Logo

कृषि र औद्योगिक क्षेत्रको कर्जा घट्दा सेवा क्षेत्रमा वृद्धि

धनगढी– अर्थतन्त्रका प्रमुख क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा घटेपनि सेवा क्षेत्रको लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८१/०८२ को अर्थवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा बैंक तथा वित्तीय क्षेत्रले सेवा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा बढेको उल्लेख छ ।

तर प्राथमिक (कृषि), द्वितीय (उद्योग) बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा घटेपनि तृतीय (सेवा) क्षेत्रमा प्रवाह गरेको कर्जा गतआर्थिक वर्षको तुलनामा घटेको हो । सेवा क्षेत्रमध्ये उपभोग्य कर्जाको अंश गत वर्षको तुलनामा १.८९ प्रतिशतले वृद्धि भएको छ । सवारी साधन खरिद, जग्गा खरिद, घर खरिद तथा निर्माण, घरायसी परियोजनालगायत विविध कार्यमा खर्च हुने उपभोग्य कर्जा २०८१ पुस मसान्तमा कुल सेवा क्षेत्रको कर्जाको ३१.९६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो कर्जा आर्थिक वर्ष २०८०/०८१ को मसान्तमा ३०.०७ प्रतिशत थियो । २०८१ असार मसान्तमा थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४४.४१ प्रतिशत रहेको कर्जा २०८१ पुस मसान्तमा घटेर ४३.०४ प्रतिशत कायम भएको छ । ‘२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ०.८३ प्रतिशतले बढेर एक खर्ब ११ करोड ६३ लाख पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४४ प्रतिशतले घटेकोे थियो । कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७२.८४ प्रतिशत रहेको छ ।’

यस अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये अन्य व्यवसायमा प्रवाहित कर्जा ८.७९ प्रतिशत, शिक्षामा ३.६२ प्रतिशत, रियल स्टेटमा ३.२३ प्रतिशत, पर्यटनमा ३.०९ प्रतिशत, अन्य सेवामा १.८८ प्रतिशत, स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.६३ प्रतिशत, यातायात भण्डारण र संचारमा १.५९ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पतिमा १.१८ प्रतिशत अंश रहेको छ ।

गत वर्ष कुल सेवा क्षेत्र कर्जामध्ये अन्य व्यवसायमा प्रवाहित कर्जा ९.३६ प्रतिशत, पर्यटनमा ३.१९, यातायात भण्डारण र संचारमा २.१९ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १.६७ प्रतिशत, शिक्षा क्षेत्रमा ३.३५ प्रतिशत, रियल स्टेटमा २.७८ प्रतिशत, अन्य सेवा व्यवसायमा १.४२ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.५६ प्रतिशत अंश थियो ।

२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल सेवा क्षेत्र कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.७८ प्रतिशत, कञ्चनपुर जिल्लाको अंश २०.०९ प्रतिशत, डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला, बैतडी, तथा बाजुरा जिल्लाको क्रमश: ३.०५ प्रतिशत, २.१९, २.१६, १.६२, १.५८, १.४१र १.१२ प्रतिशत रहेको छ ।

क्षेत्रगत औद्योगिक कर्जा १.३२ प्रतिशतले घट्यो
२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा १.३२ प्रतिशतले घट्न गई २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ६.१८ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.४८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ३८.६५ प्रतिशत रहेको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा कम ०.५३ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी कर्जामा ४०.३४ प्रतिशतले ह्रास आएको छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८.७४ प्रतिशत रहेको छ भने दार्चुला जिल्लाको अंश सबैभन्दा कम ०.३७ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा तथा बैतडीको अंश क्रमश: १६.३५, १.५१, ०.९८, ०.५५, ०.५१, ०.५० र ०.४८ प्रतिशत रहेको छ ।

क्षेत्रगत कृषि कर्जा झण्डै एक प्रतिशतले घट्यो
२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ०.९७ प्रतिशतले ह्रास भई १६ अर्ब ३६ करोड ८३ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८.०४ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा १८.३४ प्रतिशत प्रवाह भएको छ भने सुर्ती शीर्षकमा कर्जा प्रवाह भएको छैन ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.६८ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलालीको अंश सबैभन्दा बढी ६७.०१ प्रतिशत र कञ्चनपुरको २०.४३ प्रतिशत रहेको छ । कृषि कर्जाको अंश बाजुरामा सबैभन्दा कम १.१० प्रतिशत तथा अछाममा १.३० प्रतिशत रहेको छ ।

वित्तीय समावेशीता तथा विविध कर्जा बढ्यो
२०८१ पुस मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०८० पुस मसान्तको तुलनामा ३.२६ प्रतिशतले बढ्न गई ३७ लाख ५४ हजार ९९० पुगेको छ भने कुल ऋणीको संख्या गत पुस मसान्तको तुलनामा २७.५६ प्रतिशतले बढ्न गई एक लाख ४ हजार १९३ पुगेको छ । २०८१ पुस मसान्तसम्म विपन्न वर्गको कर्जा २०८० पुस मसान्तको तुलनामा २३.३६ प्रतिशतले घट्न गई ८ अर्ब ४९ करोड पुगेको छ । यसैगरी २०८१ पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० पुस मसान्तको तुलनामा ६५.३१ प्रतिशतले घट्न गई ३ अर्ब ६० करोड ९६ लाख पुगेको छ ।

कुल कर्जा प्रवाह पनि बढ्यो
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असार मसान्तको तुलनामा ०.२७ प्रतिशतले वृद्धि भएर एक खर्ब ५३ अर्ब २६ करोड ६२ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२८ प्रतिशतले घटेको थियो । २०८१ पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १२.६० अर्बले बढेको छ ।

समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलालीको अंश सबैभन्दा बढी अर्थात् ४८.६० प्रतिशत र बाजुराको अंश सबैभन्दा कम अर्थात् २.२७ प्रतिशत रहेको छ । त्यसैगरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७७ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् १.०१ प्रतिशत प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्