँजी कर्जा मार्गदर्शनको विषयमा अलिकति खुकुलो गर्ने भन्ने कुरा छ । त्यसमा सधैँका लागि खुकुलो गर्ने कि, के कसो गर्ने भन्ने छलफलको विषय हो । अर्को कुरा क्यापिटल एडुकेसीमा बैंक तथा वित्तीय संस्थाहरूलाई दबाब छ । औसत क्यापिटल एडुकेसी रेसियो १३ प्रतिशतभन्दा कम भइसकेको अवस्था छ । यहाँ एकदमै दबाब पर्ने देखिन्छ ।

एनपीए यसरी नै बढेर गयो भने हामीले कुरा गरिरहेको आर्थिक विकास र कर्जा प्रवाहका कुरा गर्दैछौं । त्यो कर्जा प्रवाह गर्नका लागि बैंकसँग क्यापिटल एडुकेसी राम्रो हुनुपर्छ । अहिले राष्ट्र बैंकले राइट सेयरलाई अनुमति दिएको अवस्था छैन । नबिल बैंकले अग्राधिकार सेयर ल्याएको थियो । त्यो पनि नियमनकारी निकायहरूबीच समन्वय र आपसी तालमेल नहुँदा चार महिनादेखि रोकिएको अवस्था छ । हामी त्यो कहिले आउला र जारी गरौँला भनेर पर्खिरहेका छौं ।

रिस्कवेट केही कम गरेर हुन्छ कि ? कसरी हुन्छ ऋणलाई सहज गर्न पनि सक्नुपर्छ । यतिबेला बैंकको नाफा बढाउनुपर्छ भन्दा पनि यतिबेला सेल्फ सस्टेन हुने परिस्थिति आओस् भन्ने चाहन्छु । कहिलेकाहीँ राष्ट्र बैंक एकदमै कसिलो हुने, कहिलेकाहीँ एकदमै लचिलो हुने अवस्था रहँदै आएको छ । यसले फेरि स्थिति बिग्रिन्छ । यतिबेला हामी बैंकरहरू पनि बढी जिम्मेवार हुनुपर्ने बेला आएको छ । किनभने राष्ट्र बैंक अलिकति उदार हुने अवस्था देखिएको छ । यस्तो अवस्थामा हामीले विगतमा जस्तै चुरीफुरी गर्न थाल्यौं भने समस्या बल्झिन्छ ।

कुनैबेला ५ प्रतिशतको स्प्रेडमा बैंकहरूले काम गर्नुपर्छ भनेर राष्ट्र बैंकले भनेको बेलामा बैंकहरूले त्यस्तो अवस्थामा बैंकहरू बाँच्न सक्दैन भनेर उफ्रिने हामी बैंकरहरू आज बजारमा क्रेडिट डिमान्ड नहुँदा हामी के गरिरहेका छौँ ? हिजो १०–११ प्रतिशत कर्जाको आधार दर थियो । त्यतिखेर हामीले व्यापारीहरूसँग साढे ३–४ प्रतिशतमा लियौं । कसैले घटाएनौँ । अहिले तरलता पर्याप्त भएपछि ब्याजदर सस्तो भयो । ३ प्रतिशतमा राष्ट्र बैंकमा राख्नुभन्दा आउनोस् बेस रेटमै लैजानोस् भनेर भनिरहेका छौं । यसबाट हामी माथि उठ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्