Logo

नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्नेबारे छलफल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो ।

भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् । प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए ।

भेटपछि कुराकानी गर्दै मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताए । सो क्रममा अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले बताएको छ ।

सचिवालयकाअनुसार लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरे । मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को टोलीले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्