Logo

कर्णाली राजमार्ग

जुम्ला–नाग्म सडक दुई लेनसँगै कालोपत्रे

जुम्ला– कर्णाली राजमार्ग अन्तर्गत जुम्ला खण्ड कालोपत्रे भएको छ । जुम्ला–सुर्खेत २३२ किमी रहेकोमा जुम्ला–नाग्म सडक खण्डको २६ किलोमिटर सडक दुई लेन निर्माणसँगै कालोपत्रे गरिएको हो ।

विगतमा साँघुरो सडक हुँदा जोखिम रहेको ठाउँमा अहिले दुई लेन सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ । तिला गाउँपालिकाको त्रिवेणी, कुडारी, लुम्सेरा तथा तातोपानी गाउँपालिकाको राँका, लिताकोट र तातोपानी क्षेत्रमा दुई लेनको चौडा सडक निर्माण भएको छ । दुई वर्षअघि सडकको डबल कटिङ गर्दा डोजरको बकेटभित्र बसेर विरोध गर्ने स्थानीय अहिले कालोपत्रे सडक देखेपछि खुसी भएका छन् ।

तातोपानी गाउँपालिका–३ का पूर्व वडाध्यक्ष डिल्ली रावलले विभिन्न चुनौतीका बीच दुई लेन निर्माण गरेका थिए । त्यतिबेला सडक कालोपत्रे हुँदैन, हाम्रो घरजग्गा त्यतिकै खनियो, हिलाम्य बनाइयो भन्दै विरोधमा उत्रिएका स्थानीय अहिले घरआँगन अगाडि नै दुई लेन कालोपत्रे सडक देखेपछि मख्ख परेका छन् । तातोपानी गाउँपालिका–२ का स्थानीय रनबहादुर बुढा भन्छन्, ‘डबल कटिङ गर्दा साह्रै विवाद थियो । स्थानीयले डोजर चलाउनै दिँदैनथे । तर, आज सडक निकै राम्रो बन्यो । विगतमा साँघुरो सडक अहिले निकै चौडा भएको छ । अब धुलो र हिलोको समस्या अन्त्य भयो । धेरै खुसी छौं ।’

कर्णाली राजमार्गको कालिकोट खण्डमा जोखिमपूर्ण भूगोल भएका कारण सडक जीर्ण बन्दै गएको छ । जुम्ला खण्डमा भने सजिलो भूगोल भएका कारण सडक व्यवस्थित रुपमा निर्माण भएको छ । कुल २३२ किमीको कर्णाली राजमार्ग अन्तर्गत सडक डिभिजन जुम्लाले दैखोलादेखि जुम्लातर्फ १०४ किमी सडकको स्तरोन्नति तथा सुधारको काम गर्ने क्षेत्राधिकार रहेको छ ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट खण्डमा करिब ४३ किलोमिटर सडक कालोपत्रे गरेको बताए । उनले भने, ‘करिब ३४ करोड लगानीमा ४३ किमी सडक कालोपत्रे भएको छ । कालिकोट खण्डमा १७ किमी र जुम्ला खण्डमा २६ किमी कालोपत्रे भएको छ । जुम्लाको तातोपानी खण्डमा दुई वर्षअघिको ठेक्काबाट दुई लेन सडक बनेकाले कालोपत्रेपछि निकै चौडा भएको छ । जुम्ला खण्डमा यात्रा निकै सहज बनेको छ ।’ प्रमुख चौधरीका अनुसार सडक रेखांकनको काम आगामी आर्थिक वर्षमा गरिनेछ । यस वर्षको ठेक्कामा जेब्रा क्रस, लाइनिङ लगायतको स्टमेट नभएकोले अर्को वर्ष हुनेछ । दुई लेन निर्माण भएको रारालिहही, तातोपानी क्षेत्रमा लाइनिङ हालिनेछ । सीमित स्रोतसाधनका बीच राजमार्ग स्तरोन्नति लगायतका काम भइरहेको उनको भनाइ छ ।

३४ करोड लगानीमा ४३ किमी कालोपत्रे
सडक डिभिजन जुम्लाले साढे ३४ करोड लगानीमा कर्णाली राजमार्गको विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालिकोट र जुम्ला खण्डको विभिन्न प्याकेजमा गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

कालिकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भएको हो । चालु आवभित्रै ४३ किमी पिच हुने गरी साढे ३३ करोडको ठेक्का सम्झौता भएको थियो । कालिकोटको खुलालुदेखि घोडेनासम्म दुई प्याकेजमा कालोपत्रेको काम भएको हो । डिएलएलसी केवी जेभी कालिकोटले पहिलो प्याकेज चार करोड १८ लाख र दोस्रो प्याकेज ६ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले १ करोड २८ लाखमा ठेक्का पाएका थिए ।

कालिकोट खण्डकै घोडेनादेखि नाग्मसम्म तीन प्याकेजमा काम भइरहेको छ । जसमा १६ किमी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले ठेक्का पाएको थियो । उक्त कम्पन्नीले ४ करोड ४० लाखमा कालोपत्रे गरेको छ । दोस्रो प्याकेजमा ४ करोड २१ लाख लागतमा कालोपत्रे हुँदैछ । त्यसैगरी भैरव मष्ट निर्माण सेवाले १ करोड १२ लाख लागतमा तेस्रो प्याकेजको कालोपत्रे गरिरहेको छ ।

कालिकोट खण्डमा खुलालुदेखि नाग्मसम्मका पाँच वटा ठेक्कामार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । यता नाग्मदेखि जुम्लासम्मको ३२ किमीमध्ये २६ किलोमिटर कालोपत्रे गरिनेछ । केही स्थानमा डबल लेन निर्माणमा भएको ठाउँमा पिच गरिनेछ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्वल सानदार जेभी निर्माण कम्पनीसँग १० करोड ३७ लाखमा सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्