Logo

फलफूल खेती प्रोत्साहन गर्दै सहकारी

दोलखा– सेयर सदस्यलाई बचत तथा ऋण परिचालनको मात्रै प्रोत्साहन गर्दै आएको चरिकोटको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले १ हजार ५ सय कफीका बिरुवा वितरण गर्‍यो । भीमेश्वर नगरपालिका ५ को कात्तिके, बिरुवा, घोक्सिला र किराँतीछाप क्षेत्रमा व्यावसायिक कफी खेती विस्तारका लागि कफीका बिरुवा वितरण गरेको हो ।

सेयर सदस्यहरुको सहभागितामा किराँतेश्वर अर्गानिक कफी समूह निर्माण गरी भीमेश्वर नगरपालिकामा दर्ता गरी काम सुरु गरेको सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । सदस्यहरुलाई कफी खेती सम्बन्धी आधारभूत तालिम भीमेश्वर नगरपालिका तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको प्राविधिक सहयोगमा सम्पन्न गरेको छ ।

तालिमपछि निर्माण गरिएको कार्य योजना अनुसार प्रारम्भिक चरणमा १४ रोपनी जग्गामा व्यावसायिक खेती गर्ने उद्देश्यले सहकारीको ५० प्रतिशत अनुदानमा किसानलाई एक हजार पाँच सय वटा कफीको बिरुवा वितरण गरेको छ । नगर प्रमुख ईश्वरनारायण मानान्धरले कफीको व्यावासायिक खेती र बजारीकरणका लागि सहयोग गर्न तयार भएको बताए ।

परम्परागतभन्दा आधुनिक र व्यावसायिक खेतीका लागि केही ठूलो परिमाणमा खेती गर्न किसान तयार हुनुपर्नेमा उनको जोड छ । उद्यमी तथा व्यावसायिक सदस्य बनाउने उद्देश्यले कफी पकेट क्षेत्र तयार गरेको छ । हरेक वर्ष यस्ता २ सय जना व्यवसायिक सेयर सदस्य बनाउने सहकारीको लक्ष्य छ ।

बिरुवा हुर्काउन ७५ रुपैयाँ
दोलखाकै मेलुङ गाउँपालिका–६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था र कालिञ्चोक गाउँपालिका–८ मा रहेको हाम्रो साना किसान कृषि सहकारी संस्थाले आ–आफ्ना सेयर सदस्यलाई फलफूलका बिरुवा वितरण गरेका छन् । बिरुवा रोपेका किसानलाई हरेक बिरुवा हुर्काउन सहकारीमार्फत ७५ रुपैयाँ खर्च उपलब्ध गराउने छ ।

‘२ वर्षसम्म गोडमेल, मल र सिंचाइको व्यवस्था गरेर रेखदेख गरे बिरुवा हुर्किन्छ’ हाम्रो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष होम पाठकले भने, ‘लापरवाही गरे बिरुवा मर्ने वा सोचे अनुसार नहुर्कने भएकाले किसानलाई प्रोत्साहन स्वरुप खर्च दिने कार्यक्रम हो ।’ किसानलाई खर्च दिने कार्यक्रम मेलुङ र कालिञ्चोक दुवै गाउँपालिकामा लागू हुने उनले जानकारी दिए ।

कालिञ्चोक गाउँपालिका–७, ८ र ९ मा २४ हजार बिरुवा वितरण हुने अध्यक्ष पाठकले जानकारी दिए । बाँझो रहेका जग्गामा बहुवर्षीय फलफूलका खेतीमार्फत समृद्ध बनाउने गरी हावापानी सुहाउँदो फलफूलका बिरुवा वितरण गरिएको गाउँघर साना किसान कृषि सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।

ग्रीन इन्टेलिजेन्स नामक एक संस्थासँगको साझेदारीमा ब्लक बनाएर दुवै गाउँपालिकामा बिरुवा वितरण गरेको उनले बताए । बिरुवा वितरण गर्नुअघि प्राविधिकहरुको सहयोगमा किसानलाई तालिम दिनुका साथै जग्गा छनौट गरिएको थियो । रोजगारी र आयआर्जन दुवै हुने गरी बिरुवा वितरण गरिएको छ । मलुङमा मात्रे ३२ हजार बिरुवा वितरण भएको छ ।

उनका अनुसार निम, मोरिङा, आँप, लिची, कटहर, टिमुर, एभोकाडो, तेजपता, मेकाडनिट, कटुस, दाँते ओखर, ताइवानी अम्बा र कागतीका बिरुवा वितरण गरिएको छ । आफ्नो जग्गा अनुसार एक जना किसानले न्यूनतम ३० देखि ५ सय वटासम्म बिरुवा रोपेका छन् । बिरुवा हुर्काउन सहकारीले प्राविधिक राखेर नियमित रेखदेख गर्ने र हरेक बिरुवा हुर्काउन किसानलाई ७५ रुपैयाँ खर्चसमेत उपलब्ध गराउने अध्यक्ष पोखरेलले बताए ।

अहिले वितरण गरेका बिरुवाले उत्पादन दिन थालेपछि ती फलफूलको बजारीकरण पनि सहकारीले नै गरिदिने भएको छ । किसानले माग गरे जति बिरुवा उपलब्ध गराउन सकिएपनि रोपेका बिरुवा उर्काउनु पर्ने किसानको दायित्व रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्