शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनको स्पोर्टस् अवार्ड

काठमाडौं– शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन (एससीएसएमएफ) ले वार्षिक तालिकाअनुसार स्पोर्टस् अवार्डको दोस्रो संस्करण सम्पन्न गरेको छ ।
नेपाली खेलकुदमा योगदान पुर्याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार यस वर्ष एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरियो । यस वर्षको नेपाली फुटबलर तथा पूर्वकप्तान राजुकाजी शाक्यलाई पुरस्कारबाट सम्मानित गरिएको फाउन्डेसनले जनाएको छ ।
शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यस्तै, एससीएसएमएफ स्पोर्टस् अवार्ड २०२५ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरिएको छ । देशमा भलिबल खेलको विकास र महिला खेलाडीलाई प्रेरणा दिन पुर्याएको महत्त्वपूर्ण योगदानका लागि उनलाई सम्मानित गरिएको हो ।
शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ । पुरस्कारस्वरूप दुवै जनालाई दुई लाख ५० हजार रुपैयाँ नगद प्रदान गरियो। शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्व. शरदचन्द्र शाहाको सम्झनामा उनका परिवारजनले स्थापना गरेको संस्था हो ।