लुम्बिनी र पर्यटनका कुरा

लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा १ सय १२ देशका पर्यटकहरू भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न आएका थिए । दक्षिणको छिमेकी देश भारतबाट मात्रै ३ लाख ८ सय ८९ जना पर्यटक लुम्बिनी भ्रमण गर्न आएका थिए । सन् २०२३ मा भारतबाट २ लाख ६६ हजार ५ सय १० जना पर्यटक लुम्बिनी भ्रमण गर्न आएका थिए ।
त्यस्तै सन् २०२२ मा चाहिँ भारतबाट २ लाख ३० हजार ८ सय ६३ पर्यटक लुम्बिनी भ्रमण गर्न आए । सन् २०२१ मा चाहिँ ४३ हजार ७ सय ३२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२० मा चाहिँ केवल ३७ हजार २ सय ६ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । स्वाभाविक रूपमा कोरोना महामारीको समयमा भारतबाट लुम्बिनी भ्रमणमा आउने भारतीय पर्यटकको संख्या कम रहेको भए तापनि कोरोना महामारी सकिएसँगै बिस्तारै लुम्बिनी भ्रमण गर्न आउने दक्षिणको छिमेकी भारतीय पर्यटकको संख्या बढेको देखिन्छ, जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ ।
हुन त यसरी लुम्बिनी भ्रमण गर्न आउने विदेशी पर्यटक नेपाल र छिमेकी देश भारतबाहेक बढीजसो बौद्ध धर्मलाई ‘राष्ट्र धर्म’ मान्ने देशहरू, जस्तो कि श्रीलंका, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, बर्मा, दक्षिण कोरियाका साथै चीन, जर्मनी, फ्रान्स, स्पेन, रुस, बेलायत, अमेरिका, क्यानडा, इटली, स्विट्जरल्यान्ड आदि देशका छन् । भारतबाहेक अन्य देश (तेस्रो मुलुक) का कति पर्यटकले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे त ? सो सम्बन्धमा पनि यहाँ उल्लेख गरिएको छ ।
सन् २०२४ मा भारतबाहेकका देशबाट १ लाख ११ हजार ४ सय ३ जना पर्यटकले लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए । स्मरण रहोस्, सन् २०२३ मा तेस्रो मुलुकका ७६ हजार २ सय १० जना पर्यटक लुम्बिनी भ्रमण गर्न आएका थिए भने सन् २०२२ मा चाहिँ भारतबाहेक ९६ देशका २३ हजार ९ सय ९२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०२१ मा चाहिँ छिमेकी देश भारतबाहेक ६८ देशका १ हजार १ सय ९७ जना पर्यटकले मात्रै लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२० मा चाहिँ तेस्रो मुलुकबाट केवल ४५ हजार ३ सय २९ जना पर्यटकले मात्रै लुम्बिनीको भ्रमण गरेका थिए ।
जुनसुकै मानिसलाई एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त र नातागोताकहाँ बाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै ‘पर्यटक’ मान्ने गरिन्छ । अर्को महत्वपर्ण कुरो के भने जसले आफ्नो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य) मान्ने भन्ने संयुक्त राष्ट्रसंघको मातहत रहेको विश्व पर्यटन संगठन (युएन–डब्लुटिओ) को मान्यता नै रहेको छ । त्यसरी हेर्दाखेरि कहिलेकाहीँ भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपालको लुम्बिनीलगायत नेपाल–भारत सीमा क्षेत्र घुमेर बास बस्नचाहिँ भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मावलम्बी) पर्यटकलाई हामीले ‘पर्यटक’ मान्ने कि नमान्ने ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । खास गरी हाल भगवान् मानिएको र बुद्ध धर्मका प्रमुख प्रवद्र्धक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा पनि हामीले गम्भीर भएर सोच्ने हो कि ?
