सिमरामा औद्योगिक प्रदर्शनी

बारा– पर्यटकीय विकास गर्न सिमरामा औद्योगिक प्रदर्शनी गरिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशले आयोजना गरेको एक्स्पोमा पर्साको ठोरीदेखि जनकपुरसम्मका स्थानीय प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीय स्तरमा उत्पादित वस्तु, कला, संस्कृतिलाई प्रमुख आकर्षणका रूपमा प्रदर्शनी गरिएको थियो ।
एक्स्पो स्थलमै अवलोकनकर्ताबीच भएको छलफलमा स्थानीय स्रोतमा सञ्चालित उद्योग तथा बारा–पर्सा औद्योगिक क्षेत्रमा व्यावसायिक आइडिया र उद्यमशलीतालाई मधेशको पर्यटनमा कसरी जोडन सकिन्छ भन्ने मुख्य विषयमा भने कम मात्रै चर्चा भएको थियो । छलफलअघि प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहले मधेशमा पर्यटन प्रवर्द्धनका बृहत योजनासहित आव २०८२/८३ को वार्षिक बजेटमा मधेश सरकारले धेरै कार्यक्रम ल्याएको जानकारी गराउँदै ‘घुमौँ मधेश, बुझौँ प्रदेश’ले व्यापकता पाउनेमा आफू ढुक्क बनेको बताए ।
पर्यटन विकासमा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको उत्साहपूर्वक सहभागिताले मधेश सरकारको आयोजनामा हुने ‘भिजिट मधेश २०८३’ सफल बन्ने र मधेशको स्थानीय अर्थतन्त्रमा एक्स्पोले टेवा पुर्याउने बताए । उपकुलपति डा दीपक शाक्यले ‘कृषि र मधेश’ पर्यटनको मुख्य प्याकेज बन्नु पर्ने धारणा राखे । उनले वर्तमान समयमा क्रस बोर्डर पर्यटन बलियो बन्दै गएकोले हस्पिलाटी अझै नपुगेको धारणा राखे ।
सातै प्रदेशमा कान्छो संस्थाका रूपमा स्थापित नाट्टा मधेशले पर्यटन व्यापारको आधार बनाउन गरेको विभिन्न खाले गतिविधिले हिजोको मधेशभन्दा अहिले पर्यटन देशव्यापी बन्दै गएको नाट्टाका पूर्व अध्यक्ष अच्युत गुरागाईले बताए । उनले बारा–पर्सा आएका भारतीय पर्यटक यहाँको औद्योगिक गतिविधि हेरेर सजिलै पोखरा जान सक्ने वातावरण बनाउन यहाँ रहेको सिमरा विमानस्थलबाट पर्यटकीय राजधानी पोखरा जोडने उडान नियमित गराउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।
मधेशका रैथाने शैलीको कृषि उत्पादन प्रक्रिया अहिलेसम्म पनि विशेष प्रकारको रहेको भन्दै सहभागीहरूले यहाँको कृषि उत्पादनको परम्परागत शैली भव्य आकर्षक रहेकोले यसले पर्यटन बजारसम्म पुर्याउनु पर्ने बताए । यहाँका घरेलु आवश्यकताका वस्तुको उत्पादन आफैमा परम्परागत रहेकाले गाउँ घर नै प्रदर्शनी स्थल हो भनेर पर्यटन क्षेत्रले बुझाउँदै व्यावसायिक बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।