Logo

साँघु खोलाबाट ५.५ मेगावाट विद्युत उत्पादन सुरू

दोलखा– हिमपर्वत हाइड्रोपावरले निर्माण गरेको साँघु खोला जलविद्युत आयोजना १ को परीक्षण सफल भएको छ । प्राविधिक परीक्षण सफल भएसँगै ५.५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । हिमपर्वत हाइड्रोपावरले निर्माण गरिरहेको २ जलविद्युत आयोजनामध्ये पहिलो चरणमा ५.५ मेगावाटको साँघु खोला १ जलविद्युत आयोजनाको शुक्रबारदेखि परीक्षण उत्पादन थालेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले एक हप्तादेखि विद्युत गृह, सबस्टेसन र प्रशारण लाइनको विभिन्न उपकरणको परीक्षण सफल भएपछि उत्पादन सुरू गरेको आयोजनाको प्रवर्द्धक हिमपर्वत हाइड्रोपावरका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । परीक्षण सफल भएकाले १५ दिनसम्म प्राधिकरणलाई नि:शुल्क विद्युत उत्पादन गरेपछि व्यावसायिक उत्पादन थाल्ने उनले बताए ।

साविक आलम्पू गाविस र चिलंखा गाविसबीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखू खोलाको दोभानभन्दा ३ सय मिटर माथि बाँध बाँधेर पानी फर्काएर पेगू दोभानमा खसाली ५.५ मेगावाट विद्युत उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ । सो आयोजनाको बाँधमा स्याखु खोलाको पानीसमेत फर्काएर मिसाउने योजना छ ।

सो आयोजनाको १४९ मिटर ग्रस हेड रहेको छ भने पेनस्टक पाइप २ हजार ३१२ मिटरमध्ये पाइप जडान गरेको छ । विद्युत प्रसारणका लागि पेगू दोभानदेखि सोरुङ खोलासम्म १३२ केभी स्वीच्याडसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको छ । हिमपर्वतले नै निर्माण गरिरहेको २० मेगावाटको अर्को आयोजनाबाट एक महिनापछि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

पेगू दोभानमा विद्युत गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाटै २० मेगावाटको साँघु खोला जलविद्युत आयोजनाको हेडपोनमा हालिएको छ । साँघु खोला र पेगू खोलाको दोभानमा पेगू खोलाको पानीलाई समेत बाँध निर्माण गरी फर्काएर बालुवा थिग्रयाउने पोखरीबाट बनाएर दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ । २० मेगावाटको आयोजनाको सिभिल, प्रसारण लाइन र विद्युत गृहको सबै काम पूरा भएका छन् ।

पेनस्टक पाइप जडान पूरा गरी त्यसको प्रेसर परीक्षणको काम भइरहेको अध्यक्ष गुरुङले बताए । पाइप जडानको काम र विद्युत गृहको सामान्य काम एक महिनामा पूरा गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका इञ्जिनयर प्रविण घिमिरेले जानकारी दिए । यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टक पाइप जडान गर्नुपर्छ । सोरुङ खोलामा विद्युत गृह निर्माण भएको छ । विगू गाउँपालिका–८ मा हाल निर्माणाधिन ३ वटै आयोजनाको विद्युत जोड्न मिल्ने गरी स्वीच्याड निर्माण भएको छ ।

यहाँ भविष्यमा निर्माण हुने जलविद्युत आयोजनालाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सवस्टेशनमा जोडिएको छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् । दुवै आयोजनाको निर्माण व्यवसायी सिभिलततर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा ट्रेडिङ प्रालि रहेका छन् ।

हिम पर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ८० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब १५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा हिमालयन र माछापुछ्रे बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानी ६५:३५ को अनुपातमा छ । हिमपर्ततका यी आयोजनामा अवसर इक्वीटी डाइभर्सीफाइड फण्डले ४८ करोड स्वपुँजी लगानी गरेको छ ।

हिमपर्वत हाइड्रोपावरले ५९.१५ करोड रुपैयाँ बराबरको ५९.१५ लाख कित्ता साधारण सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौता अनुसार आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी जम्मा ५९.१५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ । दुवै आयोजनामध्ये ५.५ मेगावाटको विगू गाउाँपालिका–६ र २० मेगावाटको आयोजना–८ मा पर्छ ।

हिमाल गुरूङ नेतृत्वको टिमले यसअघि दोलखाकै गौरीशंकर गाउँपालिका–५ र ६ भइ बग्ने सुरी खोलामा मकरजितुमाया हाइड्रोपावरमार्फत २ वटा आयोजना पूरा गरी १५ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । नेप्सेमा सूचीकृत भई मकरजितुमाया धितोपत्र बजारमा कारोबार भइरहेको छ । साँघु खोला निर्माण पूरा हुँदा उनको नेतृत्वमा ४० मेगावाटको आयोजना क्षमता पुग्छ । आगामी दिनमा ठूला क्षमताका आयोजना निर्माणका लागि पाइप लाइनमा भएको गुरूङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्