Logo

असारको दुई सातासम्म निक्षेप ६० अर्ब बढ्दा १२ अर्बमात्रै गयो कर्जा

काठमाडौं– विगतका वर्षान्तमा कर्जा विस्तारले केही लय समाउने गरेकोमा अहिलेको असारमा भने त्यस्तो अवस्था नदेखिँदा बैंकरहरू निराश बनेका छन् । विगतका असारमा बढ्दो क्रममा रहने कर्जा विस्तार चालु आवको अन्तिम महिना असारको आधासम्ममा पनि अपेक्षित गतिले बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको असारको सुरुवाती १३ दिनमा वाणिज्य बैंकहरूले १२ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गर्न सकेका छन् । आधा महिना बितिसकेकाले अबको आधा महिनामा पनि धेरै कर्जा विस्तार हुने अवस्था नदेखिएको बैंकरहरूको भनाइ छ । असारमा कर्जा असुलीका साथै कर्जा विस्तारमा पनि बैंकहरूको ध्यान केन्द्रित हुन्छ । विकासका कामहरू असारमा बढी हुने भएका कारण पनि कर्जा विस्तार हुने अपेक्षा गरिन्छ । विगतमा असारमा कर्जा बढ्ने ट्रेण्ड नै थियो । तर, अहिले असारको आधा बित्दा कर्जा वृद्धि सुस्त गतिमा छ । यसलाई बैंकरहरू ‘निराशाजनक’ अवस्था नभनेर ‘सोच्नै नसकिने’ परिस्थिति भएको बताउँछन् ।

असार १३ सम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरूको कर्जा १२ अर्बमात्र वृद्धि भएको छ । तर, निक्षेप भने ६० अर्ब थपिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि ८० प्रतिशत कम छ । असार पहिलो साता कर्जा विस्तार केही बढे पनि दोस्रो साता घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ । गत वैशाखमा ४ अर्ब रुपैयाँले ऋणात्मक रहेको वाणिज्य बैंकहरूको कर्जा विस्तार वृद्धि जेठमा ३६ अर्बले बढेको थियो । बैंकहरूले न कर्जा असुलीमा सुधार गर्न सकेको देखिएको छ न त कर्जा विस्तार नै गर्न सकेका छन् ।

अहिले कर्जा विस्तारका लागि आउने माग पनि त्यति राम्रो नभएको बैंकरहरू बताउँछन् । ‘ठूला परियोजना, उद्योगधन्दा वा नयाँ उद्योगधन्दा कुनैमा पनि कर्जा माग नभएको अवस्था हो,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘मनसुन सुरू भइसकेका कारण अब जलविद्युतमा पनि कर्जा विस्तार नहुने देखिन्छ । अहिले कर्जाको माग र विस्तार आयातका लागिमात्रै भइरहेको छ ।’

राष्ट्र बैंकका अनुसार असार १६ सम्ममा वाणिज्य बैंकहरूको कर्जा विस्तार ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । असार १५ मा ४९ खर्ब ५९ अर्ब रहेको कर्जा एक दिनमा २ अर्ब बढेको हो । यसबीचमा विकास बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ विगतमा असारमा कर्जा बढ्ने ट्रेण्ड रहे पनि यस पटक त्यस्तो नदेखिएको बताउँछन् । अहिले सोचेभन्दा कममात्रै कर्जा लगानी भइरहेको उनले बताए । ‘छोटो समयको आयातमा खर्च हुने किसिमको कर्जा लगानी भइरहेको छ,’ उनले भने । अहिले कर्जा विस्तारका लागि कुनै नयाँ माग सिर्जना नभएको उनले बताए ।

समग्रमा वाणिज्य बैंकहरूले कर्जा विस्तार र असुली दुवैमा चुनौती सामना गरिरहेको बैंकरहरूको भनाइ छ । पछिल्लो समय ब्याजदर घटेर कर्जाको किस्ता भुक्तानीका लागि केही सहज भए पनि ऋणीहरू कर्जा तिर्न तयार नभइरहेको अवस्था छ । साथै साना ऋणीहरू कर्जा तिर्ने अवस्थामा नरहेको बैंकरहरूको बुझाइ छ । अहिले रेमिटेन्स बढिरहेका कारण निक्षेप पनि बढिरहेको छ । साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्ताले सरकारको ऋणपत्रमा लगानी नगरेर पैसा बैंकमै राखेकाले पनि निक्षेप बढी देखिएको हो ।

राष्ट्र बैंकका अनुसार असार १६ सम्ममा वाणिज्य बैंकहरूको निक्षेप ६३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । असार १५ को तुलनामा असार १६ मा १० अर्ब रुपैयाँ निक्षेप थपिएको तथ्यांकमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्