‘मुलुक सम्पन्न बनाउन ठूलो बाह्य लगानी जरुरी छ’

काठमाडौं– टिबिआई पब्लिकेसन्सका अध्यक्ष तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले आर्थिक रुपबाट मुलुकलाई सम्पन्न बनाउने हो भने ठूलो स्केलमा बाह्य लगानी भित्र्याउनुको विकल्प नरहेको बताएका छन् । कारोबार राष्ट्रिय आर्थिक दैनिक पत्रिकाको प्रकाशन गृह टिबिआई पब्लिकेसन्सले शुक्रबार आयोजना गरेको ‘ब्रिजिङ फिस्कल एण्ड मनिटरी पोलिसी’ विषयक विशेष छलफल एवं अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विदेशी लगानी ल्याउन अझै धेरै कुरा गर्न बाँकी रहेको उनले बताए । अध्यक्ष भट्टका अनुसार लगानीको सुरक्षा र उचित प्रतिफलको ग्यारेन्टी नहुँदासम्म कोही कसैले पनि जोखिम मोलेर लगानी गर्दैन । विदेशी लगानीकर्तालाई विश्वासमा दिलाउन सके–नसकेकोमा प्रश्न रहेको उनको भनाइ छ । विदेशी लगानीकर्ताको लगानी सुरक्षाका लागि डीटीए, विप्पा, फिटाजस्ता विषयमा ध्यान दिन आवश्यक रहेको उनले बताए । ‘दोहोरो कर तिर्नुपर्ने अवस्था रहेसम्म र लगानीको पूर्ण ग्यारेन्टी नभएसम्म कुनै पनि लगानीकर्ताले नेपालप्रति चासो देखाउँदैनन्,’ अध्यक्ष भट्टले भने ।
अध्यक्ष भट्टले वैदेशिक व्यापार र पर्यटकीय गतिविधि बढाउन दूतावास र कन्सुलेटहरुलाई प्रयोग गर्न सक्दा मुलुकले फाइदा उठाउन सक्ने बताए । यस्तै, विदेशी लगानीकर्ताका लागि कर छुटका सुविधा दिएर धेरै मुलुकले आकर्षित गरिरहेको बताउँदै भट्टले भने, ‘हामी त्यसमा पछि परेका छौं ।’ पछिल्ला दिनमा सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउँदै आएको पनि उनले बताए । उनले अन्तर्राष्ट्रिय लगानी सम्मेलन, निजी क्षेत्रले चाहेजस्तो गरी कतिपय नयाँ कानुनको निर्माण र केही कानुनहरु परिमार्जन एंव संशोधन गरिएबाट लगानीको वातावरण बन्दै आएको धारणा राखे ।
मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले पब्लिकेसन्सले यस्ता कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष भट्टले जानकारी दिए । उनले पछिल्ला केही वर्षदेखि प्रदेश केन्द्रित रहेर ‘कारोबार आर्थिक बहस’ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिँदै गत वर्ष कोशी प्रदेशको विराटनगर र बागमती प्रदेशको हेटौंडामा यस्तो कार्यक्रम सम्पन्न गरेको बताए । अध्यक्ष भट्टले केही वर्ष यतादेखि निजी क्षेत्रले वित्तीय र मौद्रिक नीतिबीच तालमेल नहुँदा समस्या बल्झिरहेको गुनासो गरिरहेको सन्दर्भमा यो कार्यक्रमको आयोजना गरिएको बताए ।
अध्यक्ष भट्टले कोभिड महामारीका करिब तीन वर्ष र त्यसयताका वर्षहरुमा विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दीले संसारलाई नै नराम्रोसँग प्रभावित पारेको र यसबाट हाम्रो मुलुक पनि अछुतो नरहेको बताए । ‘समयको अन्तरालसँगै विश्वका धेरै मुलुकहरुमा आर्थिक मन्दीको प्रभाव क्रमश: हट्दै आएको छ,’ अध्यक्ष भट्टले भने, ‘केही मुलुकहरु कोभिड अगाडिको अवस्थामा पनि पुगिसकेका छन् । हाम्रो अर्थतन्त्रमा पनि क्रमश: सुधार हुँदै आएको छ, तर अपेक्षाकृत सुधार हुन सकेको छैन ।’
अध्यक्ष भट्टले कोभिड महामारी पछाडि एकाध वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या आए पनि त्यसलाई तत्कालिन राष्ट्र बैंक र सरकारको नेतृत्व गर्नेहरुको सुझबुझपूर्ण नीतिका कारण समस्या लम्बिन नपाएको बताए । उनका अनुसार त्यही नीतिका कारण अहिले मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थामा पुगेको छ भने २५ खर्ब बराबर विदेशी विनिमय सञ्चिति पुगेको छ । शोधनान्तर स्थिति र चालु खाता बचतमा छन् । रेमिटेन्स आयको वृद्धिदर पनि उच्च छ । पछिल्ला दिनमा आयात र निर्यात दुवै बढेका छन् । यो वर्ष वस्तु निर्यात इतिहासमै सबैभन्दा धेरै भएको छ ।
अध्यक्ष भट्टले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै आए पनि त्यसअनुसार आन्तरिक रुपमा अर्थतन्त्र बलियो हुन सकेको बताए । उनका अनुसार उत्पादनदेखि उपभोगसम्मको चक्रमा अझै समस्या छ । यसले बजारमा माग सिर्जना हुन नसक्दा औद्योगिक उत्पादन कुल क्षमताको आधा हुन सकेको छैन । अध्यक्ष भट्टले सरकार आफैंले पनि लक्ष्य गरेअनुसार खर्च बढाउन नसकेको र यसको प्रभाव निजी क्षेत्रको लगानीमा परेको बताए । ‘बैंकिङ क्षेत्रमा खर्बौं रुपैयाँबराबर लगानी योग्य पुँजी थुप्रिएको छ,’ उनले भने, ‘पछिल्ला दिनमा ब्याजदर न्यून हुँदा पनि निजी क्षेत्रले कर्जा लिन चासो देखाएको छैन । निजी क्षेत्रको आत्मबल गुमेको अवस्था छ ।’