३३ हेक्टरमा सिंचाइ सुविधा
तीन करोडका ६८ सिंचाई कुलो निर्माण

जुम्ला– तातोपानी गाउँपालिका–५ एैरेनीका किसान कमलराज न्यौपाने गाउँको मार्सी रोप्ने ज्यूलोमा पक्की सिंचाई कुलो निर्माण भएपछि खुसी छन् । परम्परात कुलो हुँदा दु:ख भोगेका न्यौपाने पक्की कुलो निर्माणपछि सिंचाई सुविधा सहज बन्दै गएको अनुभव सुनाउँछन् ।
उनी भन्छन् ‘विगतमा परम्परागत कुलो हुँदा सिंचाई गर्न कठिन थियो । पटक पटक कुलो भत्किने, पानी काट्न असहज हुने समस्या थिए । अहिले पक्की कुलोे बनेपछि खेत खेतमा पानी हाल्ने (अड) बनाइएको छ । भत्किने डर छैन । विगतको जस्तो रातभरी बसेर पानी बुझ्नु पर्ने सबै झन्झट हुट्यो ।’
तातोपानी–५ कै किसान नेत्रराज धितालले पक्की सिंचाई कुलो निर्माण भएपछि सिंचाई सुविधासँगै विगत जस्तो भत्किने र गाउँलेले नै पटक पटक गएर मर्मत गर्नुपर्ने समस्या अन्त्य भएको बताए । एैरेनीको ज्यूलोमा कृषि विकास कार्यालय जुम्लाले साढे ४ लाख लगानीको ११४ मिटर लामो पक्की कुलो निर्माण गरेको छ । शनिबार कुलोको अनुगमन संयुक्त अनुगमनसमेत गरिएको छ ।
अनुगमनकै क्रममा खेतमा भेटिएका किसान नेत्रराज र कमलराजले पक्की सिंचाई कुलो निर्माण निकै राहत भएको बताए । कृषि विकास कार्यालयले जिल्लाभरी निर्माण गरेका सिचाई कुलोलगायतका कार्यक्रमको समेत संयुक्त अनुगमन थालिएको छ । जसअन्तरर्गत शनिबार तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ६ ठाउँमा सिंचाई कुलो, युवा लक्षित कार्यक्रम तथा व्यावसायिक प्याज खेतीको अनुगमन गरिएको थियो ।
३ करोडका ६४ वटा कुलो निर्माण
कृषि विकास कार्यालय जुम्लाले यस वर्ष कृषि उत्पादन वृद्धिका लागि सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित ६४ वटा साना सिंचाई योजना निर्माण गरेको छ । विनियोजन भएका कूल ६८ वटा सिंचाई कुलो भएपनि दुई वटा सम्झौता नै हुन सकेनन् भने दुई वटा सम्झौता भएपनि कार्यान्वयन भएनन् । चारदेखि पाँच लाखसम्मका ६४ वटा सिंचाई योजना जिल्लाका आठै पालिकामा निर्माण भएको कृषि विकास विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।
‘६४ वटै सिंचाई कुरा निर्माण सम्पन्न भइसकेका छन् । केहीबाहेक सबैको अन्तिम भुक्तानी पनि दिइंसकेका छौं’ उनले भने, ‘सम्पन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगमन सुरु गरेका छौं । पहिलो दिन तातोपानी र चन्दननाथमा सम्पन्न भयो । सिंचाई सुविधा विस्तार गरी उत्पादन बढाउने र किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्यसहित काम भइरहेका छन् ।’ यस वर्ष मात्रै करिब ३ करोड १८ लाख भन्दा बढीका ६८ वटा साना सिंचाई छनोट भएका थिए ।
पालिकागत रुपमा हेर्दा साना सिंचाई कुलो सबैभन्दा बढी तातोपानी गाउँपालिकामा निर्माण भएका छन् । तथ्यांकनुसार तातोपानी गाउँपालिकामा ७२ लाखका १६ वटा कुलो निर्माण भएका छन् । त्यस्तै चन्दननाथ नगरपालिकामा ५२ लाख लागतका ११ वटा, तिला गाउँपालिकामा ३५ लाख ५० हजार लागतका ८ वटा योजना निर्माण भएका छन् ।
यस्तै, हिमा गाउँपालिकामा ६१ लाख लगानीमा १३ वटा, सिंजा गाउँपालिकामा २४ लाख लागतका ५ वटा, कनकासुन्दरी गाउँपालिकामा ३८ लाख ५० हजार लागतका ८ वटा सिंचाई कुलो निर्माण भएका छन् । पातारासाी गाउँपालिकामा ५ लाखको एउटा सिंचाई कुलो निर्माण भएको छ भने गुठिचौर गाउँपालिकामा २९ लाख लगानीमा ६ वटा सिंचाई कुलो निर्माण भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।
यस वर्ष निर्माण भएका ६४ सिंचाई कुलोले जिल्लाको ६६० रोपनी क्षेत्रफलमा सिंचाई सुविधा विस्तार हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले अभाव र आवश्यकतालाई मध्यनजर गरी गाउँ गाउँमा निर्माण भएका सिंचाई कुलोले किसानलाई राहत दिलाएको बताए । मर्मत संभारमा समस्या हुने देखिएकाले एक पटक बनेका संरचना संरक्षण गर्नतर्फ समेत अनुगमनका क्रममा किसानलाई सुझाव दिए ।
जुम्लाको सबै क्षेत्र कृषिका लागि उर्वभर भूमि भएको जिल्ला समन्वय समितिका प्रमुख आर्चायले भने, ‘सिंचाई असुविधाले जुम्लाको धेरै भूमि बाँझो छ । यसरी गाउँमा गाउँमा सिंचाई सुविधा विस्तार हुनुले उत्पादन बढ्ने र किसानलाई राहत पुग्ने अपेक्षा छ । यद्दपि कुनै पनि योजनाको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण बनेका त्यसतर्फ ध्यानदिन जरुरी छ ।’