जे भए तापनि अन्त्यमा फेरि पनि लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्याकै कुरो गर्दा सन् २०१९ मा नेपाली, भारतीय एवम् नेपाल र भारतबाहेक अन्य देशका गरेर लगभग १८ लाख पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । खास गरी कोरोना महामारी मत्थर भएपछि अर्थात् सन् २०२२ पछि लुम्बिनी भ्रमण गर्ने नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न थालेको हो । हुन पनि सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीका कारण सन् २०२० मा त नेपाली, भारतीय एवम् नेपाल र भारतबाहेक अन्य देशका गरेर जम्मा २ लाख ९२ हजार चानचुन पर्यटक मात्रै लुम्बिनी भ्रमण गर्न आएका थिए ।
कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीका एक पुत्र र राजकुमार रहनुभएका सिद्धार्थ गौतम नै पछि गएर ‘भगवान् गौतम बुद्ध’ हुनुभएको हो । भगवान् गौतम बुद्धको मृत्यु (बौद्ध धर्मावलम्बीहरूको भाषामा महापरिनिर्वाण) पछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आउने पहिलो व्यक्ति सम्राट् अशोकलाई मान्ने गरिन्छ । उहाँपछि लुम्बिनी भ्रमण गर्ने चिनियाँ यात्री फाहियान हुनुहुन्छ । त्यसो भए तापनि गौतम बुद्ध र बौद्ध धर्मप्रति एकदमै गहिरो रुचि भएका सम्राट् अशोकले लुम्बिनीमा केवल भ्रमण मात्रै गर्नु भएन, उहाँले सो ठाउँमा आफ्नो नाममा अशोक स्तम्भ नै निर्माण गराउनुभयो, जुन स्तम्भ नै पछि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै हो भन्ने आधार र प्रमाणका लागि सहयोगी सिद्ध भयो । यसरी इतिहास हेर्दा सम्राट् अशोक र चिनियाँ यात्री फाहियान पहिलो लुम्बिनी भ्रमण गर्ने तीर्थयात्री हुनुभएयता करोडौँ तीर्थयात्री तथा पदयात्रीहरूले लुम्बिनी क्षेत्रको तीर्थयात्रा तथा पदयात्रा गरिसक्नुभएको छ । त्यसो त सन् १९९६ मा फ्रान्समा मुख्यालय रहेको युनेस्कोले भगवान् गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा पनि राखिसकेको छ ।
विश्वमा लगभग ५२ करोड मानिसले बौद्ध धर्म अपनाउने गरेको देखिन्छ । यसरी हेर्दा समग्रमा विश्वको ४.३ प्रतिशत मानिसले बौद्ध धर्म अपनाएका छन् । त्यसैले भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई विश्वका बौद्ध धर्मावलम्बीहरूको केन्द्रका रूपमा विकसित गर्नुपर्ने देखिन्छ । त्यसमा पनि विशेषतः एसिया महादेशका केही देश जस्तै— कम्बोडिया (कम्पुचिया), थाइल्यान्ड (सियाम), म्यानमार (बर्मा), श्रीलंका (सिलोन), दक्षिण कोरिया, मलेसिया (मलाया), चीन, भियतनाम, जापान (निप्पोन), भारत, लाओस, नेपाल, मंगोलिया (मन्चुरिया), ताइवान (फर्मोसा), अफगानिस्तानलगायत देशमा बौद्ध धर्मावलम्बीहरूको धेरै बसोबास रहेको छ । खासगरीकन कम्बोडिया, थाइल्यान्ड, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, मलेसिया, चीन, भियतनाम, जापान, नेपाल, भारत, लाओस, मंगोलिया, ताइवान आदि देशमा धेरै संख्यामा बौद्ध धर्मावलम्बीको जनसंख्या रहेको छ ।
सबैभन्दा धेरै संख्यामा बौद्ध धर्मावलम्बी रहेको देश कम्बोडिया हो । यो देशको ९७.०९ प्रतिशत जनसंख्याले बौद्ध धर्म मान्ने गरेका छन् । त्यसपछि चाहिँ धेरै संख्यामा बौद्ध धर्मावलम्बी रहेको देश थाइल्यान्ड हो । थाइल्यान्डका ९३.०२ प्रतिशत जनताले बौद्ध धर्म मान्छन् भने तेस्रो बढी बौद्ध धर्म मान्ने देशमा चाहिँ श्रीलंका रहेको छ । श्रीलंकाका ९३.०२ प्रतिशत जनताले बौद्ध धर्म मान्ने गर्छन् । त्यस्तै गरेर दक्षिण कोरियाका २२.०९ प्रतिशत जनता बैद्ध धर्मावलम्बी रहेका छन् । उता मलेसियालाई प्रायः सबैले मुस्लिम देशका रूपमा चिन्ने र जान्ने गरेका छन् । त्यो बुझाइ गलत पनि होइन तापनि मलेसियाका १९.०८ प्रतिशत जनता बौद्ध धर्मावलम्बी रहेका छन् । एकै देशमा धेरै बौद्ध धर्मावलम्बीको जनसंख्या रहेको देशचाहिँ चीन हो । चीनमा मात्रै विश्वको सम्पूर्ण बौद्ध जनसंख्याको लगभग आधा अर्थात् २४ करोड ४१ लाख ३० हजार जनसंख्या रहेको छ ।
नेपाल विश्वका बौद्ध धर्म मान्ने देश र ती देशका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । त्यसैले गर्दा भगवान् गौतम बुद्धको जन्मस्थलको रूपमा रहेको नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन हामीले दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ । हुन त इतिहास हेर्दा सम्राट् अशोक र चिनियाँ यात्री फाहियान लुम्बिनी भ्रमण गर्ने पहिलो तीर्थयात्री भएयता करोडौँ तीर्थयात्री तथा पदयात्रीहरूले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्रा तथा पदयात्रा गरिसक्नुभएको छ ।