Logo

काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा– पूर्वी नाका काँकडभिट्टा नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात घटेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ मसान्तसम्मको एघार महिनामा पूर्वी नाका काँकडभिट्टाबाट हुने पेट्रोलियम पदार्थको आयात ८.३५ प्रतिशतले घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सो अवधिमा १७ अर्ब ५९ करोड ६९ लाखको १ लाख ९५ हजार ३१० किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए । गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १९ अर्ब २० करोड बराबरको एक लाख ८५ हजार २१ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिएको बताउँदै उनले गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा भन्दा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ मसान्तसम्म पेट्रोलियम पदार्थको आयात ८.३५ प्रतिशतले घटेको जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ६ अर्ब ९७ करोड ३० लाख बराबरको ६५ हजार ७४० किलोलिटर डिजेल आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा पूर्वी नाका काँकडभिट्टा नाकाबाट ६ अर्ब २६ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरकोे ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको उनको भनाइ छ ।

त्यसैगरी, गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ८ अर्ब ६९ करोड ३८ लाखको ८६ हजार ८५२ किलोलिटर पेट्रोलको आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ८ अर्ब ११ करोड ५९ लाखको ९३ हजार ८२४ किलोलिटर पेट्रोलको आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २ अर्ब ३५ करोड २५ लाखको २३ हजार १४ एमटी एलपी ग्यास आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा २ अर्ब ५९ करोड ९२ लाखको २३ हजार ४३८ एमटी एलपी ग्यास आयात भएको उनले बताए ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ७७ करोड १६ लाख १८ हजार रुपैयाँको ७ हजार २२० किलोलिटर हवाई इन्धन एटीएफ आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ६१ करोड २० लाख ७१ हजार रुपैयाँको ६ हजार ७०८ किलोलिटर हवाई इन्धन एटीएफ आयात भएको उनले बताए ।

त्यसैगरी गत आर्थिक वर्ष २०८०/०८१ ११ महिनामा २२ करोड ९० लाखको २ हजार १६८ किलोलिटर मट्टितेल आयात भएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा २२ करोड ७१ लाख ५७ हजार रुपैयाँको २ हजार ५२० किलोलिटर मट्टितेल आयात गरिएको उनको भनाइ छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको बिक्री बढेसँगै पेट्रोलियम पदार्थको आयातसमेत घटेको उनले बताए । सर्वसाधारण विद्युतीय सवारी साधनप्रति आकर्षित भएसँगै डिजेल पेट्रोलबाट चल्ने सवारी साधनको बिक्री कम हुन थालेको बताउँदै उनले बजारमा पेट्रोलियम पदार्थको माग कम भएसँगै आयातसमेत घटेको जानकारी दिए ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको हो । कल कारखाना, उद्योग धन्दा सञ्चालनमा कमि, बजारमा विद्युतीय सवारी साधनको चाप वृद्धिले पेट्रोलियम पदार्थको आयातमा कमि आएको सूचना अधिकारी हुमागाईंले बताए ।

औद्योगिक प्रयोजनमा डिजेल खपत हुने गरेको भएपनि पछिल्लो समय विविध कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले पनि पेट्रोलियम पदार्थको आयातमा कमि आएको उनको भनाइ छ । काँकडभिट्टा नाकाबाट पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास, हवाई इन्धन एटीएफ र मट्टितेल आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्