Logo

बजेट निर्माण छानविन गर्न सांसदहरुको माग

धनगढी– सुदूरपश्चिम प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेट निर्माणमा आर्थिक चलखेल भएको भन्दै छानविन गर्न माग गरेका छन् । प्रदेश सभामा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेको १५ दिनपछि सभामा सुरु भएको बजेट छलफलमा भाग लिँदै सांसदहरुले असन्तुष्टी पोखेका हुन् । बजेटप्रति प्रतिपक्षका साथै सत्तापक्षका सांसदहरुले पनि बेखुशी प्रकट गरेका छन् । उनीहरुले निर्माणमा ‘दलाल हाबी’ भएको आरोपसमेत लगाएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाह र आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाकै पार्टी नेपाली कांग्रेस संदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले बजेट निर्माणमा दलाल हाबी भएको आरोप लगाए । उनले बजेट निर्माणमा मुख्यमन्त्री र मन्त्रीहरु भन्दा बढी दलाल सक्रिय भएको टिप्पणी गरे । ‘बजेट निर्माणमा दलाली गर्ने मान्छेहरुलाई खोज्न सांसदहरुको एउटा विशेष समिति बनाएर हुन्छ वा अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकाय गुहारेर हुन्छ,’ उनले भने, ‘प्रदेश सरकार बद्नाम हुनबाट जोगाउन छानविन गर्न पर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

सत्तारुढ दल नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बजेटको विरोधमा डेउडा भाका नै प्रस्तुत गरिन्, ‘बारिहै देखिदो पारी दीपायलको गडी, जनताका ढुकुटीभित्र सरकारको मनपरी ।’ सांसदहरुलाई बजेटको सिलिङ दिएर योजना माग गरिएको भएपनि बजेटमा त्यस्ता योजना अटाउन नसकेको उनले बताइन् । उनले बजेट निर्माणमा सरकारले अनुशासनहीन भएको आरोप लाउँदै प्रश्न गरिन्, ‘सरकारको अनुशासनको साँचो कसको हातमा सुम्पिनु भयो ? मोलमोलाइमा योजनाहरु नेताका बनाइएका छन् । जनताका योजना बजेटमा समावेश भएनन् । सरकारले बजेटलाई नियन्त्रण गर्न सकेन ।’

नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्व आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्चिम सरकारको बजेट निर्माणमा अनियमितता भएको आरोप लगाउँदै छाविन समिति बनाउन माग गरे । बजेट निर्माणमा भएको अनियमितताको प्रमाण आफूसँग रहेको बताउँदै उनले आवश्यक परे प्रमाण प्रदेश सभालाई उपलब्ध गराउने बताए । उनले सभाले छानविन समिति बनाएर वा सार्वजनिक लेखा समितिले नै छानविन गर्नुपर्ने बताए । ‘अख्तियारलाई आग्रह गर्नुपर्छ भन्ने पनि मलाई लाग्छ,’ उनले भने, ‘अर्को वर्ष यस्तो आँट कसैले नगरोस् । मन्त्रालयमा बजेट राखेर प्रविष्ट गरिएको प्रमाण पनि मसँग छ, आवश्यक परे म दिन तयार छु ।’

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मानबहादुर धामीले बजेट पुनर्लेखन गर्न पर्ने बताए । उनले बिचौलियामार्फत आएको बजेटलाई कार्यान्वयन गर्न नहुने बताउँदै पुनर्लेखन गरेर मात्रै सभाबाट पारित गरिनुपर्ने बताए । उनले एउटा संसदीय समिति बनाएर बजेट निर्माणबारे छानविन गर्न आँट गरेर देखाउन मुख्यमन्त्रीलाई चुनौती दिए । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम डगौरा थारुले पनि बजेट सच्याउन माग गरे ।

‘अझै पनि बजेट बदल्न सक्छौ,’ उनले भने, ‘बजेट शक्ति केन्द्रित भएको छ । यसमा गम्भीर प्रकारका त्रुटी छन् । सम्पन्न भएका योजना पनि बजेटमा अटाएका छन् ।’ सरकारले असार १ गते प्रदेशसभामा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । बजेटमा टुक्रे योजनाको संख्या बढेको, वित्तीय हस्तान्तरणमा पक्षपात गरिएको, भौगोलिक सन्तुलन नमिलाएको र मुख्यमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले बजेट प्रस्तुत भएदेखि नै असन्तुष्टी व्यक्त गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्