Logo

नेपालगन्जको बजेट एक अर्ब ६४ करोड

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको नगरसभाको १७ औं अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेका हुन् ।

यो बजेट चालू आर्थिक वर्ष २०८१/०८२ को भन्दा करीब १४ करोड ३३ लाख रुपैयाँ बढी हो । उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ५० करोड ३८ लाख ८६ हजारको बजेट ल्याएको थियो । बजेटमा वडा कार्यालयको हकमा २० करोड रुपैयाँँ र महाशाखा–शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँँ सिलिङ उपलब्ध गराइएको छ । यस्तै चालू खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँँ छुट्ट्याइएको छ ।

आम्दानीतर्फ वित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख हुने प्रक्षेपण गरिएको छ । त्यसअघि नगरसभाको १७औं अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग–व्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ ।

कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, गड्यौला मलको प्रयोग प्रबद्र्धन गर्ने, जडीबुटी खेतीलाई प्रवर्द्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको व्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यावसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उपमहानगरले जनाएको छ ।

त्यसैगरी नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, जेष्ठ नागरिकका लागि घरघरमा गई नि:शुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय छन् । यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ्ग रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, ‘ग’ वर्गको अपांगता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने उल्लेख छ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पास समेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, सञ्चार क्षेत्र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्