जोखिमयुक्त ठाउँमा राति सवारी चलाउन रोक

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले देशका विभिन्न जोखिमयुक्त ठाउँमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागले लगातार ३ दिनसम्म जारी गर्ने मौसम बुलेटिनको आधारमा जोखिम स्थान पहिचान हुनेछन् । त्यसरी पहिचान भएका स्थानमा भएर जाने सडकमा राति सवारीसाधन चलाउन रोकिनेछ ।
कुन सडकमा रोक लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणका सहसचिव बन्धुप्रसाद बास्तोलाले बताए । बैठकले भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने निर्णय पनि गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार बसेको बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो । साथै, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने व्यवस्था मिलाइने भएको छ । विपद् प्रभावित क्षेत्रमा रिपोर्टिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई उद्धार गर्ने व्यवस्था मिलाउने निर्णय परिषद्ले गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै उनले पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो ।
गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय अलर्टमा बसेको बताए । सेना र निजी क्षेत्रका हेलिकप्टर पनि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । ‘मौसम पूर्वानुमान अनुसार जोखिम रहेका सडकमा सवारी सञ्चालन नगर्नु भनेको अवस्थामा सवारी चलेमा, केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इञ्चार्ज हुने निर्देशन पठाइसकिएको छ,’ उनले भने । मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमान मिलिरहेको भन्दै त्यसलाई ध्यान दिएर सम्बन्धित निकायलाई सोहीअनुसार अलर्टमा राखिएको बताए ।