Logo

निक्की–फिक्कीबीच व्यापार एवं लगानी प्रवर्द्धन सम्झौता

काठमाडौं–नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (फिक्की)ले आपसी व्यापार, लगानी तथा सीमापार व्यापार प्रवर्द्धन गर्न संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन् ।

निक्कीका अध्यक्ष सुनील केसी र फिक्कीका महाप्रबन्धक ज्योति विजद्वारा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको समझदारीअनुसार दुवै संस्थाले व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, गैर–गोप्य सूचनाको साझेदारी र संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नेछन् । निक्की नेपालका लागि फिक्कीको विशेष साझेदारका रूपमा रहनेछ भने फिक्की भारतका लागि निक्कीको विशेष साझेदार रहनेछ । समझदारीमा दुवै पक्षले व्यापार र लगानीसम्बन्धी विविध प्रकाशन र तथ्यांक नियमित रूपमा आदानप्रदान गर्ने उल्लेख छ ।

प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्त कार्यक्रम आयोजना गरिनेछ भने यो साझेदारीले संयुक्त अध्ययन, बजार सर्वेक्षण तथा आर्थिक विकास एवं चासोका नयाँ क्षेत्र पहिचान गर्न सघाउने विश्वास लिइएको निक्कीका अध्यक्ष केसीले बताए । फिक्की महानिर्देशक विजले पनि आर्थिक सम्बन्धलाई सुदृढ बनाउनु दुवै संस्थाको साझा जिम्मेवारी रहेको बताइन् । सम्झौताअनुसार दुवै संस्थाले नेपाल र भारतबाहेक बीबीआईएन र बिमस्टेक क्षेत्रका सहकार्यमा समेत काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्