Logo

कास्कीका सुनचाँदी पसल बन्द, करोडौंको कारोबार प्रभावित

पोखरा– कास्कीका सुनचाँदी पसल तीन दिनदेखि बन्द भएका छन् । व्यवसायीले सुनचाँदीका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजी माग गर्दै आन्दोलनस्वरुप शुक्रबारदेखि कास्कीमा पनि पसल बन्द गरेका हुन् । सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न आभूषण संघको संयुक्त आयोजनामा गत शुक्रबारदेखि देशव्यापी सुनचाँदी पसल बन्द भएका छन् ।

सुनचाँदीमा सरकारले लगाएको करविरुद्ध ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा व्यवसायीले आन्दोलन गरिरहेका हुन् । केन्द्रको निर्देशनअनुसार कास्की क्षेत्रमा गत शुक्रबारदेखि सुनचाँदीका पसल बन्द गराइएको महासंघ कास्कीका अध्यक्ष भवीन्द्र विश्वकर्माले बताए । राज्यको नीतिका कारण व्यवसायी र उपभोक्ता मारमा पर्ने हुँदा आन्दोलनमा उत्रिनुपरेको उनको दाबी छ ।

भारतमा एक तोला सुन खरिद गर्दा न्यूनतम १५ प्रतिशतले भ्याटसहित सबै कारोवार गर्न सकिने र सोही सुन नेपालमा कारोबार गर्दा करिब ३० प्रतिशत कर लाग्ने अवस्था सिर्जना भएको अध्यक्ष विश्वकर्माले उल्लेख गरे । पोखरा क्षेत्रका अधिकांश सुनचाँदी पसल अनिश्चितकालका लागि बन्द गरिएको महासंघ कास्कीले जनाएको छ । पोखरा क्षेत्रमा करिब ५ सय सुनचाँदी व्यवसाय रहेका छन् ।

एक दिन सुनचाँदी पसल बन्दा कास्की क्षेत्रमा करोडौंको कारोबार प्रभावित हुने गरेको व्यवसायीले बताए । पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, पालिखे चोक, पृथ्वी चोक, नयाँबजार, सिर्जना चोक, अमरसिंह चोक, पार्दीलगायत क्षेत्रमा सुनचाँदीको दैनिक करोडौं कारोबार हुँदै आएको छ । सिजनमा कास्कीमा सातामै ठूलो परिमाणमा सुन खपत हुने गरेको महासंघ गण्डकीका महासचिव मानबहादुर लामगादीले बताए । राज्यले सुनलाई विलसिताको रुपमा राख्नु गलत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्