मुख्यमन्त्री शाहको लम्की मोह
निर्वाचन क्षेत्रमा २५९ योजना एक अर्ब भन्दा बढी बजेट

धनगढी– सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा सन्तुलित विकासको अवधारणालाई लत्याउँदै मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा मनपरी बजेट विनियोजन गरेको छ । वार्षिक बजेट निर्माण गर्दा पूर्वतयारी सम्पन्न भएका योजना बैंकमा समावेश गरेर मात्रै बजेट विनियोजन गर्ने व्यवस्थालाई समेत लत्याउँदै पूर्वतयारी नगरिएका योजनासमेत मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा समावेश गरिएको छ ।
मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वतयारी नभएका २५९ वटा योजनाका लागि बजेट विनियोजन गराएका छन् । ती योजनाका लागि एक अर्ब दस करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्र कैलाली २ (१) मा लम्कीचुहा नगरपालिकाको वडा नं. १, २, ३, ४, ५ र ७, मोहन्याल गाउँपालिकाको वडा नं. ६ र ७ र जानकी गाउँपालिकाको वडा नं २, ५, ८ र ९ पर्छ ।
मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा पर्ने जानकी र मोहन्याल गाउँपालिकाका वडा भन्दा पनि लम्कीचुहा नगरपालिकामा अस्वाभाविक रुपमा बजेट परेको छ । लम्कीचुहामा स्थानीयस्तरको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउनेदेखि मन्दिर घेरबारसम्मका योजनामा बजेट विनियोजन गरिएको छ । १५ सैय्याको लम्की चुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउनका लागि चार वटा शीर्षकमा ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मुख्यमन्त्री शाहको गृह पालिका लम्कीचुहा नगरपालिकामा सडक पूर्वाधारका मात्रै ८३ वटा योजना बजेटमा समावेश गरिएको छ । ती योजनाका लागि ५१ करोड ७० लाख विनियोजन गरिएको छ । लम्कीमा सडक निर्माणका चार योजनामा एक हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको भने प्राय: योजनामा २० वा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । केही योजनामा आठ, दस लाखका दरले पनि बजेट विनियोजन गरिएका छन् भने केहीमा एक करोड भन्दा बजेट राखिएको छ ।
डुडेझारी–टीकापुर सडक स्तरोन्नती गर्न दुई लाख ५० हजार, चिसापानी–सोल्टा सडकलाई स्तरोन्नती गर्न एक लाख ५० हजार, लम्कीचुहा रिङरोड निर्माण गर्न दुई वटा शीर्षक गरी तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । लम्की खानेपानीदेखि राजकाँडासम्म सडक कालोपत्रे योजनामा एक करोड ५० लाख एउटा र अर्को ५० लाख रुपैयाँ राखिएको छ ।
पहाडी तथा हिमाली जिल्लामा सञ्चालन भइरहेका बहुवर्षीय योजनामा समेत बजेट विनियोजन नगरेको प्रदेश सरकारले लम्कीचुहामा भने एउटै योजनाका लागि २/३ वटा फरक फरक शीर्षकमा बजेट विनियोजन गरेको छ । लम्कीचुहामै जलस्रोत तथा सिंचाइतर्फ १७ वटा योजनामा सात करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने भूमिगत जलस्रोत तथा सिंचाइका लागि छ वटा योजनामा एक रोड ६० लाख विनियोजन गरिएको छ ।
सोही नगरपालिकामा सहरी विकास तथा भवनतर्फ २० वटा योजनामा आठ करोड ५२ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा मुख्यमन्त्री शाहले लम्कीचुहामा सिटी हल बनाउने बहुवर्षीय योजना बनाएका छन् । सहरी विकास तथा भवन कार्यालयमार्फत् पनि लम्कीचुहामा सडक निर्माणको योजना राखिएको छ । यसैगरी, खानेपानी तथा सरसफाइतर्फ मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा २१ वटा योजनामा सात करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विद्यालय भवन, अस्पताल तथा स्वास्थ्य चौकीको भवन निर्माणका लागि सो क्षेत्रमा ५७ योजनामा १३ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै पर्यटन क्षेत्रका लागि विनियोजित बजेटमा ३० वटा मन्दिर बनाउने योजना राखिएको छ । लम्कीचुहामा मन्दिर बनाउनका लागि प्रदेश पर्यटन विकास योजना कार्यान्वयन इकाइ (पर्यटन इकाइ) मा छ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन विकासका अन्य ५ वटा योजनामा एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उद्योग र जलाधार व्यवस्थापनका लागि लम्कीचुहामा ६ वटा योजनाका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको क्षेत्राधिकारमा रहेको डुडेझाडी औद्योगिक क्षेत्र निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजित २० लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको जनाएको छ ।
