भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेतलाई सजाय तोकियो

काठमाडौं (कास)– नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा सजाय तोकिएको छ । असार ७ गते दोषी ठहर भएका बस्नेतलाई सोमबार सजाय निर्धारण गरिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा छुट्टाछुट्टै सजाय निर्धारण गरेको हो । मेयर बस्नेतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको विशेषले ठहर गरेको थियो । अदालतले घुस लिने–दिने दुवैलाई सजायको भागिदार बनाएको छ ।
दामासाहीले दुई करोड ३० लाख ६१ हजार पाँच सय आठ रुपैयाँ जरिवाना हुने, बिगोको दामासाहीले चारै जना प्रतिवादीहरुबाट जनही बिगो बराबरको रकम जफत हुने सजाय भएको छ । विशेषले बस्नेत र कँडेललाई जनही ८ ८ वर्ष कैद सजाय गरेको छ । पदमा बहाल रहेर भ्रष्टाचार गरेको अभियोगमा थप तीन महिना कैद भएको छ ।
यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर भएको छ । यसमा बस्नेतलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ । बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिवाना हुने र सम्पत्ति जफत हुने भएको छ । त्यस्तै, राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरण कसूरमा थप १० प्रतिशत सजाय हुँदा कैदतर्फ थप ३ महिना १८ दिन र जरिवानातर्फ दुई करोड ६२ लाख निर्धारण भएको छ ।
त्यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार बस्नेतबाट एक करोड पाँच लाख एक हजार असुल हुने भएको छ । पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने भएको छ ।