Logo

नौ महिनामा ८० किलोमिटर सडक कालोपत्रे

दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा ८० किलोमिटर सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८० किलोमिटर सडक कालोपत्रे भएको हो । प्रदेश सरकारअन्तर्गत यो मात्रामा सडक कालोपत्रे भएको हो । लुम्बिनी प्रदेश सरकारको सर्वेक्षणको प्रतिवेदन अनुसार यस अवधीमा ७२ किलोमिटर सडक ग्राभेल भएको छ भने १७२ किलोमिटर कच्ची सडक निर्माण भएको छ ।

चैत मसान्तसम्म कालोपत्रे, ग्राभेल र कच्ची सडक गरेर ३२४ किलोमिटर सडक निर्माण भएको छ । प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा १९४ किलोमिटर सडक कालोपत्रे, २७० किलोमिटर ग्राभेल र ४१५ किलोमिटर कच्ची गरी ८८९ किलोमिटर सडक निर्माण भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २०२ किलोमिर कालोपत्रे, २६५ किलोमिटर ग्राभेल र ३९६ किलोमिटर कच्ची सडक निर्माण गरी जम्मा ८६६ किलोमिटर सडक निर्माण भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २३१ किलोमिटर कालोपत्रे, ३३४ किलोमिटर ग्राभेल र २७६ किलोमिटर कच्ची गरी ८४१ किलोमिटर सडक निर्माण भएको प्रदेश आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १५० किलोमिटर कालोपत्रे, २१० किलोमिटर ग्राभेल र २४९ किलोमिटर कच्ची सडकसहित ६०९ किलोमिटर सडक निर्माण भएको थियो ।

२५ वटा मोटरेवल पुल निर्माण
आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म २५ वटा मोटरेवल पुल निर्माण भएका छन् । यस्तै आठ वटा झोलुङग्रे पुल गरी ३३ वटा पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा १७ वटा मोटरेवल पुल र सात वटा झोलुङग्रे पुल गरी जम्मा २४ वटा पुल निर्माण भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ४० वटा मोटरेवल पुल र ११ वटा झोलुङगे्र पुल गरेर जम्मा ५१ वटा पुल निर्माण गरिएको थियो ।

आर्थिक वर्षमा २०७९/०८० मा २९ वटा मोटरेलव पुल र १० वटा झोलुङग्रे पुल गरेर ३९ वटा पुल निर्माण भएका थिए । आर्थिक वर्षमा २०८०/०८१ मा ३९ वटा मोटरेवल पुल र १७ वटा झोलुङग्रे गरी ५६ वटा पुल निर्माण भएका थिए । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधारअन्तर्गत विनियोजित बजेटमध्ये २४.९ प्रतिशत बजेट सडक तथा पुल निर्माणका लागि छुट्याएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा १८.३९ प्रतिशत बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा १८.१५ प्रतिशत बजेट विनियोजन गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा १९.६७ प्रतिशत र आर्थिक वर्ष २०८०/०८१ मा २०.९५ प्रतिशत बजेट विनियोजन गरिएको थियो । अन्य सार्वजनिक निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा ११ प्रतिशत बजेट विनियोजन गरिएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

जुन अघिल्ला वर्षहरुमा भन्दा बढी हो । गैरआवसीय भवन निर्माणमा आर्थिक वर्ष २०८१/०८२ मा ९ प्रतिशत बजेट विनियोजन गरिएको छ । खानेपानी संरचना निर्माणमा ४.२६ प्रतिशत बजेट विनियोज गरिएको थियो । पुँजीगत खर्च सुधार गरेर सार्वजनिक निर्माणमा आर्थिक वर्ष २०८१/०८२ मा ३.८४ प्रतिशत बजेट विनियोजन गरिएको छ । सिँचाइ संरचना निर्माणमा आर्थिक वर्ष २०८१/०८२ मा ३.१३ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्ममा तीन वटा नयाँ एकीकृत बस्ती र विपन्न लक्षित समुदायका लागि नयाँ आवास अन्तगत ११ वटा घर निर्माण भएका छन् । गत आर्थिक वर्षमा चार वटा नयाँ एकीकृत बस्ती र विपन्न लक्षित समुदायका लागि ३९८ वटा नयाँ आवास निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्