Logo

देवदहको बजेट १ अर्ब ६३ करोड, सैनामैनाद्वारा १ अर्ब ३४ करोड विनियोजन

रुपन्देहीका चार पालिकाले बजेट ल्याउन सकेनन्

बुटवल– स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने अन्तिम दिन रुपन्देहीका ४ वटा पालिकाले अझै बजेट ल्याएका छैनन् । असार १० गते भित्र स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । तर जिल्लाका सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटइमाइ गाउँपालिका र सम्मरीमाइ गाउँपालिकाले बजेट नल्याएको जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाको नीति तथा कार्यक्रम पनि पेश भएको छैन । नगरपालिकाका प्रवक्ता प्रवक्ता मुक्तिनाथ यादवले नगर प्रमुखको कार्यव्यस्तताले नगरसभा बस्न नसकेको बताए । २१ गते नगरसभा बसेर नीति कार्यक्रम र बजेट ल्याउने उनले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा वडाहरुले योजना छनोट गर्न नसकेकाले नगरसभा बस्न ढिलाइ भएको उपमेयर कल्पना हरिजनले जानकारी दिए । वडाहरुले वडा भेला गरेर योजना तर्जुमा पनि गरेका छैनन् ।

‘मेयर सापसँग बसेर आन्तरिक छलफल गर्न पनि पाएका छैनौं’ उनले भनिन्, ‘बिहीबार कार्यपालिका बैठक बस्ने र नगरसभाको मिति तय गरेर नीति कार्यक्रम र बजेट ल्याउँछौं ।’ रुपन्देहीका केही पालिकाले यसअघि नै बजेट ल्याएका छन् । रुपन्देहीको देवदह नगरपालिकाले १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट ल्याएको गरेको छ । देवदहको १६औैं नगरसभामा उपप्रमुख विद्यालक्ष्मी गुरुङले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेकी हुन् ।

नगरपालिकाको आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार उठाउने लक्ष्य राखेको छ । यस्तै, संघीय सरकारबाट अनुदान, पुँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान गरेको छ । यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र शहरी उत्थान कार्यक्रम अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको गुरुङले बताइन् ।

पालिकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । शिक्षामा २६ करोड ९ लाख, स्वास्थ्यतर्फ ४ करोड ५७ लाख, पूर्वाधारतर्फ ६३ करोड ६० लाख विनियोजन गरिएको छ । यसमध्ये शहरी उत्थान कार्यक्रम अन्तर्गत ५२ करोड ३९ लाखको लगानी नगर–संघीय साझेदारीमा हुनेछ । अस्पताल, सडक, खानेपानी, विद्युत, विद्यालय संरचना र सिँचाइ पूर्वाधारमा समेत बजेट केन्द्रित गरिएको छ ।

सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनलाई जग्गा प्रमाणपत्र दिने, व्यवस्थित बसोबास सुनिश्चित गर्ने कार्यमा २ करोड छुट्याइएको छ । कृषि उत्पादन, बजार व्यवस्थापन, कृषि उपकरण, बिजुली सुविधा तथा कृषक सशक्तीकरणका लागि ४५ लाख ३५ हजार छुट्याइएको छ । पशुपालन क्षेत्रमा रोग नियन्त्रण, औषधोपचार, बाँझोपन न्यूनीकरण, बंगुर पकेट विकासलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै, देवदह नगरका १२ वटै वडामा एक–एक करोडका दरले १२ करोड वडागत कार्यक्रमका लागि बजेट छुट्याइएको छ । यस्तै सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सत्रौं नगरसभामा उपप्रमुख बिना रानाले स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।

जसमा चालू खर्चतर्फ ५६ करोड ७९ लाख ६० हजार ५ सय अर्थात कूल बजेटको ४२.१२ प्रतिशत र पुँजीगततर्फ ७८ करोड ३ लाख ८८ हजार ५ सय अर्थात कूल बजेटको ५७.८८ प्रतिशत विनियोजन गरिएको छ । नगरपालिकाको अधुरा योजना समयमै सम्पन्न गर्ने, कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, विपद प्रतिकार्य योजना कार्यान्वनय गर्ने बजेटमा उल्लेख छ । ‘सैनामैना सम्मद्धिको आधार: उत्पादन, पर्यटन र पुर्वाधार भन्ने नगरपालिकाले लिएको दीर्घकालीन सोचलाई पूरा गर्न नगरको बजेट लक्षित रहेको बजेटमा उल्लेख गरिएको छ ।

बहुवर्षीय आयोजनालाई समयमै सम्पन्न गर्ने, भूमीहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराई जग्गाको स्वामित्व दिलाउने बजेटको लक्ष्य रहेको छ । अहिलेसम्म नापजाँच भएका जग्गाको लालपुर्जा वितरण गर्ने र नापजाँच नभएका जग्गाको नापजाँच गर्न आवश्यक तथा पुन: नक्सांकन र नापजाँचका लागि कूल एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा ‘घुमौ सैनामैना, रमौ सैनामैना’ भ्रमण वर्ष २०८२ अभियान सञ्चालन गर्न सैनामैनामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई सूचिकरण गरी जानकारी तथा प्रचारप्रसार गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । त्यसैगरी बजेटमा नमुना उज्यालो थारु गाउँ कार्यक्रमका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा कृषि तथा सिचाईका लागि कुल १ करोड ५२ लाख ४७ हजार रुपैया विनियोजन गरिएको छ । जिल्लाको रोहीणी गाउँपालिकाले ५९ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्