मनमोहन प्राविधिक विश्वविद्यालयको महत्त्वाकांक्षी योजना

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिकालिकामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा, अनुसन्धान र उत्पादनका क्षेत्रमा महत्त्वाकांक्षी लक्ष्यसहितको योजना अघि सारेको छ । प्राविधिक शिक्षाको प्रवर्द्धन र राष्ट्रिय उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित अघि बढेको यस विश्वविद्यालय हाल बजेटीय अभावका कारण गम्भीर समस्यामा परेको छ ।
विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलका अनुसार विज्ञान, प्रविधि र अनुसन्धानमार्फत स्थानीय स्रोतको उपयोग गर्दै रोग प्रतिरोधी औषधि तथा उपभोग्य वस्तु उत्पादनमा उल्लेखनीय प्रगति भएको छ । विश्वविद्यालयले ‘सन्चो’, ‘भिक्स’ र ‘बाम’ जस्ता आयुर्वेदिक उत्पादन तयार गरिसकेको छ । जसको बजारमा वितरणका लागि आवश्यक सरकारी स्वीकृतिको प्रतीक्षामा छ । यी उत्पादनहरू ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणाअन्तर्गत विश्वविद्यालयकै प्रयोगशालामा विद्यार्थी तथा अनुसन्धानकर्ताको सहयोगमा विकास गरिएका हुन् ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण ठानिएको एन्टिबायोटिकले असर नगर्ने हानिकारक ब्याक्टेरिया नष्ट गर्न सक्ने भाइरससम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यदि यो अनुसन्धान सफल भयो भने नेपालमा पहिलोपटक यस्ता भाइरसको व्यवहारिक उपयोग स्वास्थ्य उपचारमा हुने सम्भावना छ । अर्को महत्त्वपूर्ण अनुसन्धान भनेको हिमालयन जडीबुटीको प्रयोगमार्फत मधुमेह नियन्त्रण गर्न सकिने प्राकृतिक औषधिको विकासमा केन्द्रित छ । तर यस्ता वैज्ञानिक तथा प्राविधिक उपलब्धिलाई व्यवहारमा उतार्न अहिलेको बजेट अपुग भएको उपकुलपति पोखरेलको भनाइ छ ।
विश्वविद्यालयले आगामी वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरे पनि प्रदेश सरकारबाट जम्मा १४ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ । ‘हामीले उपकरण र अनुसन्धानको महत्त्व बुझाउन खोज्दा अपहेलित हुनुपरेको अवस्था आएको छ,’ पोखरेलले भने । अहिले विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, विज्ञान तथा कानुनका विभिन्न विषयमा स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । बिबिए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशेष कार्यक्रमले विद्यार्थीको आकर्षण बढाइरहेका छन् ।
यसैबीच विश्वविद्यालयले सन् २०३० भित्र ३०० शैय्याको शिक्षण अस्पताल, १८ अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय निर्माण गर्ने दीर्घकालीन योजना अघि सारेको छ । यसले विशेषगरी पूर्वी पहाडी क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक अवसर उपलब्ध गराउने विश्वास गरिएको छ । प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालयको मातहत ल्याउने नीति अघि सारेको भए पनि त्यसका लागि स्पष्ट योजना र पर्याप्त बजेट नहुँदा विश्वविद्यालय जिम्मेवारी लिन हिचकिचाएको छ ।
‘दृढ इच्छाशक्ति र आवश्यक स्रोतसहित यो योजना अघि बढेमा पहाडी क्षेत्रमा बसाइँसराइ नियन्त्रण गर्ने र समावेशी विकासलाई टेवा पुग्नेछ,’ उपकुलपति पोखरेलले स्पष्ट पारे । राजनीतिक प्रभावबाट विश्वविद्यालयलाई पूर्णरूपमा मुक्त राख्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘यो कुनै पनि दलको संगठन होइन, यो ज्ञानको मन्दिर हो। हामी निष्पक्ष नियुक्तिका लागि सेवा आयोगको प्रक्रिया अपनाउँछौं ।’