सिँचाइ अभावले रोपाइँ प्रभावित

जनकपुरधाम– पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेको कारण धनुषा र महोत्तरीमा रोपाइँ प्रभावित भएको छ । आकासे पानीको भरमा रोपाइँ हुने सबै क्षेत्र प्रभावित भएको हो । किसान हरिदेवका अनुसार आकासे पानीको भरमा थोरै बिउ लगाएको पनि अत्यधिक गर्मीको कारण डढ्न थालेको बताए ।
केही दिन यता मनसुन सक्रिय भई आंशिक रुपमा पानी पर्न थालेपछि पर्याप्त मात्रामा सिँचाइ नहुँदा समस्या सिर्जना भएको हरिदेव जस्तै अन्य किसानको गुनासो छ । आव २०८१/८२ मा धनुषाका किसानहरूले ४२ हजार ८ सय ५० हेक्टर जमिनमा धानखेती गरी १ लाख ६५ हजार टन धान फलाएको थिए । असार दोस्रो सातासम्म सबै खेत रोपी सक्नु पर्नेमा यसपटक हालसम्म पानी नपर्दा धानको बेर्ना सुख्न थालेको जनकनन्दिनी गाउँपालिका–३ महुवाका किसान सतो मण्डलले बताए ।
विसं २०३४ र २०५० सालमा यस्तै अवस्था आएकोमा पुन: त्यस्तै अवस्था आएको अर्का किसान रामचन्द्र यादव बताउँछन् । धनुषामा सिञ्चित क्षेत्र ६५ हजार हेक्टर र अकासे पानीको भरमा खेती हुने क्षेत्रफल ६५ हजार हेक्टर रहेको छ । मधेश प्रदेश सरकारले कृषि क्षेत्रलाई अगाडि बढाउन खेत–खेतमा पानी भन्ने नारा दिए पनि यो नारामै सीमित रहेको छ ।
पानी अभाव भइरहेको अवस्थामा रासायनिक मल अभाव पनि नहुने भएको छ । वीरगन्जबाट रासायनिक मल नियमित रूपमा आउने गरेकाले यस वर्ष मल अभाव नहुने कृषि सामग्री कम्पनी जनकपुर शाखाले जनाएको छ । संस्थाको गोदाममा अहिले पनि पर्याप्त मात्रामा मल मौज्दात रहेको छ । धानखेतीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास पर्याप्त मात्रामा मौज्दात रहेको सो कार्यालयका शाखा प्रमुख बेचनकुमार साहले बताए ।
हाल कार्यालयका जनकपुरस्थित गोदाममा ६९७ टन युरिया, १७२ टन डिएपी, ८२ टन पोटास र २१ टन चुन मौज्दात रहेको छ । संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी जनकपुर शाखाले चालु आवको १५ असारसम्म ३९ करोड १८ लाख मूल्य बराबरको १४ हजार १७८ टन मल बिक्री गरेको छ । प्राप्त तथ्यांक अनुसार सो अवधिमा १४ करोड ४६ लाख मूल्यबराबरको ८ हजार ५ सय टन युरिया, ५ हजार ३६७ टन डिएपी, २७६ टन पोटास र ८७५ टन कृषिचुन बिक्री भइसकेको छ ।