वित्त र मौद्रिक नीतिमा संगति पाउनु हुनेछ: अर्थमन्त्री

काठमाडौं– सरकारले घोषणा गरिसकेको वित्त नीति र आउन लागेको मौद्रिक नीतिबीच संगति कायम गरेर अगाडि बढ्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । कारोबार राष्ट्रिय आर्थिक दैनिकले शुक्रबार आयोजना गरेको ‘ब्रिजिङ फिस्कल एण्ड मनिटरी पोलिसी’ विषयक विशेष छलफलमा उनले दुई नीतिबीचमा जीवन्त, घनिष्ठ र हार्दिक सम्बन्ध हुनुपर्ने उल्लेख गरे ।
‘एउटा एकातिर अर्को अर्कोतिर फक्र्यो भने बिग्रिन्छ,’ उनले भने । अर्थमन्त्री र गभर्नर दुईतिर फर्किंदा के हुन्छ भन्ने विगतको अनुभवबाट सिक्नुपर्ने उनले उल्लेख गरे । ‘अहिले अर्थमन्त्री र गभर्नर एकैतिर फर्केका छौं । हाम्रो साझा चिन्ता छ । के गर्नुपर्छ, के गर्नुपर्ने हो भन्नेमा हामी स्पष्ट छौं,’ उनले भने । निजी क्षेत्र आत्मविश्वासको साथ अघि बढ्न वित्त नीतिले भनिसकेको र मौद्रिक नीतिले पनि भन्ने उनले बताए । यी दुवै नीतिको बीचमा सन्तुलन कायम गरेर हामी अगाडि बढ्ने गरी बजेट आएको छ ।
मौद्रिक नीति अवश्य पनि वित्त नीतिसँग संगति राख्ने हिसाबले नै आउँछ,’ उनले भने । यद्यपि, राष्ट्र बैंक स्वायत्त संस्था भएकोले उसको स्वायत्ततामा हस्तक्षेप गर्नुहुन्न भन्ने कुरामा आफू दृढ रहेको उनले बताए । निजी क्षेत्रले संस्थागत स्मृति (इन्स्टिच्युस्नल मेमोरी) लाई महत्त्व दिनुपर्ने र कुनै विषय कार्यान्वयनमा जानुपूर्व आवश्यक तयारी भएको छ–छैन भन्नेमा जानकार हुनुपर्नेमा अर्थमन्त्रीले जोड दिए । निजी क्षेत्रले बहुदर भ्याटमा जान पाउनुपर्ने माग गरेको सन्दर्भमा उनले त्यसको पूर्वकार्य पूरा गरेपछि मात्र सम्भव हुने बताए ।
‘निजी क्षेत्रले अधिकांश क्षेत्रमा छुट माग गर्ने गरेका छन् । सबैमा छुट दिने हो भने सरकारले राजस्व कहाँबाट ल्याउने ?’ अर्थमन्त्रीको प्रश्न छ । बजेट ल्याएपछि पहिलो पटक निजी क्षेत्रले नै कर्तल ध्वनिका साथ ताली बजाएर स्वागत गरेको र आफूले उठाएका विषय समावेश भएको भनेर स्वागत गरेको उनले स्मरण गरे । ‘तर बजेट ल्याएको एक महिनापछि नै बजेटमा यो पनि भएन, त्यो पनि भएन भन्नु गलत हो । अहिलेको बजेट निजी क्षेत्रमैत्री छैन भने कस्तो बजेट निजी क्षेत्रमैत्री हुन्छ ? म छलफल गर्न तयार छु,’ अर्थमन्त्री पौडेलले भने ।
बजेटले उत्पादन, उत्पादकत्व वृद्धि र त्यसका निम्ति वैदेशिक लगानीको वातावरण बनाउन धेरै विषय तयार गरेको उनले बताए । निजी क्षेत्रका सुझाव, रामेश्वर खनाल नेतृत्वको आयोगका सुझाव लगायतको सहायतामा बजेट तयार भएको उनले उल्लेख गरे । उद्योगीले राष्ट्रलाई योगदान गरेपछि सरकारले पनि उद्योगीलाई सहयोग गर्ने र कहीँकतै कमजोरी भयो भने नियमन, नियन्त्रण गर्ने सरकारको दृष्टिकोण रहेको उनले स्पष्ट पारे ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मनोबल नउठाई लगानीको वातावरण नबन्ने पनि बताए । त्यसैकारण बजेटमार्फत सरकारको ध्यान ‘एग्रिगेट डिमान्ड’ बढाउन, उत्पादन वृद्धि गर्न, रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन गर्न रहेको उनले उल्लेख गरे । पुँजीगत खर्च नभएको र त्यसको लागि सार्वजनिक खरिद नियम १४ औं पटक संशोधन गरिएको भए पनि समस्याको समाधान नभएसम्म प्रयत्न गरिरहेको रुपमा बुझ्नुपर्ने उनले बताए ।
