Logo

एक वर्षमै इन्टरनेट सेवा लिने ग्राहक संख्या साढे २६ लाख घट्यो

काठमाडौं– मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीबाट डेटा सेवा लिने ग्राहक संख्यामा एक वर्षमा झन्डै साढे २६ लाखले कमी आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रतिवदेनअनुसार अघिल्लो वर्ष चार करोड २१ लाख १८ हजार प्रगोगकर्ताले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त सेवाप्रदायकमार्फत डेटा सेवा लिएकामा चालू वर्षमा यस्तो सेवा लिनेको संख्या २६ लाख ४३ हजारले कमी आएको हो ।

मन्त्रालयका अनुसार चालू वर्षमा यसरी डेटा लिनेको संख्या ३ करोड ९४ लाख ७५ हजार मात्र रहेको छ । यो तथ्यांक गत फागुनसम्मको हो । प्राधिकरणले ह्वात्तै ग्राहक संख्या घट्नुको कारणलाई प्राविधिक मात्र रहेको बताएको छ । प्राधिकरणका अनुसुार गत वर्षसम्म कुल ग्राहक संख्याको विवरणका आधारमा गणना गर्ने गरिएकामा चालू आवमाा भने सक्रिय ग्राहक संख्याको विवरणका आधारमा तथ्यांक अद्यावधिक गरिएका कारण घटेको देखिएको हो ।

प्राधिकरणका अनुसार गत वर्षको असारसम्म दूरसञ्चार सेवाप्रदायकबाट डेटा सेवा लिने ग्राहक संख्या चार करोड २० लाख ६३ हजार रहेकामा फागुनमै तीन करोड ९४ लाखमा झरेको छ । अघिल्ला वर्षमा सक्रिय ग्राहक गणना नहुने र कुल ग्राहकका आधारमा तथ्यांक राखिने भएकाले बढी देखिएको एवं चालू आवमा सक्रिय ग्राहकको तथ्यांक अद्यावधिक गरिएसँगै वास्तविक अवस्था चित्रण भएको प्राधिकरणका अधिकारी बताउँछन् ।

सक्रिय ग्राहक विवरण अद्यावधिक गरिएसँगै दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का ग्राहक संख्या धेरै घटेका छन् भने निजी क्षेत्रको कम्पनी एनसेलका ग्राहक बढेका छन् । गत वर्षको फागुनसम्म २ करोड १५ लाख ६९ हजार ग्राहक सेवाग्राही रहेको नेपाल टेलिकममा हाल १ करोड ५६ लाख ४५ हजार सक्रिय ग्राहक छन् । एनसेलमा गत वर्षसम्म डेटातर्फ ७८ लाख ९१ हजार मात्रै ग्राहक रहेकामा चालू आवमा १ करोड १८ लाख ९१ हजार ग्राहक पुगेका छन् ।

निजी क्षेत्रकै अर्को कम्पनी स्मार्ट टेलिकममा कुनै ग्राहक छैनन् भने मुलुकका इन्टरनेट सेवाप्रदायकको पनि सक्रिय ग्राहक संख्या घटेको पाइएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीका गत वर्षसम्म एक करोड २६ लाख ५९ हजार ग्राहक रहेकामा चालू आवमा एक करोड १९ लाख ३९ हजार ग्राहक संख्या रहेको तथ्यांक अद्यावधिक गरिएको छ । कुनै कम्पनीको सेवा लिएर सेवामा चित्त नबुझेसँगै अर्को कम्पनीको समेत इन्टरनेट जडान गर्ने र पुरानो नवीकरण नगर्ने प्रवृत्ति बढ्दै जाँदा ग्राहक संख्यामा दोहोरोपना देखिएको हो ।

यसले इन्टरनेट सेवाग्राहीको वास्तविक तथ्यांक सार्वजनिक हुन सकेको थिएन । दूरसञ्चार सेवाप्रदायकले एउटै व्यक्तिको नाममा एकभन्दा बढी सिमकार्ड दर्ता गरेको पाइन्छ । कतिपय अवस्थामा त्यही व्यक्ति स्वयंले अनेकौं सिम निकाल्छन् भने कतिपय अवस्थामा तेस्रो पक्षले उनीहरूको विवरण दुरुपयोग गरेर सिम निकाल्ने गरेको देखिन्छ । यसले सेवा प्रवाह, डेटा व्यवस्थापनदेखि सुरक्षा व्यवस्थासम्म चुनौती सिर्जना गरेको छ ।

कागजी प्रक्रियाले सहज
नेपालमा सिमकार्ड लिने प्रक्रिया कागजपत्रमा आधारित छ । ग्राहकले नागरिकता, राहदानी वा अन्य प्रमाणपत्र देखाएर सिम लिन सक्छ । तर, यी कागजात पर्याप्त प्रमाणीकरण नहुँदा एउटै विवरणमा पटक–पटक सिम दर्ता हुने अवस्था रहन्छ । अझ कतिपय एजेन्ट वा खुद्रा बिक्रेताले लक्ष्य पूरा गर्नकै लागि ग्राहकको सही विवरण नजाँचीकनै सिम बेच्ने गरेका घटनासमेत सार्वजनिक भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक सेवाप्रदायकलाई ग्राहक विवरण सच्याउन निर्देशन दिए पनि व्यवहारमा अझै दोहोरो विवरणको समस्या पूर्ण रूपमा हटेको छैन । राष्टिय परिचयपत्रको पूर्ण कार्यान्वयनसँगै यो समस्याको समाधान हुन सक्ने देखिएको छ । हालका लागि भने टेलिकम कम्पनीबीच केन्द्रीय डेटा प्रणाली स्थापना गर्न आवश्यक छ, जसमा एक व्यक्तिको विवरण एउटै स्थानमा मिलेर राखिनेछ ।

त्यस्तै, बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरिनु उपयुक्त हुने र यसले एक व्यक्तिको नाममा सीमित सिम मात्र दर्ता गर्न सकिनेछ । सेवाग्राहीको दोहोरो तथ्यांक केवल प्रशासनिक कमजोरी मात्र नभै राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले नियमन जरुरी सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्