यसैगरी, कृषि क्षेत्रको ९ योजनाका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । लम्कीचुहा नगरपालिकाको लागि दमकल खरिद गर्न ४५ लाख रुपैयाँसमेत विनियोजन गरिएको छ । यसबाहेक कृषि, सामाजिक विकास, उद्योग, पर्यटनका अप्रत्यक्ष योजनासमेत मुख्यमन्त्री शाहको क्षेत्रमा जाने कार्यक्रम कार्यान्वयन गर्ने प्रदेश सरकारका कार्यालयहरुले जनाएका छन् ।
मुख्यमन्त्री शाहको क्षेत्रमा योजना र बजेटमा धेरै प्राथमिकता दिएपछि प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तापक्षकै सांसदहरुले पनि त्यसको विरोध गरेका छन् । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता लक्ष्मण किशोर चौधरीले मन्त्रीमुखी र निर्वाचन क्षेत्रमुखी बजेट ल्याएको भन्दै प्रदेश सरकारको बजेट असन्तुलित भएको बताए ।
‘एक जनाको सोचको आधारमा प्रादेशिक अस्पताल घोषणा गरिएको छ,’ उनले भने, ‘तर दुरदराजका जनताले सिटामोल पाए कि पाएनन् भन्ने कुरा हेरिएको छैन । समग्र सुदूरपश्चिमलाई विकास गर्नु छ भने कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास गर्नुपर्छ भने मन्त्रीमुखी र आफ्नो निर्वाचन क्षेत्रमुखी बजेट ल्याएर हुँदैन । सम्पूर्ण क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्छ । प्रादेशिक अस्पताल बन्दै गर्छ तर समग्र विकासका लागि पनि बजेट विनियोजन हुनुपर्छ ।’
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पनि केही वडा र पालिकामा धेरै योजना र बजेट परेको स्वीकार गरेका छन् । प्रदेशसभामा बजेटमाथि छलफलको क्रममा उठाएको प्रश्नको जवाफ दिंँदै उनले सांसदहरुले भने जस्तै केही वडामा ६ सय योजना नभएपनि उल्लेख्य योजनामा बजेट परेको बताए । उनले धेरै योजना समेटिएको हुनाले बहुवर्षीय योजनामा बजेट कम परेको पनि स्वीकार गरे ।
सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिमा पारित
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सत्तापक्ष र विपक्षी दलका सांसदहरुको विरोधका बाबजुद प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभाको बुधबारको बैठकमा बजेटमाथि बोल्ने क्रम सकिएपछि आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रस्तावमा प्रदेश सभाले सो विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
आर्थिक मामिलामन्त्री थापाले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफलका लागि बोलाइएको प्रदेश सभाको चार वटै बैठकमा सांसदहरुले बजेट निर्माणमा आर्थिक लेनदेन भएको भन्दै छानविन समिति गठन गर्न माग गरेपनि सर्वसम्मतिले बजेट पारित गरेका हुन् । उनीहरुले बजेट निर्माणमा सरकारले गृहकार्य गरेपनि अन्तत: बिचौलियाका योजना समेटेर सभामा प्रस्तुत गरेको आरोप लगाएका थिए ।
सांसदहरुद्वारा बजेटको विरोध
सत्तापक्षका सांसदहरुले बजेटमाथिको छलफल चलिरहँदा आक्रामक आलोचना गरेको भएपनि आर्थिक विधेयक र सञ्चित कोषमाथि हुने व्यवभार सम्बन्धी छलफलमा नरम भएका थिए । उनीहरुले आफूहरुले जति विरोध गरेपनि अन्त: बजेट पारित गर्नै पर्ने आफूहरुलाई बाध्यता रहेको बताएका थिए ।
तर, प्रतिपक्षी दलका सांसदहरुले बुधबारको बैठकमा कडा विरोध जनाएका थिए । तर, बजेट पारित गर्नका लागि सभामुखले ‘हुन्न’ भन्न भन्दा कोही पनि बोलेनन् । सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने शब्द नसुनेपछि बजेट सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।