Logo

नारायणगढ-बुटवल सडक विस्तार आयोजना

म्याद सकिएको ३ वर्षपछि बल्ल ६८ प्रतिशत प्रगति

काठमाडौं– महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि तोकिएको समय सकिएको तीन वर्ष बितिसक्दा बल्ल दुई तिहाइ प्रगति भएको छ । अहिलेसम्म जम्मा ६८ प्रतिशत काम सकिएको हो ।

कुल ११३ किलोमिटर सडक विस्तार एसियाली विकास बैंकको ऋणबाट भइरहेको छ । यसका लागि २०७५ पुसमा सम्झौता भएको थियो । आयोजनाले २०७९ भदौसम्म सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने थियो । तर, यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक विस्तारको काम ६८ प्रतिशत माथि लान सकेको छैन । पछिल्लो पटक थप भएको म्यादसमेत आगामी साउन ८ मा सकिँदैछ । अब फेरि एक वर्ष म्याद थपको तयारी गरिएको छ ।

निर्माण कम्पनीले रोकिएको काम गएको डिसेम्बरबाट शुरु गरेसँगै सडक विस्तारले गति लिएको आयोजनाले जनाएको छ । सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि काम अघि बढेको हो

पछिल्लो ६ महिनाको प्रगति सन्तोषजनक रहेको सडक विभाग अन्तर्गतको एडीबी आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले बताए । उनले भने, ‘विनय खोलाको पुल ट्रकले गर्दा भाँच्चिएपछि दाउन्नेमा सवारीको चाप परेको छ । केही दिनमा नै विनय खोलाको नयाँ पुल सञ्चालनमा आएपछि सवारी आवागमनमा सहज हुनेछ ।’ करिब १३ किलोमिटरमात्र कालोपत्रे बाहेकको यात्रा गर्न परेको भए पनि अन्य क्षेत्रमा भने यात्रा सहज भएको ढकालको भनाइ छ । पश्चिम खण्डको साढे एक किलोमिटर र पूर्वी खण्डको साढे एक किलोमिटर गरी ३ किमी र दाउन्ने खण्डको ९ किमी, एक किमी पुल कल्भर्ट खण्ड गरेर करिब १३ किमीमात्र बाटो असहज रहेको आयोजना प्रमुख ढकालले बताए । उनले भने, ‘वर्षा सकिएपछि कामले थप गति लिनेछ । दाउन्ने खण्ड आउँदो डिसेम्बरसम्म पूरा गर्ने योजना रहेको छ । यही समयसम्म अन्य बाँकी चार लेनको काम पनि पूरा गर्नेगरी निर्माण कम्पनीले काम गरिरहेको छ ।’

सडक विस्तारको काम आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि अन्य पूर्वाधार निर्माणको काम गर्न बाँकी रहेकाले थप एक वर्ष म्याद थप गर्नुपर्ने बाध्यता रहेको आयोजना प्रमुख ढकालले बताए । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक ११३ किमी अन्तर्गत गर्नुपर्ने मुख्य–मुख्य क्रियाकलापहरुमा ७० किमी ४ लेन सडक, २९ किमी ४ लेन सडक, दुईतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेन सडक स्तरोन्नति, ६४ वटा पुल, ४७४ कल्भर्ट, १०६.१७ किमि नाली निर्माण गर्नु पर्नेछ । हालसम्म ५७.४४८ किमी ४ लेन र ३५.६८८ किमी २ लेन कालोपत्रे, ५४ वटा पुल, ४४४ वटा कल्भर्ट, ६६.०७४ किमी ड्रेन गरी समग्रमा ६८.२९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नारायणगढ–दाउन्ने (६५ किलोमिटर) पहिलो खण्ड र दाउन्ने–बुटवल (४९ किलोमिटर) दोस्रो खण्डमा वर्गीकरण गरेर काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र ११३ किमी एकतर्फी कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, अन्तर–निकायगत समन्वयको कारणले ढिलाइ भएको आयोजनाको भनाइ छ । नदीजन्य निर्माण सामग्रीको सहज उपलब्धतामा कमी, अधिकांश पालिकाले वर्षको अन्त्यतिर ठेक्का निकाल्ने र थोरै अवधि दिने हुनाले आवश्यक परिमाणको निर्माण सामग्री संकलनमा कठिनाइ भएको छ । साथै निर्माण व्यवसायीको ठेक्का व्यवस्थापनमा ढिलासुस्ती तथा कमजोरी, निर्माण व्यवसायीको श्रोत परिचालनमा कमी, विद्युत तथा खानेपानी स्थानान्तरणमा लामो समय लागेको, अझै केही संख्यामा विद्युत पोल स्थानान्तरण हुन बाँकी रहेको, निर्माण व्यवसायीको निर्माण कार्यका लागि पर्याप्त नगद प्रवाह नहुनु आदि कारक रहेको प्रमुख ढकालले बताए ।

दाउन्ने उकालो र ओरालो खण्डमा भने ढलान सहित सडक विस्तारको काम अगाडि बढाउने आयोजनाले जनाएको छ । दाउन्ने खण्डमा कटिङ, कल्भर्ट निर्माण तथा वाल निर्माणको काम भइरहेको छ । सडकको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय स्तरदेखि सामाजिक सञ्जालमा सरकारप्रति तीव्र्र आक्रोश छ । ‘निर्माण कम्पनीले जनशक्ति बढाएर सडक विस्तारको कामलाई तिव्रता दिएको छ । दुवैतर्फ ठूलो मात्रामा जनशक्ति परिचालन भएको अवस्था छ । अब भने गति बढेको छ,’ आयोजना निर्देशक ढकालले भने । नेपालको १५ प्रतिशत लगानी र एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा १७ अर्ब रुपैयाँमा यो सडक स्तरोन्नति हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्