Logo

जीवन बीमक व्यवसाय १५ प्रतिशतले बढ्यो

काठमाडौं– जीवन बीमक व्यवसाय १५.२९ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरूले गत आवको सोही अवधिमा एक खर्ब ३३ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार १४ जीवन बीमा कम्पनीहरूले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र रिलायबल नेपाल लाइफको व्यवसाय उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले ४१ अर्ब दुई करोड ४४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा १५.३५ प्रतिशतले वृद्धि भएको छ । व्यवसाय वृद्धिका आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १८.३० प्रतिशतले बढेर १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले गत आवको सोही अवधिमा १५ अर्ब ९८ करोड तीन लाख रुपैयाँ आर्जन गरेको थियो । व्यवसायको आधारमा तेस्रो स्थानमा रहेको एलआइसी नेपालको व्यवसाय ८.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको कुल बीमा शूल्क आर्जन ३.९७ प्रतिशतले बढेर १५ अर्ब २२ करोड २० लाख रुपैयाँ रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि व्यवसायमा आक्रामक बन्दै गएको छ । समीक्षा अवधिमा कम्पनीको व्यवसाय १८.१३ प्रतिशतले बढेर ९ अर्ब ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसको व्यवसाय गत आवको तुलनामा ५१.२० प्रतिशतले सर्वाधिक वृद्धि भएको छ ।

एशियन लाइफको व्यवसाय ११.८८ प्रतिशतले बढेर सात अर्ब ८६ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफको १९.५८ प्रतिशतले बढेर ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १०.८० प्रतिशतले बढेर पाँच अर्ब ९० करोड २९ लाख रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफ व्यवसाय वृद्धिमा आक्रामक देखिएको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा २३.३८ प्रतिशतले वृद्धि भएर चार अर्ब ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २२.७६ प्रतिशत व्यवसाय बढाएको छ । चालु आवको जेठसम्ममा यस इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सन नेपाल लाइफ इन्स्योरेन्सले १०.२२ प्रतिशत बढाएर ३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ र मेटलाइफ इन्स्योरेन्सले ९.०७ प्रतिशत बढाएर ५ अर्ब ८ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा जीवन लघुबीमा कम्पनीहरूले करिब १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल सञ्चालनका रहेका लघुबीमाहरूले १ अर्ब करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनी गार्डियन माइक्रो लाइफ रहेको छ ।

जेठ मसान्तसम्ममा कम्पनीले ४१ करोड ३६ लाख रुपैयाँको व्यवसाय गरेको हो । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ३० करोड ४ लाख र लिबर्टी माइक्रो लाइफले २८ करोड ५० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् । जेठ महिनामा मात्रै भने जीवन लघुबीमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्