Logo

जुम्लाका आठ पालिकाको बजेट ३ अर्ब ३२ करोड

जुम्ला– जुम्लाका सबै स्थानीय तहले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएका छन् । एक नगरपालिका र सात गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि, शिक्षा, उद्यमशीलता, पूर्वाधार विकास र रोजगारी वृद्धिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

आठ पालिकाले तीन अर्ब ३१ करोड ९३ लाख बरारको बजेट ल्याएका छन् । सबैभन्दा बढी चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ । उपप्रमुख रामदेवी खड्काले हिंसा पीडित महिलाको राहत उद्दार तथा पुर्नस्थापनका लागि सेफ हाउस निर्माण गर्नेदेखि उत्पादन बढाउने जस्ता नीतिलाई जोड दिएर ६१ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।

त्यस्तै तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाख ८२ हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ३४ करोड १४ लाख र पुँजीगत खर्चतर्फ १७ करोड ४५ लाख विनियोजन भएको उपाध्यक्ष रेवती रावलले बताइन् । विदेशबाट फर्किएकालाई सहुलियत कर्जा तथा निरब्याजी ऋण दिने, अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने, सय वटा भेडा पालेका किसानलाई मासिक भत्ता दिने जस्ता नयाँ नीति ल्याइएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

उनका अनुसार अध्यक्षकोषमार्फत जुम्लाका पत्रकारहरुको प्रोत्साहनका लागि ५ लाखसमेत विनियोज भएको छ । यसैगरी कृषि शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै तिला गाउँपालिकाले ५१ करोड ३९ लाखको बजेट ल्याएको छ । उपाध्यक्ष गोरीकला बुढाका अनुसार चालूतर्फ ३४ करोड ५३ लाख र पुँजीगततर्फ १६ करोड ७८ लाख विनियोजन भएको छ ।

उता हिमा गाउँपालिकाले आफ्नै सार्वजानिक बस सञ्चालन गर्ने, खानेपानी तथा वातावरण संरक्षणमा जोड दिँदै ४० करोड २ लाख बराबरको बजेट विनियोजन भएको अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । त्यस्तै सिंजा गाउँपालिकाले ४७ करोड, २२ लाखको बजेट ल्याएको छ । सिंजा सभ्यताको संरक्षण तथा विकासमा प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।

यस्तै कनकासुन्दरी गाउँपालिकाले कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदौ ५० करोडको बजेट ल्याएको उपाध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् । पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार ४३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ । गुठिचौर गाउँपालिकाले सबैभन्दा कम ३४ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्