मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा कालोपत्र सकियो

दमौली– मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको पूर्वी खण्डमा कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा कालोपत्र गर्ने काम सकिएको हो ।
दमौली बजार र बन्दीपुरस्थित चुनपहरा क्षेत्रमा ४५० मिटर मात्रै कालोपत्र गर्न बाँकी रहेकामा त्यसक्षेत्रमा केही दिन अगाडी कालोपत्र गरिएसँगै यो खण्डको सबै भागमा कालोपत्र सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पहिलो चरणको कालोपत्र सकिएको दमौलस्थित दुर्गा मन्दिर अगाडीदेखि दोस्रो चरणको कालोपत्रको काम भइरहेको छ ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्रका लागि विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । उक्त अवधिमा यो खण्डको कामका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अन्तिम पटक थपिएको म्याद असार २९ गतेसम्म रहेको छ । सडक कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ र डिभाइडर रङरोगनको कामसमेत तीव्र गतिमा अगाडी बढाइएको छ । मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।