Logo

बीमा व्यवसाय प्रवर्द्धनका लागि पुनर्बीमा कम्पनी

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले ऋणात्मक रह्यो । अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सन् २०२१ मा विश्वको अर्थतन्त्र करिब ६.१ प्रतिशतले बढ्ने र सन् २०२२ र २०२३ मा समान रूपले ३.६ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको थियो । उक्त प्रक्षेपण पूर्ण रूपले नमिले पनि विश्व अर्थतन्त्रमा केही सुधार भयो । तर, एसिया र युक्रेनबीचको युद्धका कारणले विश्वमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, जसको फलस्वरूप विश्वमा धेरै वस्तुको मूल्य मात्र वृद्धि नभई आपूर्तिमा समेत गम्भीर असर परेको छ । यसबाट विश्व अर्थतन्त्रमा नै असर परेकाले बीमा क्षेत्र पनि प्रभावित छ ।

वस्तुतः आज विश्वमा बीमाको महत्व दिन–प्रतिदिन बढिरहेको छ । विश्वको कुल गार्हस्थ्य उत्पादनमा यसको अनुपात ७.८ प्रतिशत छ । सन् २०२१ मा विश्वको एक प्रतिष्ठित कम्पनी स्वीस रीद्वारा प्रकाशित सिग्मा प्रतिवेदनका अनुसार सन् २०२० मा विश्व बजारमा ६२ खर्ब ८७ अर्ब अमेरिकी डलरबराबरको बीमा शुल्क संकलन गरिएको थियो ।

सन् २०२० मा विश्व बीमा बजारमा पश्चिमी राष्ट्रहरूको वर्चस्व कायम रह्यो । उक्त वर्ष संयुक्त राज्य अमेरिकाले विश्वका सबैभन्दा बढी बीमा शुल्क अर्थात् २५ खर्ब ३१ अर्ब डलर आर्जन गरेको थियो, जुन सम्पूर्ण बीमा शुल्कको ४०.२५ प्रतिशत हुन्छ । यसैगरी चीनले ६ खर्ब ५६ अर्ब अमेरिकी डलर अर्थात्् १०.५३ प्रतिशत योगदान गरी दोस्रो स्थान ओगट्यो ।

सन् २०१९ को तुलनामा सन् २०२० मा बीमा शुल्क संकलन लगभग ३.३ प्रतिशत, सन् २०२१ मा ३.९ प्रतिशत र सन् २०२२ मा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । किन्तु, विश्व जीवन बीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा बीमा शुल्क आर्जन झन्डै ८ प्रतिशतले घट्न गई २७ खर्ब ९७ अर्ब अमेरिकी डलर बीमा शुल्क आर्जन भएको थियो । विश्वको निर्जीवन बीमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा सकारात्मक वृद्धि भयो ।

सन् २०२० मा निर्जीवन बीमा बजार १.५ प्रतिशतले वृद्धि भई जम्मा ३४ अर्ब ९० अर्ब अमेरिकी डलर बीमा शुल्क संकलन भएको देखिन्छ । पछिल्लो समय उक्त शुल्क केही बढेको अनुमान छ ।

नेपालमा शिक्षित व्यक्तिहरूको कमी एवं सम्बन्धित व्यक्तिहरूको ध्यान यसतर्फ आकृष्ट नहुनाले धेरै वर्षसम्म यहाँ बीमा व्यवसाय ओझेलमा पर्‍यो । तर, हाल यो व्यवसायको महत्व बढ्न थालेको छ ।

नेपाल बैंकको सक्रियतामा वि.सं. २००८ मा स्थापित माल चलानी तथा बीमा कम्पनी वि.सं. २०१६ मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो । वि.सं. २०४६ मा निर्जीवन बीमाको काम गर्न नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरियो ।

वि.सं. २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान स्थापना गरियो । वि.सं. २०२९ देखि यहाँ जीवन बीमा व्यवसाय सुरु गरियो । वि.सं. २०४० पछि निजी क्षेत्रद्वारा सञ्चालित बीमा कम्पनीहरूको स्थापना एवं विकास निरन्तर रूपले भइरहेको छ ।

नेपालमा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण र अनुगमन गर्न नियमनकारी निकायको आवश्यकता महसुस गरी तत्कालीन सरकारबाट बीमा ऐन जारी गरियो । जसअनुसार बीमा प्राधिकरण स्थापना गरिएको छ, जसबाट भविष्यमा यहाँको बीमा व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्नेछ ।

नेपालमा बीमा व्यवसाय सुरु भएको ७२ वर्षको अवधिमा ७ प्रतिशत जनतामा मात्र बीमाको पहुँच रहेकोमा केही वर्षयता बीमा प्राधिकरणमा गरिएको संस्थागत सुधारका कारण बीमाको पहुँच केही बढेको छ । वि.सं. २०७८ असारसम्म यहाँ बीमाको दायरामा आएको जनसंख्या २७ प्रतिशत रहेकोमा उक्त वर्षको फागुन महिनासम्म यो जनसंख्या २९ प्रतिशत पुग्यो । वैदेशिक रोजगारीमा जाने व्यक्तिको जीवन बीमासमेत गणना गर्दा वि.सं. २०७८ फागुनसम्म यहाँ बीमाको दायरामा आएको जनसंख्या ३५.४ प्रतिशत देखिन्छ ।

आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यमा बीमाको पहुँच यहाँको एकतिहाइ जनसंख्यामा पुर्‍याउने लक्ष्य लिइएकोमा निर्धारित अवधिभन्दा अगावै उक्त लक्ष्य हासिल भयो । यति मात्र नभई वि.सं. २०७८ चैत मसान्तसम्ममा यहाँ विद्यमान सम्पूर्ण जीवन बीमामार्फत कुल १ करोड ९ लाख ९१ हजार ६ सय ९७ बीमालेख बिक्री भएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

वास्तवमा कुनै पनि देशमा बीमा व्यवसाय प्रवद्र्धनका लागि पुनर्बीमा कम्पनीहरूले महत्वपूर्ण भूमिका खेल्छन्, जुन कुरा विकसित देशहरूमा विद्यमान उक्त कम्पनीहरूले खेलेको भूमिकाबाट प्रस्ट हुन्छ । भारत, चीन र अन्य छिमेकी राष्ट्रहरूमा पनि उक्त कम्पनीहरूको भूमिका कम छैन ।

नेपालमा पनि पुनर्बीमा कम्पनीको आवश्यकता महसुस गरी वि.सं. २०७१ मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापना गरियो । यो पुनर्बीमा व्यवसाय गर्ने बिमकको विधिवत् इजाजत पत्र प्राप्त गरी नेपाल सरकार र बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनी र संस्थागत लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापित भई सर्वसाधारणको समेत लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो ।

नेपालमा सञ्चालित बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा कम्पनीहरूसँग पुनर्बीमा गराउँदा ठूलो धनराशि बिदेसिने हुँदा यहाँ रहेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले बीमा गरेको २० प्रतिशत उक्त पुनर्बीमा कम्पनीमा बीमा गर्नुपर्ने व्यवस्था भएअनुसार आर्थिक वर्ष २०७७-७८ मा उक्त पुनर्बीमा कम्पनीले यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले आ–आफ्ना बीमा लेखका न्यूनतम २० प्रतिशत हिस्सा स्विकारेको छ ।

नेपाल सरकारको २०७९-८० को बजेट वक्तव्यमार्फत बीमा व्यवसायलाई सामाजिक संरक्षणको एक आधारस्तम्भका रूपमा विकास गर्न गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समावेश गर्ने गरी उपयुक्त ठाउँहरूमा लघुबीमा कम्पनीहरू स्थापना गर्ने, बीमा सूचना केन्द्रहरू स्थापना गर्ने र बीमा कलेज स्थापना गर्न प्रोत्साहन गर्ने नीतिले भविष्यमा यहाँको बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।

उक्त नीतिलाई व्यवहारमा उतार्न सके आगामी दिनमा बीमासम्बन्धी थप संस्थाहरूको बीमा गर्न आवश्यक छ, जसको सबलीकरण एवं स्थायित्वका लागि नेपाल पुनर्बीमा कम्पनी कम महत्वपूर्ण छैन । तर, यस कम्पनीको अन्तर्राष्ट्रिय स्तर निर्धारण कार्य पूरा गर्न आवश्यक छ ।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार हाल नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा गरेको लगानी शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । यी पुनर्बीमा कम्पनीहरूले यहाँका जीवन बिमा कम्पनी तथा निर्जीवन बिमा कम्पनीहरूले लगानी गरेजस्तै आफ्ना सबैभन्दा बढी लगानी बैंक तथा वित्तीय संस्थाहरूमा गरेका छन् । यी पुनर्बीमा कम्पनीहरूले आफ्नो अधिकांश रकम वाणिज्य बैंकमा निक्षेपमा सञ्चित गरेका छन् भने थोरै मात्र विकास बैंकमा निक्षेपमा राखेका छन् । यसैगरी सरकारी बचत तथा ऋणपत्र खरिदमा पनि यी कम्पनीहरूले केही लगानी गरेका छन् ।

घरजग्गामा आफ्नो आम्दानीको १० प्रतिशत लगानी गर्न पाउने प्रावधान भए तापनि उक्त पुनर्बीमा कम्पनीहरूले हालसम्म सो क्षेत्रमा लगानी गरेका छैनन् । यसैगरी कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि यिनीहरूले लगानी गरेका छैनन् । वास्तवमा बढी जोखिम मोल्नुपरे तापनि यी क्षेत्रमा लगानी नगरीकन यिनीहरूले भविष्यमा उल्लेख्य फाइदा प्राप्न गर्न सक्दैनन् । यसबाहेक सेयर खरिद–बिक्री र अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग सम्पर्क बढाएमा उक्त पुनर्बीमा कम्पनीहरू धेरै नै लाभान्वित हुनेछन् । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्