सम्झौता भएको एकै वर्षमा पुलमा गुड्यो गाडी

दोलखा– देशभर सडक पुलहरु कतै अलपत्र परेका त कतै निर्माणकै चरणमा भाँचिएका खबर आएका छन् । सरकारी ठेक्का लिएर समयमा काम नभएर अलपत्र परेका योजनाका बारेमा आउने समाचार आजभोली सामान्य लाग्छ । समयमा सरकारी पुँजीगत खर्च नहुँदा देशको अर्थतन्त्रमा समेत असर पर्ने गरेको छ । यस्तै निराशाको भीडमा आशालाग्दो समाचार पनि छ ।
पूर्वाधार विकास कार्यालय दोलखाले ठेक्का लगाएका २ वटा पुलमा सम्झौता भएको एकै वर्षमा गाडी चलेको छ । दोलखाकै दुर्गम गाउँको रुपमा चिनिने विगू गाउँपालिका–६ र ७ पेगू खोलामा निर्माणाधिन २ वटा पुलमा गाडी चलेका हुन् । पेगू खोलाको गगलते र विगू खोला तर्ने पक्कि पुलमा एक महिना अघिदेखि गाडी सञ्चालनमा आएको हो । पूर्वाधार विकास कार्यालय दोलखासँग २०८१ असार २० गते हिमाली/भीमेश्वर जेभीले ६ करोड ५५ लाख ५२ हजार ६२४ मा पूरा गर्ने गरी सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्रबन्ध निर्देशक युधिष्ठिर खड्काले पुलको वारीपारीको ग्याविन, नाली र लिंक सडकका केही काम बाँकी भएपनि वर्षात्का कारण खोलामा पानीको सतह बढेकाले गाडी पुलबाट सञ्चालन गर्न दिएको बताए । ‘अब यहाँ खोलाको कारण गाडी रोकिनु पर्दैन’ उनले भने, ‘हाम्रो ठेक्काको म्याद पुस मसान्तसम्म छ, अहिले वर्षात्का कारण काम गर्न नसकिने भएकाले रोकेका छौं ।’ पुल एक महिना मात्रै काम गर्दा पूरा गर्न सकिने अवस्था भएपनि वर्षात् सकिएपछि पूल पूरा गरेर कार्यालयलाई हस्तान्तरण गर्ने उनले बताए ।
आरसीसी टी गर्डर प्रकृतिको पुलको लम्बाइ २५ मिटरको रहेको छ । त्यसैगरी सोही खोलाको विगू गाउँपालिका–६ मा रहेको पेगू खोलाको काम पनि तीव्र गतिमा भएको छ । यो पुलको पनि स्ल्याब ढलान पूरा गरी वारीपारी सडकसँग जोड्ने काम जारी छ । यसमा पनि २–३ दिनमा गाडी गुड्नयोग्य हुने निर्माण व्यवसायीले जानकारी दिए । २०८१ असार १ गते सम्झौता भएको पुलको म्याद भने १८ महिनाको छ । ५ करोड ९८ लाख ७२ हजार ९७४ रुपैयाँमा सम्झौता भएको पुलको लम्बाइ २५ मिटर नै छ ।
वर्षातका कारण पुलमा गाडी चल्ने बनाएपछि काम रोकिने व्यवसायीले बताएको छ । पुल जीवन/मैया/भूमि जेभीले निर्माण गरिरहेको छ । पूर्वाधार कार्यालय चरिकोटका प्रमुख हरिप्रसाद ओझाले दुवै पुलको काम अपेक्षाभन्दा तीव्र गतिमा काम भएको भन्दै खुशी व्यक्त गरे । दुवै पुलको काम ८५ प्रतिशत छ । उनले पूर्वाधार कार्यालय दोलखाले ठेक्का लगाएका सबै ठेक्काको प्रगति राम्रै भएको बताए ।
एक वर्ष अघि सिन्धुपाल्चोकबाट दायित्व सरेका ठेक्कामा भने अझै समस्या रहेको बताए । यसअघि दोलखाको गौरीशंकर गाउँपालिका–१ र ३ मा रहेको झ्याँकु खोलामा ठेक्का सम्झौताको एक वर्ष नपुग्दै पक्की पुल तयार भएको थियो । १८ महिनाको सम्झौता भएपनि ७ महिना अघि नै सम्पन्न भएपछि कामको प्रगतिको भुक्तानीका लागि कार्यालयले रकामान्तर गरेर भुक्तानीका लागि माथिल्लो निकायको सहमति लिएको छ ।