Logo

कमला–कञ्चनपुर सडक

म्याद सकिएको दुई वर्षमा बल्ल ६२ प्रतिशत काम

काठमाडौं– पूर्व–पश्चिम राजमार्गको कमला–कञ्चनपुर सडक विस्तार २०८० कात्तिकमा सकिनुपर्नेमा अहिलेसम्म ६२.४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

कुल ८६.८३ किलोमिटर सडक विस्तार तीन वर्षमा सक्नका लागि २०७७ असार ११ मा सम्झौता भएको थियो । पटक–पटक म्याद थप हुँदा पनि आयोजनाको अपेक्षित प्रगति हुन सकेको छैन । कुल ८६.८३ किमीमध्ये १६.४९ किमी ६ लेन (५० मिटर चौडाइ), ४ लेन दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन र ७०.३३ किमी ४ लेन (२४ मिटर चौडाइ), ५४ वटा पुल, २१८ कल्भर्ट, दुईवटा ओभरपास र ६ वटा अन्डरपास निर्माण गर्नु पर्नेछ । तर, हालसम्म ४७.१७ किमी ४ लेन, ९४.३४ किमी दुई लेन बाइन्डिङ कोर्स (कालोपत्रे) र एउटा पुलमात्र सञ्चालनमा आएको छ । कुल २५ वटाको सुपर स्ट्रक्चर निर्माण सम्पन्न भएको छ भने २१४ वटा कल्भर्ट, ३१.९८ किमी ड्रेन गरी समग्रमा ६२.४० प्रतिशत काम सम्पन्न भएको छ ।

निर्माण व्यवसायीलाई केकति कारणले निर्माण कार्य ढिलो भएको र कसरी समयमै सम्पन्न गर्ने योजना छ भनेर जवाफदेही बन्न र प्रतिबद्धता पेश गर्न पत्राचार गरिएको सडक विभाग अन्तर्गतको एडीबी आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले बताए । उनले भने, ‘निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार, बैठक, पटक–पटक ठेक्का तोड्नेसम्मको चेतावनी दिइएको छ ।’

चाइना रेल्वे इन्जिनियरिङ कम्पनीले अहिले कञ्चनपुर–कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्ड निर्माणको काम गरिरहेको छ । निर्माण व्यवसायीले ढिलो गरी साइटमा मोबिलाइज भएको र अन्तर–निकायगत समन्वयको कारणले ढिलाइ भएको भनेको छ । आयोजनाले भने नदीजन्य निर्माण सामग्रीको सहज उपलब्धतामा कमी, निर्माण व्यवसायीको ठेक्का व्यवस्थापनमा ढिलासुस्ती तथा कमजोरी भएको जनाएको छ । हाल निर्माणस्थलमा काम सुचारु भएको आयोजना निर्देशक ढकालले बताए । निर्माण व्यवसायीबाट पर्याप्त नगद प्रवाह नहुनुले कार्य प्रगतिमा असर परेको उनको भनाइ छ ।

हाल निर्माण व्यवसायी र सम्बन्धित स्थानीय तहबीच सम्झौता भए पनि अधिकतम ३०० घनमिटर प्रतिदिन भन्दा बढी निर्माण सामग्री उत्खन्नमा रोकका कारण पर्याप्त निर्माण सामग्रीको अभाव भएको आयोजनाले जनाएको छ । पटक–पटक पत्राचार, ताकेता र बैठक गरी विद्युत पोल तथा उपकरण र खानेपानीको स्थानान्तरणका लागि निर्माण व्यवसायीबाट समयमै आवश्यक रकम दाखिला भए पनि स्थानान्तरणमा ढिलाइ भएको छ । लहान बजारमा रहेको शहिदको सालिक स्थानान्तरणमा विवाद र ढिलाइका कारण ओभरपास निर्माणमा रोक लागेको छ । स्वीकृत डिजाइन तथा ड्रइङभन्दा स्थानीयबाट फरक माग गरी निर्माणमा अवरोध भएको हो । बजार क्षेत्रमा हाल बस्ती तीव्र गतिमा बढेकोले विगतमा रहेको कल्भर्टहरुको निकासमा विवाद तथा रोक लागेको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विभाग मातहतको आयोजना निर्देशनालयबाट निर्माणको काम भइरहेको छ । यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड रुपैयाँ राखिएको छ । पूर्वी खण्ड ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्नु पर्नेछ । यसमा ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिनेछ । ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति हुनेछ । साथै २९ वटा पुल र २ वटा अन्डरपास निर्माण हुनेछन् ।

यो खण्डको सडकको लागत ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ । लहान र मिर्चैयामा चार लेन सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुईवटा ओभरपास निर्माण हुनेछ । पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार हुनेछ । १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार हुनेछ । यो खण्डको लागत ८ अर्ब ३८ करोड रुपैयाँ छ । आठ वटा अन्डरपास निर्माण हुनेछन् । यो खण्डमा २५ वटा पुल निर्माण गर्नुपर्छ । आयोजनाको पछिल्लो समय थप गरिएको म्याद आगामी पुस २६ मा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्