कोइरेलीमा ६९ लाख लगानीमा घरघरमा धारा

जुम्ला– वर्षौदेखि खानेपानी अभाव भोगिरहेको हिमा गाउँपालिका–२ स्थित र्कोरेली गाउँमा एक घर एक धारा निर्माण भएको छ । खानेपानी विकासलाई प्राथमिकता दिएको हिमाले विकट कोइरेली गाउँका प्रत्येक घरमा धारा निर्माण गरेको हो । गाउँपालिकाको आर्थिक लगानी रसुस्वा परियोजनाको प्राविधिक सहयोगमा कोइरेली गाउँका ४३ घरधुरीमा धारा पुर्याइएको छ ।
बुधबार गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले कोइरेली खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । अध्यक्ष शाहीले हिमालाई खानेपानी विकासमा कर्णालीकै नमुना बनाउने अठोट लिएको बताए । ‘पछि आउने जनप्रतिधिले खानेपानी विकास कुनै पनि काम गर्नु नपर्नेगरी लगानी गरिरहेका छौं’ उनले भने, ‘तीन वर्षको अवधिमा हिमाका एक हजार दुई सयभन्दा बढी घरमा धारा निर्माण भएका छन् । निर्माण भएका योजनाको दीगो सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि हामी गम्भीर छौ । खानेपानी योजनाको मर्मत कोष नै खडा गरिसकेका छौं ।’
पाँच वर्षभित्र हिमालाई खानेपानीयुक्त पालिका बनाउने गरी काम अघि बढाएको र जिल्लाकै पहिलो, पूर्ण सरसफाइयुक्त पालिका बनाउने लक्ष्य रहेको उनले बताए । कोइरेली खानेपानी योजना निर्माणमा गाउँपालिकाको ६९ लाख ७७ हजार लगानी गरेको छ । हिमाका ४३ घरधुरीमा स्वच्छ पानीको धारा निर्माण भएको हिमा गाउँपालिका वास संयोजक सुमित्रा शाहीले बताइन् । उनका अनुसार कोइरेलीले खानेपानी आयोजनामा लगानी नगरेपनि योजना सुरुदेखि निर्माण सम्पन्न हुने बेला सुस्वा परियारले प्राविधिक सहयोग गरेका थिए ।
६९ लाख ७७ हजार लगानीमध्ये स्थानीयको श्रमदान १३ लाख ३५ हजार, उपभोक्ता समितिबाट १७ लाख ६ हजार नगद र गाउँपालिकाको ५४ लाख ६६ हजार गरी ६९ हजार ७७ हजार लगानीमा घर घरमा धारा निर्माण गरिएको कोइरेली खानेपानी आयोजनाका सचिव कालीबहादुर रोकायाले बताए । खानेपानी आयोजनाबाट कोइरेली गाउँका ४३ घरधुरीका २६१ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
पानीको मुहान रहेको ओदीगाउँबाट करिब ५ किमी टाढाबाट पाइप लाइन बिछ्याएर ल्याइएको छ । पानीको स्रोत पर्याप्त भएपनि लगानी अभावले सदुपयोग नहुँदा स्थानीय पानीको अभाव झेल्न बाध्य थिए । खानेपानी योजना निर्माणका अध्यक्षसमेत रहेका बुढाले खानेपानी योजनाको संरक्षण तथा मर्मत सम्भारमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
सुस्वाका वास सल्लाहकार गोविन्द रोकायाले हिमा गाउँपालिकाले खानेपानी विकासमा गरेको काम उदाहरणीय रहेको बताए । सुस्वा परियोजना लागू भएकामध्ये कर्णालीमा सबै भन्दा राम्रो कार्य हिमामा भएको उल्लेख गरे । सुस्वा र पालिकाकाको संयुक्त लगानीमा निर्माण भएका करोडौंका खानेपानी आयोजनाको दिगो व्यवस्थापन, मर्मत तथा पानी उपभोग ध्यान दिन आवश्यक रहेको उनले जोड दिए ।