Logo

पहिलो पटक आफ्नै लगानीमा हवाई इन्धन भण्डारण गृह निर्माण

पोखरा– नेपाल आयल निगमले आफ्नै लगानीमा पहिलो पटक हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ । ७५ करोड रुपैयाँको लगानीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारण गृह निर्माण गरेको हो ।

पहिलो पटक निगमले भ्याट बाहेक ७५ करोड रुपैयाँ लगानीमा तीन हजार ६ सय किलो लिटर क्षमताको तीन वटा ट्यांकसहित भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको नेपाल आयल निगम सिनामंगल हवाई इन्धन डिपोका प्रमुख तथा पोखरा एयरपोर्ट हवाई इन्धन डिपो परियोजना प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

यसअघि एसियाली विकास बैंक (एडीपी) र इन्डियन आयल कर्पोरेसनको सहयोगमा निगमले इन्धन भण्डारण गृह निर्माण गरेको थियो । निगमको इतिहासमा पहिलो पटक आफ्नै लगानीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भण्डारण गृह निर्माण गर्न सफल भएको परियोजना प्रमुख यादवले जानकारी दिए । निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा हवाई इन्धन डिपो तयार गरेको उनले बताए ।

उनका अनुसार यसको विस्तृत परियोजना रिपोर्ट पुलचोक इन्जिनियरिङ संस्थानले बनाएको थियो भने ठेकेदार पनि नेपालकै थियो । सबै ट्याकंकीको उचाइ १२ मिटर र व्यास १२ मिटर छ । यसको अतिरिक्त, हाइड्रान्ट रिफ्युलिङ प्रणालीसहितको १२ इन्च व्यासको पाइपलाइनसमेत जडान गरिएको छ । विद्यमान उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्डअनुसारको नियन्त्रण कक्ष, अफिस, फायर फाइटिङ सिष्टम विमानस्थलमा रहेको छ ।

योसँगै आन्तरिक तथा बाह्य उडान वृद्धि भइरहेका बेला आवश्यक इन्धन आपूर्ति तथा भण्डारणको पूर्वतयारी स्वरूप निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रको ३२ हजार ९१५ वर्ग मिटर क्षेत्रफलमा यो हवाई इन्धन डिपो निर्माण भएको हो । यो डिपोमा हालसम्मकै अत्याधुनिक प्रविधि जडान गरिएको छ भने आगलागी हुँदा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधिसमेत जडान गरिएको छ ।

डिपो विमानस्थलको जग्गा भाडा लिएर निर्माण गरिएको हो । इन्धन डिपो निर्माण प्रक्रिया २०७५ सालबाट प्रारम्भ भए पनि विविध प्रशासनिक कारणले गर्दा ढिलो गरी २०७९ सालको असोज २२ गते औपचारिक शिलान्यास गरिएको थियो । परियोजना निर्धारित समयभित्रै सम्पन्न भएको हो । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले २०८० साउन ९ गते यसको शिलान्यास गरेका थिए ।

पुल्चोक इन्जिनियरिङ संस्थानका सहायक डिन डा सुरज लामिछानेले वैदेशिक परामर्शदाता, लगानी, विज्ञविना शतप्रतिशत नेपाली विज्ञ र लगानीबाट निर्माण भएको जानकारी दिए । निगमका अनुसार साउन पहिलो सातादेखि छिट्टै परीक्षण तथा अन्तिम प्राविधिक प्रमाणीकरणको काम सम्पन्न गरी नयाँ इन्धन डिपो सञ्चालनमा आउनेछ । जसले विमानस्थलको उडान सेवामा थप गुणस्तर र क्षमता प्रदान गरिने भएको छ ।

डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलो लिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचनलाई आवद्ध गरिएको छ । सोहीकारण डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत मिलेको बताइएको छ । हवाई इन्धन जस्तो प्रज्वलनशील पदार्थको नियमित रूपमा कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरालाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ ।

यसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने विश्वव्यापी अभ्यास छ । यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्स पावर क्षमताको दुई वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइप जडित छ । भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युल भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्नका लागि आवश्यक मात्रामा प्रोडक्ट पम्पहरू तथा लोडिंग/अनलोडिंगमा क्रमश: १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ ।

यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरू अमेरिकन पेट्रोलियम इन्स्टिच्यूड (एपीआई) मापदण्डमा आधारित रहेको निगमले जनाएको छ । नयाँ भण्डारण गृहले तीन महिनाको माग पूरा गर्ने निगमले जनाएको छ । हाल पुरानो विमानस्थलमा रहेको डिपोबाट दैनिक २ वटा ट्यांकरले इन्धन आपूर्ति गर्दै आएका छन् । हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २० देखि २५ किलो लिटर हवाई खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्