Logo

अमेरिका र इयुबीचको व्यापार युद्ध

विश्वमा क्षेत्रीय आर्थिक एकीकरणमा उदाहरण प्रस्तुत गरेका २७ देशको समूह युरोपियन युनियनको अर्थव्यवस्था कोभिड महामारीको असरले उक्लिन नपाउँदै रुसले युक्रेनमाथि गरेको आक्रमणले अरू थला पर्न बाध्य बनायो र अहिले ट्रम्पको महसुल नीतिले अरू थला पर्ने निश्चितप्रायः भएको छ । अमेरिकाको प्रमुख व्यापार साझेदारहरूमध्ये युरोपियन युनियन महत्वपूर्ण साझेदार हो । समग्र हिसाबमा अमेरिकापछिको विश्वको ठूलो अर्थव्यवस्था इयुको हो । इयु उदारवादमा आधारित अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा विश्वास राख्ने देशहरूको समूह हो भने अहिले अमेरिका संरक्षणवादमा लागेका कारण यो युद्ध सुरु भएको हो ।

अमेरिकाले अप्रिल २ मा घोषणा गरेको विभिन्न दरका महसुल लगाउने सूचीमा युरोपियन युनियनका देशहरूलाई एकमुस्ट ५० प्रतिशत महसुल लगाउने भएको छ । अमरिकाले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा ५० प्रतिशत र कारहरूमा २५ प्रतिशत महसुल लगाउने भएको छ । विगतमा पनि कृषिलाई अनुदान दिने विषयमा यी दुईका बीचमा धेरै मतभेद हुने गरेको पाइन्छ । ९० दिनका लागि बढेको यो महसुल अहिले स्थगित गरिएकाले जुलाई ९ सम्ममा इयुले अमेरिकासँग सम्झौता गर्न सक्नुपर्छ र यदि नगरेको हकमा महसुल लागू हुने निश्चित छ । इयुका देशले भने अमेरिकाले लगाउने भनिएको ५० प्रतिशत महसुललाई वार्तामा मोलमोलाइ गर्ने दरका रूपमा लिइरहेको देखिन्छ ।

रयुटर समाचार एजेन्सीका अनुसार अमेरिका र इयुको बीचमा सन् २०२३ मा ८ सय ५१ अर्ब युरोबराबरको व्यापार भएकोमा इयुले ५ सय ३ अर्ब युरोबराबरको निर्यात गरेको र अमेरिकाले इयुमा ३ सय ४७ अर्ब युरोबराबरको सामान निर्यात गरेको देखिन्छ । यसबाट इयुको पक्षमा १ सय ५७ अर्ब युरोबराबरको व्यापार बचत भएको देखिन्छ । सेवाको व्यापार अमेरिकाले इयुमा ७ सय ४८ अर्ब युरोबराबरको सेवा निर्यात गरेको देखिन्छ भने इयुले अमेरिकामा ४ सय २७ अर्ब युरोबराबरको सेवा निर्यात गरी इयुको सेवाको व्यापार घाटामा रहेको देखिन्छ । अमेरिकाको सेवा उद्योगको महत्वपूर्ण ग्राहक भनेको इयुका उपभोक्ता हुन् । सेवा उद्योगतर्फ खास गरेर प्रविधि, वित्त र यात्रासम्बन्धी उद्योग पर्छन्, जसमा अमेरिकाको अर्थव्यवस्था धेरै निर्भर रहेको छ ।

