मन्ता भीर, भेरी पुलकै कारण मध्यपहाडी लोकमार्ग जाजरकोटमा अलपत्र

वीरेन्द्रनगर– मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोटमा पर्ने ८५ किलोमिटर भित्र विवाद रुपमा यातायातका साधन चल्ने अवस्था छैन । जाजरकोटको छेडागाड नगरपालिका भित्र पर्ने मन्ता भीर र भेरी नगरपालिका–१३ दारेगौरास्थित भेरी नदीको पुल अलपत्र परेपनि काम अगाडी बढ्न सकेको छैन । यो सडक र पुल निर्माण नहुँदा जाजरकोटदेखि रुकुम पश्चिम जोडिन सकेको छैन ।
यातायातका साधन वारपार गर्न ६० किलोमिटर यात्रा गरेर रिम्ना हुँदै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका जानुपर्ने बाध्यता छ । जाजरकोट खण्डबाट दैलेख जानका लागि मन्ता भीरको अवरोधका कारण भेरी करिडोरको यात्रा गरेर शिवालय गाउँपालिका –१ हुँदै छेडागाड नगरपालिकाको थलह बजार पुग्नुपर्ने बाध्यता छ । यसै विषयमा बुधबारको संसदीय समितिको बैठकमा सांसदहरूले सरकारसँग जवाफ मागेका छन् ।
पूर्वाधार विकास समिति बैठकमा सांसदहरूले ‘काम शून्य, कुरा मात्रै भएको’ भन्दै आक्रोश पोख्दै सरकार गम्भिर नभएको आरोप लगाए । प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरीको पुल दशकौँदेखि नबनेकोबारे सरकारसमक्ष पटक–पटक प्रतिनिधिसभामा कुरा राख्दै आएका थिए ।
उनले समस्याको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्री र सचिवसहितको उच्चस्तरीय पहल आवश्यक रहेको र आवश्यक परे संसदीय समिति नै स्थलगत अनुगमनमा जानुपर्ने अवस्था आएको बताए । उसो त प्रधानमन्त्री केपी शर्मा ओली मध्यपहाडी लोकमार्गको जागरण अभियानमा जाँदासमेत मन्ता भीर छलेर यात्रा गरेका थिए ।
उनले मध्यपहाडी भन्दै आधाबाटो मध्यपहाडी हुँदै भेरी करिडोर यात्रा गरेर मध्यपहाडीको यात्रा गरेको भनिएको थियो । त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत मन्ता भीर छलेर मध्यपहाडीको यात्रा गरेका थिए । मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड निर्माणका लागि २०७६ माघ २८ गते शर्मा सिंह एण्ड ब्रोदर्स जेभीसँग २०७९ साउन २७ गते निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
यो सडक खण्ड कुल ८५ किलोमिटर छ । यो भेरी नगरपालिकाको कुदुबाट छेडागाड नगरपालिकाको सुयाडामा टुंगिन्छ । कुल सडकमध्ये ५५ किलोमिटरको कालोपत्र भइसकेको छ । बाँकी ३० किलोमिटर सडक चार वटा खण्डमा ठेक्का लगाएर काम भएको छ । यो चारवटै ठेक्का शर्मा सिंह एण्ड ब्रोदर्स जेभीलले संयुक्त रूपमा लिएको छ । त्यसमध्ये कुदुदेखि थलहमा सम्मको भागमा शर्मा सिंह एण्ड ब्रोदर्स जेभीले ठेक्का लिएको हो ।
पुरानो डिजाइनअनुसारको काम भएकाले समस्या देखिएको छ । ग्रेड हाई हुँदा गाडी जान सक्ने अवस्था नभएपछि त्यसको अहिले ‘एलाइनमेन्ट’ सहित चेन्ज गरेर अर्को ठाउँबाट लगिएको मध्यपहाडी राजमार्ग आयोजना निर्देशक रविन्द्रलाल दास बताउँछन् । यी ठाउँमा काम गर्न प्राविधिक कुरा मिलाइरहेको दासको भनाइ छ । मन्ता भीर आसपासको क्षेत्रको काम पुरै बाँकी रहेको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी भेरी नदीमा पुल (स्ट्रील ट्रस्ट ब्रिज निर्माणका लागि २०६९ असार २९ गते वाईपी कन्सट्रक्सनसँग सम्झौता गरेको थियो । २०७२ असार २८ गते निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेको यो पुल भ्याटबाहेक १३ करोड १३ लाख ५२ हजार ११४.५० रुपैयाँ लागतमा निर्माण गर्नुपर्ने सम्झौता थियो । पछि लागत संशोधन गरेर १३ करोड १३ लाख ४८ हजार ७४७ पुर्याएको छ । यो पुल निर्माणले गति लिन नसक्दा ५ पटक म्याद थप गरिएको थियो ।
त्यसपछि २०८० असार ३१ गते सरकारले ठेक्का तोडेको थियो । त्यसपछि २ पटक आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेको आयोजनाले जनाएको छ । यसैगरी, सडक विभागका महानिर्देशक विजय जैसीले पनि मन्ता भीरमा ब्लास्टिङ गर्नुपर्ने प्राविधिक चुनौती रहेको स्वीकार्दै एक महिनाभित्रै सचिवसहितको टोलीले स्थलगत भ्रमण गरी समाधान निकाल्ने प्रतिबद्धता जनाए । राजमार्गअन्तर्गतकै भेरी नदी पुल निर्माणमा पनि ढिलाइ भएको छ ।
भेरी पुल र मन्ता भीरकै कारण यहाँका नागरिकले दैनिक समस्या भोग्दै आएका छन् । जाजरकोटको सडक निर्माण गर्नका लागि कार्यालय दैलेखमा रहेको छ । दैलेखबाट जाजरकोटको काम हेर्दा प्रभावकारी नभएको स्थानीय बताउँछन् । यही सडक छिटो निर्माण गर्नका लागि यहाँका नागरिकले धेरै पटक ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । निर्माण भएको सडकसमेत ठाउँ–ठाउँमा भत्किएको छ ।