सरकारले पुँजीगत खर्च नगर्न नसकेको मात्र नभई सिर्जित दायित्व भुक्तानी गर्न नसकेको भनेर आलोचना भएकोमा विस्तारै भुक्तानी गर्दै अघि बढिरहेको उनले जानकारी गराए । वैधानिक रुपमा सिर्जित दायित्वबाट सरकारल पछि हट्न नसक्ने उनले उल्लेख गरे । पूर्वाधार आयोजना निर्माणको कामले गति लिँदै गइरहेको अर्थमन्त्रीले बताए । मुग्लिन– पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाका समस्याको भित्र पसेर समाधान गर्दा आयोजना अघि बढेको उदाहरण उनले दिए ।
‘पूर्वाधार परियोजना समयमा सम्पन्न नहुने, धेरै समय लाग्ने र गुणस्तर हुँदैन कि भन्ने चिन्ता रहने गरेको छ । नियम परिवर्तन गर्दा यस्ता विषयमा केन्द्रित हुनुपर्छ,’ उनले भने । देशमा एकातिर केही भएन भनेर मानक स्थापना गर्ने कोसिस भइरहेको र अर्कोतर्फ केही भएको छ, केही गर्नुपर्छ र त्यसको लागि कठिनाइ भए पनि गर्दै जानुपर्छ भन्ने धार रहेको उनले बताए । ‘नकारात्मकता स्थापित गरेर जाने कि देश बन्छ, बनाउन सकिन्छ भन्नेतर्फ जाने भन्ने छनौट छ । मिडियाले देश खत्तम भयो भन्ने भाष्य नभएर देश बन्छ र बनाउनुपर्छ भन्नेलाई साथ दिनुपर्छ,’ उनले भने ।
सबै विषयको सीमितता हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पार्टीदेखि सरकार र उद्योग कलकारखानादेखि मिडियासम्म आफ्नो सीमा र कमीको बाबजुद अघि बढ्ने कोसिस गरिरहेको बताए । ‘सरकार कमजोरीसहित भएपछि समाधान केन्द्रित भइरहेको छ र देश बनाउने कोसिसमा छ । कमजोरीलाई सुधार्दै लैजान्छौं,’ उनले भने । राजनीतिज्ञले तथ्यांकलाई तोडमोड गरेर आफू अनुकूल प्रस्तुत गर्छ भनेर आरोप लागे पनि स्वतन्त्र व्यक्ति र देशका आधिकारिक निकायहरुलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिए । तथ्यांक प्रष्ट भएपछि त्यसलाई नै विश्लेषणको आधार बनाउनुपर्ने उनले बताए । स्वतन्त्र तवरबाट काम गर्ने मानिसलाई सबैले विश्वास गर्नुपर्ने र उनीहरुले दिने तथ्यांकलाई विश्वास गर्नुपर्नेमा उनले जोड दिए ।
‘प्रगति गर्नुपर्ने र सकिने धेरै ठाउँ रहेका छन् । कतिपय स्वतन्त्र मानिसले पनि विकास तुलनात्मक रुपमा राम्रो भए पनि राजनीति भने बिग्रिएको बताउने गरेका छन् । यो सत्य होइन । राजनीति बिग्रिएर अन्य विषय बनेको भनेर निष्कर्ष निकाल्न सकिँदैन । राजनीति सुधार हुँदै जहानिया शासनबाट अहिले नागरिक छनौटमार्फत शासन हुने व्यवस्थामा आइपुगेको छ । स्थायित्व खोज्ने सिलसिलामा नै अहिलेको यो सरकार आएको हो,’ पौडेलले भने, ‘मिडियाले पार्टीहरुका, सरकारका, मन्त्रीका कामकारबाहीको समीक्षा गरोस्, परीक्षण होस्, मूल्यांकन होस्, कमजोरी भयो भने आलोचना गरियोस् । तर, राजनीति गलत भनेर भाष्य नबनाइयोस् ।’