घाँसका बिरुवा बेचेर मासिक ७ लाख आम्दानी

दाङ– एक युवाले घाँस बेचेर राम्रो आम्दानी गर्दै आएका छन् । लमही नगरपालिका–२ बरुवागाउँ निवासी ४१ वर्षीय सुरजलाल चौधरीले घाँसका बिरुवा बेचेर राम्रो आम्दानी गर्दै आएका हुन् । चौधरी पेशाले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता (जेटिए) हुन् । पेसाले गाउँघरमा गाई, भैंसी, बाख्रा, भेडालगायत पशुको उपचारमा लाग्नु पर्ने भएपनि चौधरी पछिल्लो समय घाँससँगै बिरुवा उत्पादनमा लागेर राम्रो आम्दानी लिन थालेका छन् ।
बरुवागाउँमा व्यावसायिक रुपमा घाँसको बिरुवा उत्पादन गर्दै आएका चौधरीले सिजनमा आठ लाखसम्म बिरुवा बिक्री गर्दै आएको बताउँछन् । दुई कट्ठा जग्गाबाट २०६९ सालदेखि घाँसका बिरुवा उत्पादनमा लागेका चौधरीले घाँसका बिरुवा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले दुई विगाह चार कट्ठा जग्गामा ११ प्रकारका घाँसका बिरुवा उत्पादन गर्दै आएका छन् ।
सुरज डाले तथा भुइघाँस फर्म दर्ता गरेका चौधरीले किम्बु, नेपिएर, इपिल, बकाइना, रेड नेपिएर, सुपर नेपिएरलगायत विभिन्न प्रजातिका घाँसका बिरुवा उत्पादनसँगै विभिन्न जिल्लामा बिरुवा निर्यात गर्दै आएका छन् । उनका अनुसार व्यावसायिक रुपमा गाई, भैंसी, बाख्रापालनका लागि पोषणयुक्त घाँस मानिने भएकाले बिक्रीमा समस्या छैन । बाह्रै महिना सिँचाइ हुने खेतमा घाँस खेती गर्दा घरदेखि समाजका अगुवाले खिसिटिउरी गर्ने गरेका थिए ।
चितवन र कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेबाट बिउ ल्याएर दाङमा घाँसका बिरुवा उत्पादन गरेका चौधरीले जिल्लाका विभिन्न पालिकासँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका ठाउँमा घाँसका बिरुवा बिक्री गर्दै आएका छन् । घाँसको बिरुवा बिक्री गरेर वर्षमा १४–१५ लाखसम्म कारोबार गर्ने गरेका चौधरीले १२/१३ जनालाई रोजगारीसमेत दिएका छन् ।
बिरुवा रोप्दादेखि कामदार लगाउन लाग्ने सबै खर्च कटाएर सिजनमा ७ देखि ८ लाखसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । घाँस खेती हुने जमिनमा वर्षाको समयमा धान उत्पादनसमेत लिँदै आएको उनले बताए । चौधरीले भने, ‘घाँस उत्पादन बाह्रै महिना गर्ने खेती होइन, पुस महिनादेखि असार–साउनसम्म खेती गरेर आम्दानी लिन सकिन्छ, त्यसपछि त्यही जमिनमा धानसमेत रोप्ने गरेको छु ।’
उनले वर्षाको समयमा घाँस रोप्ने भएकाले हिउँदमा बिरुवा उत्पादन गर्नुपर्ने बताउँछन् । पुसमा बिरुवा राख्ने र असार साउनमा बिक्री गर्ने गरेका छन् । पशुपालन गर्ने किसानबाट घाँसको राम्रो माग हुने गरेको उनी बताउछन् । चौधरीले भने,‘घाँसका बिरुवाको राम्रो माग छ । जिल्लाभित्र र बाहिरबाट माग आउने गरेको छ ।’ घाँसको जात अनुसार चार रुपैयाँदेखि २० रुपैयाँसम्म प्रतिबोटका दरले बिक्री हुने गरेको बताउँछन् ।
घाँसका बिरुवा बिक्री गरेर ढलान गरेको घरसमेत बनाइ सकेका छन् । यसैबाट भएको आम्दानीले घर व्यवहारसमेत चलाउने गरेको उनको भनाइ छ । चौधरीले सुपर नेपिएर ८० हजार, रेड नेपिएर ९५ हजार गरी ११ प्रजातिका छ लाख भन्दा बढी बिरुवा उत्पादन गरेको बताउँछन् । उत्पादन गरिएको घाँसको बिरुवा बिक्रीमा समेत समस्या नभएको उनले बताए । उत्पादन भएकामध्ये करिव ६० देखि ७० प्रतिशत बिक्री भइसकेको बताउँछन् ।
जेटिए अध्ययन गरेपछि सुरुमा हेफर इन्टरनेशनल संस्थामा जागिर गरेका चौधरीले त्यही काम गर्दा देखेकाले आफूले पनि घाँसको बिरुवा उत्पादन थालेको बताउँछन् । घाँसका बिरुवा उत्पादनका लागि गाउँमा सिँचाइको राम्रो व्यवस्था भएकाले खेती गर्न सजिलो हुने गरेको बताउँछन् । पशु प्राविधिकको चार हजारको जागिर छोडेर घाँस खेतीमा लागेका चौधरीले अहिले नामसँगै राम्रो पैसासमेत आम्दानी गर्दै आएका छन् ।