इयुले आफ्नो कुल निर्यातको करिब २० प्रतिशत निर्यात अमेरिकामा गर्छ भने अमेरिकाले पनि इयुमा त्यत्तिकै मात्रामा निर्यात गर्छ । इयुभित्र नै २७ देशको कुल वैदेशिक व्यापारमा सेवासहित गणना गर्दा ७० प्रतिशत व्यापार हुने गरेको छ, जसलाई क्षेत्रीय व्यापारमा विश्वकै सबैभन्दा उच्चतम मूल्यांकन गरिएको छ । यसले गर्दा इयु पनि ट्रम्पको फोहोरी–१५ को सूचीमा पर्छ । इयुले आफ्नो कुल निर्यातको करिब २० प्रतिशत निर्यात अमेरिकामा गर्छ भने अमेरिकाले पनि इयुमा त्यत्तिकै मात्रामा निर्यात गर्छ । अमेरिकाले इयुबाट सवारी साधन र औषधि, यसको इन्ग्रिडियन्ट्स, उच्चस्तरका मेसिन उपकरण र अन्तरिक्षका लागि चाहिने सामग्री आयात गर्छ भने इयुले अमेरिकाबाट सेवाहरू बढी आयात गर्ने गरेको पाइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार इयुले ट्राइड एन्ड ट्रु नीति अपनाएको पाइन्छ । इयुको गैरभन्सार अवरोध र करका नीतिले गर्दा अमेरिका र इयुको बीचमा व्यापार हुँदा अमेरिकाले सधैँ व्यापार घाटा बेहोर्नुपरेको दाबी अमेरिकीहरूमा रहेको छ । अरू देशहरूलाई जस्तै इयुलाई पनि अमेरिकाले आफ्नो लाभका लागि गठन गरिएको र यसले अमेरिकालाई शोषण गरिरहेको कुरामा विश्वस्त देखिन्छ । अमेरिकीहरू इयुको खाद्यान्न स्तर नियमलाई संशोधन गरोस्, जसबाट अमेरिकी गाईको मासु इयुमा निर्यात गर्न सकियोस् भन्ने चाहन्छन् । इयुको खाद्य सुरक्षासम्बन्धी नियम अमेरिकाको भन्दा कडा देखिएको छ । यो नियमले गर्दा अमेरिकाले गाईको मासु र अरू खाद्यान्न इयुमा निर्यात गर्न सकिरहेको छैन ।

यसका साथै ढुवानी लागत बढी परे पनि इयुले अमेरिकाबाट प्राकृतिक ग्याँस बढी आयात गरोस् भन्ने चाहना अमेरिकीहरूले राखेको पाइन्छ । अमेरिकीहरू इयुलाई उनीहरूको सेवासम्बन्धी नियमावली पनि परिवर्तन गर्न दबाब दिइरहेका छन् । ट्रम्प प्रशासनले इयुलाई उसको मूल्य अभिवृद्धि कर खारेज गर्न र डिजिटल सर्भिस ट्याक्स हटाउन कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी रिपोर्टिड स्तर, खाद्य स्तरसम्बन्धी नियमावली संशोधन गर्न दबाब दिइरहेको छ, जुन इयुले स्वीकार गरेको छैन । इयुले अमेरिकालाई औद्योगिक वस्तुमा दुवै पक्षले महसुल नलगाउने प्रस्ताव पनि गरेको थियो र अमेरिकाले यो प्रस्ताव मान्न अस्वीकार गर्‍यो । अमेरिकाले इयुलाई आफूकहाँबाट ३ सय ५० अर्ब अमेरिकी डलरबराबरको प्राकृतिक ग्याँस किन्न प्रस्ताव गरेको थियो ।

एक अध्ययनअनुसार यो युद्धले इयुलाई सुस्ततातर्फ लैजाने आकलन गरिएको छ । अमेरिकाले आयरल्यान्ड र इयुबाट आयात हुने सामानमा ५० प्रतिशत महसुल लगायो भने आयरल्यान्ड र इयुका देशहरूको कुल राष्ट्रिय उत्पादनमा ४ प्रतिशत गिरावट आउनेछ । यसले युरोपका ठूला अर्थतन्त्रहरू जस्तै जर्मनीको कुल गार्हस्थ्य उत्पादनमा १.५ प्रतिशतले, इटालीको १.४ प्रतिशत, फ्रान्सको ०.७६ प्रतिशत र स्पेनको ०.५० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । अर्थशास्त्रीहरूले एउटा कुरामा ध्यान आकृष्ट गरेको पाइन्छ । सन् २००८ तिरको अवस्था हेर्ने हो भने अमेरिका र इयुको अर्थव्यवस्थाको आकार उत्रै थियो, तर अहिले आएर इयुको अर्थव्यवस्था अमेरिकाको भन्दा सानो भइसकेको छ ।

