आज ‘ब्रिजिङ फिस्कल एण्ड मनिटरी पोलिसी’ कार्यक्रम

काठमाडौं– कारोबार राष्ट्रिय आर्थिक दैनिक पत्रिकाको प्रकाशन गृह टिबिआई पब्लिकेसन्सले आज (शुक्रबार) ‘ब्रिजिङ फिस्कल एण्ड मनिटरी पोलिसी’ विषयक विशेष छलफल एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख अतिथिका रुपमा र निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले विशेष अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।
लामो समयदेखि सुस्त बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन वित्तीय र मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने आवाज निजी क्षेत्र र अर्थशास्त्रीहरुको रहँदै आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाले पास गरेको बजेट राष्ट्रिय सभामा पुगेको छ । यस्तै, नेपाल राष्ट्र बैंक पनि आगामी मौद्रिक नीति बनाउन जुटेको छ । सम्भवत: साउन पहिलो साता मौद्रिक नीति आउँदैछ । बजेट आएको र मौद्रिक नीति आउँदै गरेको पृष्ठभूमिमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बजेटमा भएका नीतिगत व्यवस्थाबारे चिरफार गरिनेछ । यस्तै, बजेटसँग तालमेल गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमा केकस्ता नीतिगत व्यवस्था गर्नु आवश्यक छ भनेर छलफल हुनेछ । ‘वित्तीय र मौद्रिक नीतिको सहकार्य बलियो अर्थतन्त्रको आधार’ स्लोगनमा हुन लागेको यो कार्यक्रममा दुई शीर्षकमा छलफल हुनेछन् । यसमध्ये ‘फिस्कल पोलिसी: च्यालेन्ज र रिफर्म’ शीर्षकमा हुने पहिलो सत्रको छलफलमा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र सूर्य नेपाल प्रालिका एमडी तथा निक्कीका उपाध्यक्ष रविकुमार रायवरम सहभागी हुनेछन् ।
यो सत्रको छलफल कार्यक्रमको सहजिकरणको भूमिका वरिष्ठ आर्थिक पत्रकार तथा नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पुष्पराज आचार्यले निर्वाह गर्नेछन् । यस्तै, दोस्रो सत्रको विषय ‘मौद्रिक नीति: टुल्स एण्ड ट्रान्जिसनिङ इन इमर्जिङ इकोनोमी’ रहेको छ । यो सत्रको छलफलमा अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रमेश कर्प प्रालिका उपाध्यक्ष रोहित गुप्ता र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली सहभागी हुनेछन् । यो सत्रलाई वरिष्ठ बैंकर तथा लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सहजिकरण गर्नेछन् ।
मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुर्याउने मुख्य उद्देश्यले स्थापना भएको टिबिआई पब्लिकेसन्सले विगतमा पनि यस्ता कार्यक्रमहरु गर्दै आएको छ । केही वर्षयता ‘कारोबार आर्थिक बहस’ कार्यक्रम काठमाडौं उपत्यका बाहिर विशेषगरी विभिन्न प्रदेशहरुमा आयोजना गरिँदै आएको छ । गत वर्ष यस्ता कार्यक्रम कोशी प्रदेशको विराटनगर र बागमती प्रदेशको हेटौंडामा आयोजना गरिएको थियो । आगामी दिनमा गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा ‘कारोबार आर्थिक बहस’ कार्यक्रम आयोजना गर्ने तयारीमा पब्लिकेसन्स जुटेको छ ।