चिस्यान केन्द्र निर्माण गर्न ७५ लाख

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिकामा कृषिउपज भण्डारण गर्न निर्माण गरिएको चिस्यान केन्द्रलाई ७५ लाख बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारले अधुरो चिस्यान केन्द्र निर्माण गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि ७५ लाख विनियोजन गरेको हो ।
चापाकोट नगरपालिका–८, क्वामीस्थित ठूलापोखरामा निर्माण सुरु भएको चिस्यान केन्द्र दुई वर्षदेखि बजेट विनियोजन हुन नसकेपछि अलपत्र अवस्थामा थियो । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट निर्माण सुरु भएको चिस्यान केन्द्रलाई हालसम्म थप बजेट विनियोजन हुन सकेको थिएन् ।
गण्डकी प्रदेशका सांसद महेश भट्टराईले चिस्यान केन्द्र अलपत्र भएको र निर्माण पुरा गर्न बजेट विनियोजन गर्न प्रदेश सभामा पटक पटक आवाज उठाउँदै आएका थिए । त्यस क्षेत्रमा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अलुवालगायत कृषिजन्य उत्पादन भण्डार गर्न कृषकको माग अनुसार केन्द्र निर्माण सुरु गरिएको थियो ।
चापाकोटमा केन्द्र निर्माण सुरु भएपछि उत्साही कृषक निर्माण कार्यमा भएको ढिलाइले निरुत्साहीत भएका थिए । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि स्थानीय कृषक पुन: उत्साहित भएका छन् । डीपीआर अनुसार चिस्यान केन्द्र निर्माण गर्न झण्डै २ करोड २२ लाख लाग्ने अनुमान गरिएको छ ।
चिस्यान केन्द्र निर्माण भएपछि चापाकोट र पाल्पाको रामपुर नगरपालिकाका स्थानीय कृषक प्रत्यक्ष लाभान्वित हुने छन् । चापाकोट र रामपुरमा उत्पादन भएको कृषिजन्य वस्तु स्थानीय स्तरमा खपत नभए पोखरा, बुटवल निर्यात हुँदै आएको छ । दुई जिल्लाका उक्त क्षेत्रलाई कृषिजन्य उत्पादनमा उर्वर भूमिका रुपमा लिइन्छ ।