इयुको साझा कृषि नीति र इयुभित्र लागू भएको मूल्य अभिवृद्धि कर अहिले अमेरिका र इयुबीचको व्यापार युद्ध चर्काउने खालको विषय बनेको छ । अमरिकाले इयुबाट आयात हुने स्टिल र आल्मुनियममा ५० प्रतिशत र कारमा २५ प्रतिशत महसुल लगाउने भएको छ । यो महसुल कार्यान्वयनमा आयो भने अमेरिकासँगको व्यापारबाट इयुलाई गैरइयुलाई भन्दा बढी घाटा हुने अनुमान गरिएको छ । इयुका कार कम्पनी, स्टिल र आल्मुनियम, कारका पार्ट्स निर्माण गर्ने, औषधि उद्योग, सेमी कन्डक्टर निर्माता र ट्रक उद्योग ट्रम्पको महसुल वृद्धिबाट धेरै प्रभावित हुने ठानिएको छ । स्टिल, आल्मुनियम र कार उद्योगको करिब २६ अर्ब युरोबराबरको निर्यात यो महसुलका कारणले प्रभावित हुने अनुमान गरिएको छ ।

अहिलेसम्मको व्यापार वार्तामा इयु क्यानडा र मेक्सिकोको पंक्तिमा रहेको पाइन्छ । कोभिड संक्रमणपछि पनि धेरै अर्थशास्त्रीले युरोपलाई अमेरिकाको जस्तो आर्थिक नीति अपनाउन नहुने कुरामा जोड दिँदै आएका थिए । इयुलाई बढी कर्मचारीतन्त्रमा विश्वास गर्ने भएकाले त्यहाँ अमेरिकामा जस्तो ठूला–ठूला सूचना प्रविधिका कम्पनी नभएको पनि धेरै विज्ञको राय भएको पाइन्छ । इयुले यदि अमेरिकी महसुल दर १० प्रतिशत मात्र भएको अवस्थामा आफ्नो प्रतिस्पर्धी अवस्थामा कुनै परिवर्तन नआउने ठानिरहेका छन् । अमेरिका इयुमा जेनेटिकली उपचार गरिएको खाद्यान्न र हार्मोन उपचार गरेको गाईको मासु निर्यात गर्न चाहन्छ, जुन इयुको खाद्यसम्बन्धी नियमले रोक लगाउँछ । इयुले अमेरिकाले भन्दा यसमा बढी होसियारी र नियन्त्रणात्मक उपायहरू अपनाएको पाइन्छ । इयुमा भन्दा बढी अमेरिकामा अनुसन्धान र विकासमा खर्च बढी हुने भएकाले धेरै औषधिको प्याटेन्ट राइट पनि युरोबाट अमेरिकामा सरेको पाइन्छ । यदि अमेरिकाले इयुबाट निर्यात हुने सवारी साधन, खाद्य पदार्थ र मोटर पार्ट्समा महसुल लगाएको खण्डमा इयुले पनि अमेरिकाबाट आयात हुने सेवामा कर लगाउने चेतावनी दिइरहेको छ ।

