कास्कीका ४ पालिकाको बजेट १० अर्ब १६ करोड

कास्की– कास्कीका ४ वटा पालिकाको बजेट १० अर्ब १६ करोड ६९ लाख रहेको छ । मादी गाउँपालिकाबाहेक पोखरा महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेका हुन् । पोखरा महानगरपालिकाले १७औं नगरसभामा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कास्कीका अन्य पालिकाभन्दा बढी वडासहित जनसंख्या भएकाले महानगरको बजेट बढी रहेको छ ।
रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ५५ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम सार्वजनिक गरिन् । यस्तै अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७७५ को बजेट मंगलबार आयोजित गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले सार्वजनिक गरेकी हुन् ।
माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ । कास्कीका ५ पालिकामध्ये ४ पालिकाले समयमै असार १० गतेभित्रै बजेट ल्याएका छन् भने मादी गाउँपालिकाले अझै बजेट ल्याउने विषयमा अन्यौल भएको वडा नं–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले बताए । अध्यक्ष देवीजंग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङसहितको संयुक्त बैठक बसेर बजेट ल्याउने विषयमा छलफल हुने उनले बताए ।
मादी गाउँपालिका पालिका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले असार ९ गते सूचना जारी गरेर गाउँसभाको १७औं अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए । यसैबीच, मादी गाउँपालिकाले करिब ५९ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । हालसम्म करिब ५० प्रतिशत मात्र खर्च गरेको पालिकाले झण्डै ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ ।