नलगाडको सबै ठाउँमा स्वास्थ्यका भौतिक संरचना

वीरेन्द्रनगर– जाजरकोटको नलगाड नगरपालिकाले स्वास्थ्य क्षेत्रमा आमुल परिवतर्तन ल्याउनका लागि काम थालेको छ । पालिकाले सबै वडाहरुमा रहेका स्वास्थ्य संस्थामा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । १३ वटा वडा रहेको नलगाडमा सबै वडामा स्वास्थ्य संस्थाका भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख डम्बर रावतले बताए ।
नगरपालिकाको वडा–२, ३, ४, ११ र १२ मा सुविधासम्पन्न प्रस्तुती गृह निर्माण भएर सूचारु भएको उनले बताए । नगरपालिकाकाको प्रशासकीय केन्द्रमा १५ शैय्यको नगर अस्पताल सञ्चालनमा रहेको छ । पालिकाको सात ठाउँमा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको उपप्रमुख देवका छामिछानेले जानकारी दिइन् । सामुदायिक स्वास्थ्य केन्द्र पाँच ठाउँमा स्थापना गरिएको उनको भनाइ छ ।
वडा–१, ५ र ११ मा नयाँ भवन निर्माण कार्य पुरा भएर निकट भविष्यमा सेवा सुचारु हुने बताएको छ । पालिका भित्र १५ वटा नयाँ भौतिक संरचना निर्माण गरिएको छ । भौतिक संरचना निर्माणसँगै पालिकाको स्वास्थ्य सेवा प्रभावकारी रुपमा दिन सफल भएको स्वास्थ्य शाखाका प्रमुख तप्त चनाराले बताए । भूकम्पको समयसमेत अब्बल सेवा प्रवाह गरेको उनको भनाइ छ ।
नगरपालिकामा एम्बुलेन्स सेवासमेत रहेका कारण बिरामीको प्रकृति हेरेर उपचारको वर्गीकरण हुने गरेको छ । नगर अस्पततालमा दुई जना डाक्टर कार्यरत छन् । डोल्पाको सिमानासँग जोडिएको नलगाड भेरी करिडोर सडकको बीचमा रहेको छ । नलगाडको अधिकांश वडा भेरी करिडोरले छोएका कारण स्वास्थ्य सेवा प्रवाह गर्न र लिनसमेत सहज भएको नगर प्रमुख रावतको भनाइ छ । नगरपालिकाले उपचार सेवालाई प्रभावकारी बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको उनले बताए ।
बारेकोट, नलगाड, डोल्पाको मुडकेचुला, रुकुम पश्चिमको आठबीसकोटका नागरिकले नलगाडको नगर अस्पतालबाट सेवा लिने गरेका छन् । यातायातको सहज पहुँच भएका कारण सो अस्पतालको सेवा सबैको रोजाइमा परेको छ । त्रिपालमा सञ्चालन रहेको अहिलेको अस्पतालले ६ महिनाभित्र आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने तयारी थालेको छ । पुरानो भवनमा भूकम्पले क्षति बनाएका कारण अहिले टेन्टमा बिरामी राखेर उपचार भइरहेको छ ।