Logo

मादीमा तेस्रो सन्तान जन्माए ५० हजार

पोखरा– कास्कीको मादी गाउँपालिकाले तेस्रो सन्तान जन्माउने दम्पतीलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरेको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाले यो घोषणा गरेको हो ।

पालिकामा स्थायी बसोबास गर्ने दम्पतीले यो रकम पाउनेछन् । त्यसैगरी २० वर्ष पुगेर मात्र विवाह गर्ने दलित महिलालाई पालिकाले १५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकामा बढ्दै गएको न्यून जन्मदर बढाउन र यसबाट पर्न गएको ऋणात्मक जनसंख्या वृद्धिदरलाई रोक्न यस्तो ‘अफर’ ल्याइएको हो ।
वडाध्यक्षको सिफारिसमा गाउँपालिकाले शिशुको नाममा बैंक खाता खोली यो रकम जम्मा गरिदिने गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले जानकारी दिइन् । बालिग भएपछि भुक्तानी लिन मिल्ने गरी बैंक खातामा गाउँपालिकाले रकम जम्मा गर्ने व्यवस्था मिलाइने गुरुङले बताइन् ।

यसैगरी कलिलै उमेरमा विवाह गर्ने प्रचलन रोक्न दलित समुदायका युवतीले २० वर्ष पूरा भएपछि बिहे गरेमा गाउँपालिकाले प्रोत्साहनस्वरुप १५ हजार रुपैयाँ प्रदान गर्ने मादी गाउँपालिका–७ की वडाध्यक्ष दुर्गा गुरुङले बताइन् ।

गाउँसभामा उपाध्यक्ष गुरुङले आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आवका लागि ६० करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ । चालुतर्फ १४ करोड ३० लाख, वडाको बजेट सीमा १९ करोड २० लाख, शाखाको बजेट सीमा १८ करोड ८० लाख प्रस्ताव गरिएको छ । पालिकाले कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र आउँदो वर्षको लागि अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि मादी गाउँपालिकामा दुई पार्टी निकटका गाउँसभा सदस्यहरुबीच विवाद हुँदा गाउँसभा स्थगित भएको थियो । नीति तथा कार्यक्रम असार ९ गते नै प्रस्तुत भए पनि बजेट प्रस्तुत हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्