चितवनको मेघौलीमा खुल्यो सिद्धार्थ वाइल्डलाइफ रिट्रिट

काठमाडौं– वाइल्डलाइफ टुरिजममा हाइ–एन्ड पर्यटकलाई आकर्षित गर्न सफल चितवनको मेघौलीमा नेपाली हस्पिटालिटी चेनको अग्रणी सिद्धार्थ हस्पिटालिटीले लक्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ । यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’का नाममा सञ्चालन गरेको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।
‘वाइल्डलाइफ टुरिजमका लागि देशकै उत्कृष्ट गन्तव्य मेघौलीमा प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्न चाहनेका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो’, न्यौपानेले भने, ‘सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।’
सिद्धार्थ वाइल्डलाइफ रिट्रिट १२ बिघा क्षेत्रको जंगलमा छ । रिसोर्ट परिसरमा सुन्दर बगैंचासहित वनजंगलमा विभिन्न चराचुरुंगी र जनावर अवलोकन गर्न सकिन्छ । रिसोर्टमा स्वीमिङ पुलसँगै पुलसाइड बार सञ्चालनमा छ । पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउदै आफू पनि ब्रेकफास्ट गर्नेजस्ता रोमाञ्चक सुविधा लिन सक्छन् ।
रिसोर्टमा स्थानीय रहनसहनअनुसार थारु शैलीका १७ भिल्ला बनाइएको छ, जसका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्रान्डमा मुलुकभर ३० बढी आउटलेट सञ्चालनमा छन् । यसमा पाँचतारे स्तरको सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्रान्डलगायत सञ्चालनमा छन् ।