नेदरल्यान्डको हेगमा भएको अन्तर्राष्ट्रिय अपराध अदालतले इजरायलका प्रधानमन्त्रीलाई गाजा क्षेत्रमा गरेको आक्रमणका कारणले युद्ध अपराधी घोषणा गरेपछि ट्रम्प निकै आक्रोशित भएका छन् र सो अदालतलाई डिजिटल सेवा माइक्रोसफ्टले उपलब्ध गराउँदै आएको थियो । ट्रम्पको आदेशपछि माइक्रोसफ्टले तत्काल कारबाही गरेपछि युरोपका डिजिटल सेवाग्राहीहरू निकै तनावमा परेका छन् । सिनर्जी अनुसन्धान केन्द्रका अनुसार गुगल, अमेजन माइक्रोसफ्ट र अरू अमेरिकाको डिजिटल कम्पनीहरूले युरोपको क्लाउड कम्प्युटिङमा ७० प्रतिशत हिस्सा ओगटेको छ, जुन फाइल स्टोर गर्न, डाटा रिट्राइभ गर्न र अरू कार्यहरूका लागि निकै आवश्यक हुन्छ । यो मुद्दा अमेरिका र इयुको बीचमा भइरहेको व्यापार वार्तामा पनि देखा परेको छ । इयुका डिजिटल नियामक निकायको कामगराइ र डिजिटल करसम्बन्धी प्रावधानप्रति अमेरिकाले विरोध जनाउँदै आएको पाइन्छ ।

इयुले स्टिल र आल्मुनियममा अमेरिकाले लगाउने भनिएको महसुलको बदलामा अमेरिकाबाट आयात हुने सेवामा कर लगाई बदला लिइसकेको छ र अब कारमा २५ प्रतिशत महसुल लाग्ने भएमा त्यसमा पनि बदलास्वरूप थप महसुल लगाउने सोचमा इयु रहेको देखिन्छ । विगतमा पनि अमेरिकाले डिजिटल सर्भिसमा इयुले कर लगाएपछि अमेरिकाले फ्रान्सबाट आयात हुने रक्सीमा २ सय प्रतिशतसम्म महसुल लगाएको तीतो अनुभव नभएको होइन ।

बेलायतबाट प्रकाशित इकोनोमिस्ट पत्रिकाका अनुसार इयुले अमेरिकाको यो महसुल नीतिबाट पर्ने प्रतिकूल असरलाई कम गर्न विभिन्न उपाय कार्यान्वयनमा ल्याएको छ । अमरिकाको यो महसुल नीतिले गर्दा प्रभावित हुने निर्यातकर्ताहरूलाई अनुदान उपलब्ध गराउनेतर्फ पनि पाइला चालेको छ । चीनसँगको इयुको व्यापारमा मानव अधिकार, राशि पतन र विद्युतीय सवारी साधनलाई बढी सरकारी अनुदान दिएको जस्ता विषयहरू समाधान हुन बाँकी छ । यसले गर्दा इयुले युरोपभित्रका अरू देश तथा जापान, भारत र दक्षिण पूर्वी एसियाका देशहरूसँग व्यापार सम्बन्ध बढाउनेभन्दा अरू उपाय रहेको देखिँदैन ।

अमेरिका र इयु दुवै विश्वका ठूला अर्थव्यवस्था हुन् । यिनीहरूबीचको व्यापार युद्धले एकातिर विश्वको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा प्रतिकूल असर स्वाभाविक रूपमा पर्छ भने अर्कातिर अमेरिका र इयुका देशहरूमा पूर्तिसिक्रीमा अवरोध आई मुद्रास्फीति बढ्ने आशंका हुन्छ । त्यसकारण यसलाई यथाशक्य चाँडो समाधान गर्नु अमेरिका र इयुका लागि मात्र होइन, विश्वकै लागि हितकर हुन्छ । बेलायतसँग अमेरिकाले व्यापारिक सम्झौता गरिसकेको र चीनसँग पनि व्यापार सम्झौता अन्तिम चरण पुर्‍याइसकेकाले अब इयुलाई यो सम्झौता वार्ता छिटो टुङ्ग्याउन दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्