युद्ध विरोधको वैश्विक प्रतिबद्धता नटुटोस्

विश्व मानव समुदायले हाम्रो आकर्षक पृथ्वीलाई सदैव सुन्दर, शान्तिपूर्ण र पारस्परिक सहयोग तथा समन्वयका आधारमा मानवताको कल्याणका लागि युद्धलाई निःशेष गर्दै पृथ्वीमा मानव जातिको रामराज्य (युटोपिया) कायम राख्ने पुनीत प्रयासलाई चरितार्थ गर्न हेतु प्रथम विश्वयुद्ध (१९१४–१९१८) को अन्त्यपछि अर्थात् सन् १९१९ मा बहुपक्षीयता (मल्टिलेटरिलिज्म) का आधारमा राष्ट्रसंघ (एलओएन) को स्थापना गरेको थियो ।
पहिलो विश्वयुद्ध युरोपेली संसारको राजनीतिक, आर्थिक, सैन्य र सामाजिक सन्तुलनसँग जोडिएका मानिन्छन् । जर्मनी, इटली, सर्बिया पश्चिमा तथा अस्ट्रिया–हंगेरी आदि पश्चिमा मुलुकको अतिराष्ट्रवाद र विश्वसमक्ष आफ्नो शक्ति प्रदर्शन गर्ने बढ्दो लालसाले ती मुलुकहरूमा सैन्यवाद र शस्त्र–अस्त्रको प्रदर्शनी गर्ने होडबाजी पनि सँगसँगै तीव्र बन्दै गइरहेको र प्रायशः बेलायतको चुस्त नौसेनासँग लड्ने चाहना रहेको पनि देखिन्छ । समग्रमा भन्ने हो भने युरोप दुई प्रमुख सैन्य गठबन्धनमा विभाजित थियो । जर्मनी, अस्ट्रिया–हंगेरी, इटली तथा बेलायत, फ्रान्स र रसियामाझ त्यस बखत युरोपमा औपनिवेशिक प्रतिस्पर्धा पनि थियो । युरोपेली राष्ट्रहरूले अफ्रिका, रसिया आदि क्षेत्रमा आफ्नो प्रभुत्वको विस्तार गर्न चाहन्थे । जसले गर्दा युरोपेली राष्ट्रहरूबीच गहिरो तनाव र एकआपसमा शंका पनि बढ्दै गएको थियो । सन् १९१४ को जुनतिर अस्ट्रिया–हंगेरीका राजकुमार र उनकी पत्नीको हत्या भयो र बदलास्वरूप अस्ट्रिया–हंगेरीले सर्बियामाथि युद्ध घोषणा गर्यो । यही युद्ध क्रमशः ठूलो युद्धमा परिणत भयो, जसलाई पहिलो विश्वयुद्ध भनिन्छ ।
सन् १९१९ मा सहमति भएको भर्सायलिस सन्धिको उल्लंघन भएको भन्दै जर्मनीलाई प्रथम विश्वयुद्धपछि दोषी ठराएर उसलाई युद्धको क्षतिपूर्ति तिर्न बाध्य बनाइयो र उसको सेनाको आकार पनि संकुचित पार्न लगाइयो । उसको औद्योगिक र सामरिक शक्तिलाई पनि कमजोर बनाइयो । सन् १९२९ को आर्थिक मन्दी, महँगी, मन्द व्यापार आदिले गर्दा जर्मनीमा नाजी र फाँसीवादलाई लोकप्रिय बन्न मद्दत पुर्यायो ।
हिटलर नाजीवादको उदय भयो, यिनीहरू आर्य जातिको श्रेष्ठतालाई मान्दथे । यहुदीहरूको घोर विरोध गर्थे र कालान्तरमा जर्मनी साम्राज्यवाद विस्तार गर्नेतर्फ जुटे । तत्कालीन सहमति र सन्धिहरूको उल्लंघन गर्दै अन्य युरोपेली मुलुकहरूको तुलनामा जर्मनी एक शक्तिशाली राष्ट्र बन्दै गयो । इटलीमा बेलिटो मुसोलिनीले आफ्नो प्रभुत्व बढाउँदै सम्पूर्ण सत्ता स्वयंमा केन्द्रित हुने गरी अधिनायकवादी कट्टरे तानासाही शासन व्यवस्था लागू गर्यो । यता एसियामा जापानले आफ्नो साम्राज्य विस्तारको नीति विस्तार गर्दै मन्चुरिया र चीनउपर आक्रमण गर्यो । यसरी युरोपमा जर्मनी र इटली तथा एसियामा जापान निकै शक्तिशाली बन्दै गएको देखिन थाल्यो ।
