नबिल सस्टेनेबल बैंकिङले मनायो वार्षिकोत्सव

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्ष प्रवेश गरेको छ । बैंकले चौथो वार्षिकोत्सव अवसरमा असार १५ देखि २१ सम्म ‘नबिल ग्रीन विक’ मनाउने भएको छ ।
नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृंखलामा बैंकका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, बिवाईडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकार सहभागी हुनेछन् ।
कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारीसाधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको बैंकले जनाएको छ । बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडीजी)लाई आत्मसात् गर्दै आफ्नो कारोवारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अँगीकार गर्दै आएको छ ।
बैंकले दिगो बैंकिङमार्फत हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ । २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको छ ।