बधशाला निर्माणमा ढिलाइ

दाङ– घोराहीमा बधशाला निर्माणमा ढिलाई भएको छ । एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले चार वर्ष अघिदेखि काम सुरु भएपनि बजेट अभावका कारण निर्माणमा ढिलाई हुँदै आएको छ । गुरुयोजना अनुसार घोराही उपमहानगरपालिका–१४ कपासीस्थित २२ कट्ठा क्षेत्रफलमा निर्माणाधिन बधशाला दुई वर्षभित्र निर्माण सक्नुपर्ने भएपनि अझै पूरा हुन सकेको छैन । तर बधशालालाई अघि बढाउन केही संरचना निर्माणका कामहरु भइरहेको घोराही उमहानगरपालिकाले जनाएको छ ।
सोहीअन्तर्गत चालु आर्थिक वर्षमा बधशाला स्थलमा पशुपंक्षी तथा मासु काट्ने घर निर्माण भइरहेको छ । प्रदेश सरकारको करिब ७० लाख रुपैयाँबाट बधशाला स्थलमा पशु बध गर्ने र मासु काट्नका लागि घरहरु निर्माणको काम भइरहेको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिए । घरहरु निर्माण गरेर रंग, वाइरिङ, जिप्सन लगाउनेलगायतका काम भइरहेको उनले बताए ।
बधशाला निर्माणको कामलाई अघि बढाइएपनि पर्याप्त बजेट नहुँदा थप संरचना निर्माणमा समस्या भएको बताइएको छ । ‘बधशालास्थलमा सम्पूर्ण संरचना बनाउँदै मासु बजार सञ्चालनका लागि थप संरचना निर्माण गर्न आवश्यक छ’, महाशाखा प्रमुख इन्जिनियर पौडेलले भने, ‘तर त्यसका लागि पर्याप्त बजेट नहुँदा एकै पटक संरचना निर्माण गर्न सकेका छैनौं । जति बजेट आउँछ, त्यहीबाट काम गर्दै बधशाला निर्माणको कामलाई अघि बढाएका छौं ।’ उनले चालु आर्थिक वर्षजस्तै आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट आए काम गरिने बताए ।
तर अहिलेसम्मको अवस्था अनुसार बधशालाका लागि बजेट नदेखिएको उनको भनाइ छ । आर्थिक २०७६/०७७ मा गुरुयोजना बनेर २०७७/०७८ बाट निर्माण सुरु भएको बधशाला बजेट अभावका कारण सम्पन्न हुन सकेको छैन । बधशाला अन्तर्गत अहिलेसम्म प्रशासनिक भवन, डीप बोरिङ खन्ने, पशु चेकजाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटर निर्माण गरिएका छन् । डीपीआरअनुसार टोल विकास संस्थाका लागि कार्यालय निर्माणको काम पनि पुरा हुन सकेको छैन ।
बधशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको कपासीका स्थानीय शेरबहादुर केसी बताउँछन् । भौतिक संरचना बनाउने तर त्यसको संरक्षण नहुँदा रातको समयमा तोडफोडसमेत हुँदै गएको स्थानीय केसीले बताए । ‘समयमै बधशाला निर्माण भए उद्देश्यअनुसार सञ्चालन हुने र बनेका संरचना प्रयोगमा आउँदा संरक्षण हुने थिए’, स्थानीय केसीले भने, ‘तर संरचना निर्माणमा ढिलाई हुँदा बनेका संरचना जीर्ण हुने र संरक्षणको अभावमा तोडफोड हुने अवस्था भइरहेको छ, यो राम्रो होइन ।’
गुरुयोजना अनुसार बधशाला निर्माणका लागि करिव दस करोड रुपैयाँको स्टिमेट भएपनि अहिलेसम्म चार करोड रुपैयाँ बराबरको काम भएको छ । बधशाला निर्माणका लागि बजेट अभावका कारण दुई वर्षदेखि कुनै काम हुन सकेको थिएन । महाशाखा प्रमुख पौडेलका अनुसार बधशालास्थलमा प्रशासनिक भवन, सटरलगायतका भवन निर्माण भए डीप बोरिङका लागि ओभरहेड ट्यांकी, खसी, बाख्रा, कुखुरा, राँगालगायतका पशुपक्षी राख्ने ठाउँलगायतका संरचना बनाउन बाँकी छ ।
घोराहीमा दैनिक दुई हजारदेखि २५ सय केजीसम्म मासु खपत हुने भएपनि बधशाला नहुँदा मासु बजारलाई व्यवस्थित गर्न सकिएको छैन । मासु बजार व्यवस्थित नहुँदा व्यवसायीले खुल्ला रुपमा काटमार गर्नेदेखि बिक्री वितरणसमेत खुल्ला रुपमा हुँदै आएको छ ।