राष्ट्रसंघ (लिग अफ नेसन्स) ले हुँदै गरेका सामरिक युद्धहरूलाई रोक्न सकेन, जसका कारण अन्य आक्रामक देशहरू पनि आफ्नो सैन्य शक्तिको खुलेआम जथाभावी प्रयोग गर्न हौसिँदै गए । बेलायत र फ्रान्सले सम्भावित युद्धलाई टार्न जर्मनीको हिटलरसँग बारम्बार सम्झौता गर्दै गर्दा हिटलरले चेकोस्लोभाकियाउपर आफ्नो विजयपताका फहराएरै छोड्यो । उपाय नपाएर राष्ट्रसंघले म्युनिख सम्झौतामार्फत हिटलरका माग स्वीकार गर्न बाध्य भयो । फलस्वरूप, नाजी–सोभियतबीच एक–अर्काउपर आक्रमण नगरिने सम्झौता भयो । यस सम्झौतामा पूर्वी युरोपलाई विभाजित गर्ने समझदारीलाई गोप्य राखिएको थियो । अन्ततोगत्वा १ सेप्टेम्बर १९३९ मा जर्मनी ले पोल्यान्डमा युद्ध प्रारम्भ गर्यो । युद्धमा लाखौँ मानिसको ज्यान गयो र युद्धग्रस्त देशहरूमा आर्थिक हानि हुनुका साथै त्यहाँको सामाजिक व्यवस्था तहस–नहस भएको अवस्थामा बेलायत र फ्रान्सले जर्मनीविद्ध लडाइँको घोषणा गर्यो । यही नै दोस्रो विश्वयुद्धको पहिलो घडी र युद्ध निषेधको नीतिमा आधारित राष्ट्रसंघीय संरचनाको अवसानको अन्तिम घडी हुन पुग्यो ।
युरोप तथा विश्वका अनेक मुलुकहरूबीच युद्ध दोहोरिन नदिन उपायहरूको खोजी हुन थाल्यो । सन् १९१८ मा अमेरिकी राष्ट्रपति बुड्रो विल्सनले विश्वशान्तिका लागि गरेको १४ बुँदे योजना पनि असफल प्रमाणित भइसकेको सन्दर्भमा सन् १९४५ को २४ अक्टोबरका दिन संयुक्त राष्ट्रसंघको औपचारिक अस्तित्वको अन्त्य भयो र संयुक्त राष्ट्रसंघ (युएनओ) को स्थापना भयो । राष्ट्रसंघ गठन भएको पनि ८० वर्ष पुगेछ । यसपटक संयुक्त राष्ट्रसंघको औपचारिकताको अन्त्य भयो ।
संयुक्त राष्ट्रसंघको गठन भएको ८० वर्ष पुगेछ । यस पटक संयुक्त राष्ट्रसंघ ८० वर्ष पुगेको उपलक्ष्यमा सम्पूर्ण विश्व नै शंकैशंकाको समुद्रमा लीन भई मौन बसेको विश्वका सबै राष्ट्रहरूले अनुभव गरे । केही दिनअघि मात्र इरान–इजरायल युद्धले बालेको आगो निभ्न नपाउँदै मध्यपूर्वका देशहरू कतै विभाजित भएर विश्व पुनः विश्वयुद्धको चपेटामा पर्ने पो हो कि भन्ने दुस्वप्न सबैले देख्न थालेकै थिए । दुनियाँमा अहिले शक्ति–राष्ट्रहरूकै बिगबगी छ ।
उनै हतियार बनाउँछन्, उनै हतियार बेच्छन् । आफ्नो उत्पादन बेच्नलाई स–साना मुलुकहरूबीच गई युद्धको पृष्ठभूमि बनाउँछन् । शक्तिराष्ट्रहरूले युद्ध–निषेधको अभियानलाई बल पुर्याउनुको सट्टा आफ्ना हतियार (डब्लुएमडी) को सौदागरी गरेको हामी अनुभव गर्छौं । विगतमा संसारले कोरियन युद्ध, भियतनाम युद्ध, अरब–इजरायल युद्ध, भारत–पाक युद्ध, इरान–इराक युद्ध, खाडी युद्ध, इरान–कुवेत युद्ध, रुवान्डा जातीय नरसंहार, बोस्निया युद्ध, अफगानिस्तान युद्ध, ९-११ पछि तालिवानमाथि अमेरिकी आक्रमण तथा तालिवान शासनको समाप्ति र सन् २०२१ मा तालिवान पुनः सत्तामा, इराक युद्ध, सिरियाको गृहयुद्ध, आइएसआई एसको उदय, इरान–इजरायलको राजनीतिक समाधान अधुरो, लेबनान, कंगो, द सुडान, सियरा लियोन, हाइटी र कोसोबोमा संयुक्त राष्ट्रसंघको शान्ति सेना परिचालन आदिका कारणले संयुक्त राष्ट्रसंघ पनि पूर्ण रूपले युद्ध निषेध गर्न असफल रहेको देखिन्छ ।
