Logo

स्याङ्जामा ३० प्रतिशत धान रोपाइँं

स्याङ्जा– स्याङ्जामा असारको तेस्रो हप्तासम्म झण्डै ३० प्रतिशत धान रोपाइँ सकिएको छ । धान खेती गरिने कुल खेतीयोग्य क्षेत्रफलको हालसम्म झण्डै ३० प्रतिशत रोपाइँ सकिएको हो । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिए ।

जिल्लाका उत्तर भेगमा छिटोमा असारको पहिलो हप्तादेखि रोपाइँ गरिन्छ भने दक्षिण भूभागमा ढिलोमा भदौको पहिलो हप्तासम्म रोपाइँ हुने गर्दछ । कतिपय खेतमा मकै भएकाले पनि यो वर्ष रोपाइँ ढिलाइ भएको हो । यस पटक छिटो वर्षा भएकाले टारी खेतमा पनि रोपाइँ पूरा भएको छ । जिल्लाभर १४ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान र ७ हजार हेक्टरमा हिउँदे धान रोप्ने गरिन्छ । जिल्लामा गत वर्ष ५७ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टारस्थित रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेतीदोभान फाँट र बिरुवा फाँट धान उत्पादनका पकेट क्षेत्र हुन् । स्याङ्जामा साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ राधा १२ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोलालगायतका स्थानीय जातका धान पनि रोपिन्छन् ।

प्रतिक्रिया दिनुहोस्