यद्यपि संरासं विवाद समाधान गर्ने कूटनीतिक मञ्च, शान्ति सेना सञ्चालन, शरणार्थी सहायता, युद्धपछिको पुनर्निर्माणमा मानवीय सहयोग र योगदानमा जुटेको स्पष्ट छ । पहिलेको राष्ट्रसंघ ३५ वर्ष टिक्यो— संयुक्त राष्ट्रसंघ अहिले ८० औँ वर्षमा छ । तर, विश्वलाई कुनै प्रकारको शान्ति स्थापनाको पूर्ण प्रत्याभूति दिन नसकेको अवस्थाले शान्तिप्रिय जनताको चिन्ता बढेकै छ । अतिवादी हिन्दू धर्मावलम्बीहरूले महाप्रलयको भविष्यवाणी गरिरहेकै बेला इस्लाम साथीहरूले आफ्नो धर्मग्रन्थ पवित्र कुरानको हवाला दिँदै कियामत (पृथ्वीको अन्तिम दिन) को प्रसंग उठाउँछन् । इसाई बन्धुहरूले पवित्र बाइबलको प्रसंग जोड्दै धधकिरहेको गन्धकको वर्षा तथा मध्यपूर्वको भूगोलमा भएको प्राचीन युद्धहरू मात्र नभई भविष्यमा हुने अन्तिम युद्धहरू पनि यसै भेगबाट हुने भनिएको सुनाउँछन् । यी कुरा गत महिनाको मध्यपूर्वको युद्धबाटै देखियो ।
हाम्रो महाभारतका श्रीकृष्णको सुदर्शन चक्रभन्दा पनि विनाशकारी हतियार मानवले बनाइसकेको रहेछ । क्षेप्यास्त्र र लामो दूरीमा प्रक्षेपण गरिने ब्यालेस्टिक (विनाशकारी क्षेप्यास्त्र) बमहरू जो ब्रजास्त्र, अग्नेयास्त्र र शास्त्रहरूमा पढिने देवताहरूका अनकौँ अस्त्रभन्दा कम छैनन्, सबै त बनिसकेका रैछन् । गत दुईवटा विश्वयुद्धपछि इजरायल–इरान युद्धमा धन्य रासायनिक अस्त्रहरूको प्रयोग भएको कतै सुनिएन । तैपनि, जेजति विध्वंसकारी अस्त्रहरूको हालैको युद्धमा प्रयोग भएको छ, मानव जातिमाथि त्यसको प्रभाव नपर्ने त होइन नै, यद्यपि त्यसबाट बच्न भने हामीले सक्नैपर्छ । यस विषयमा वैज्ञानिकहरूको खोज–अनुसन्धानको आशा गरिएको छ ।
विश्व स्वास्थ्य संगठनबाट पनि यसतर्फ हालसम्म कुनै टीका–टिप्पणी नआउनुले विषयको गाम्भीर्यतालाई बढाएको देखिन्छ । हामी विश्वका समस्त मानवजाति जो पिछडिएका छन्, एकातिर दिगो विकासका लक्ष्यहरूको प्राप्तिका लागि जुट्ने प्रयास गरिरहेका छौँ । धनी मुलुकहरूले अभाव ग्रस्त र अनेकौँ समस्याग्रस्त मुलुकहरूलाई आफ्नो उत्तरदायित्व ठानी मानवीय सहयोगका लागि घाँटी फुलाएर माग गरिरहेका छौँ । जलवायु परिवर्तन र फलस्वरूप हिमविहीन पर्वत श्रृंखलाका दृश्य देखाएर पृथ्वीलाई बाँच्न योग्य ठाउँ बनाउन अपिल गरिरहेका छौं । अर्कातिर शक्तिराष्ट्रहरू शक्ति सञ्चयमा एकत्रित भई जुटेका देखिन्छन् । संयुक्त राष्ट्रसंघका अटुट मानवीय कार्यक्रमहरूको सराहना गर्नुको सट्टा मानव जाति हिंस्रक बन्दै गइरहेको दृष्टान्तले सम्पूर्ण मानवता प्रेमीहरूको अन्तस्करण पीडाले किंकर्तव्यविमूढ भएर सास फेरिरहेको मात्र छ ।
संयुक्त राष्ट्रसंघले पृथ्वीलाई स्वर्ग बनाउन सक्ने त होइन, तर नर्क बन्नेबाट अझै पनि बचाउन सक्छ । आज संघमा १ सय ९३ देश संलग्न छन् । सीमित शक्तिराष्ट्रबाहेक बहुसंख्यक राष्ट्रको चाहना संरासंको बडापत्र (चार्टर) मा गएर अडिएको छ, युद्धरहित बहुजन हिताय, बहुजन सुखायको सुखद भविष्यको निर्माणका लागि । भोलिका दिनहरूबारे केही बोल्न, लेख्न नसके पनि संयुक्त राष्ट्रसंघको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा शान्ति, समानता र न्यायको पक्षमा काम गर्दै आएको संस्थालाई एउटै स्वरमा अभिनन्दन गरौँ । संयुक्त राष्ट्रसंघ युद्धको अन्त्य एवं मानवताको कल्याणका लागि जन्मिएको संस्था हो । यो मानव अधिकार र विश्व शान्तिको संरक्षक संस्था हो । कामना गरौँ, संयुक्त राष्ट्रसंघ अमर रहोस् । धन्य चीन सरकार, जसले केही दिनअघि गाजा क्षेत्रका भोका जनता र बाल बालिकाहरूका लागि यथेष्ठ खाद्यान्न एआरड्रप गरेर राहत जुटाएको थियो । संयुक्त राष्ट्रसंघ अमर रहोस् । युद्ध विरोधको वैश्विक प्रतिबद्धता नटुटोस् !