Logo

मकवानपुरका ८ स्थानीय तहले ल्याए पौने ८ अर्बको बजेट

हेटौंडा– मकवानपुरका १० स्थानीय तहमध्ये ८ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट गाउँ/नगरसभामा प्रस्तुत गरेका छन् । २ वटा स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरी बजेट सार्वजनिक कार्यलाई पछि सारेका छन् । ८ वटा स्थानीय तहले ७ अर्ब ८० करोड १० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका र राक्सिराङ गाउँपालिकाले मंगलबार गाउँ/नगरसभामा बजेट पेश गरेका हुन् भने बागमती गाउँपालिकाले असार ७ गते नै बजेट सार्वजनिक गरेको हो । जिल्लाको थाहा नगरपालिका र बकैया गाउँपालिकाले मंगलबार गाउँसभाको आयोजना गरी नीति तथा कार्यक्रम मात्रै पेश गरेका हुन् ।

जिल्लाका सबै पालिकामध्ये सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याएको छ । उपमहानगरपालिकाले २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट नगरसभामा पेश गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले मंगलबारको नगरसभामा चालु वर्षको तुलनामा करिब ६ करोड बढी आम्दानी र खर्चको अनुमानित विवरण नगरसभामा पेश गरेका हुन् । उपमहानगरले चालु वर्षमा हिउँदे अधिवेशनबाट संशोधनसहित २ अर्ब ८४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिहेको छ ।

रैथाने बाली प्रवर्द्धन गर्दै मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन गर्ने नीति लिएको छ । रैथाने बाली कोदो, धान कोदो, जुनेलो, फापर, सिमिको न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिने गरी गाउँपालिकाले बजेट सार्वजनिक गरेको छ । मकवानपुरगढीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको १२औं गाउँ सभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ । पालिकाले किसान परिचयपत्र वितरण कार्य सुरुवात, गाउँपालिकाका कृषकबाट उत्पादित स्थानीय एवम् पढ्दै, कमाउँदै कार्यक्रम, जग्गा बाँझो नराख्न बाँझो जग्गा खनजोत गरी खेती गर्ने कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन, एक वडा एक उत्पादन, पशुको आहारा व्यवस्थापनका लागि साइलेज उत्पादन, दूध उत्पादनमा प्रोत्साहन गरिने भएको छ ।

मनहरीको बजेट ८७ करोड
मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँ सभाको १७औं अधिवेशनको दोस्रो बैठकमा पालिका उपाध्यक्ष सीता पुलामी मगरले चालु आर्थिक वर्षको भन्दा करिब १० करोड कमको बजेट प्रस्तुत गरिन् । चालु आर्थिक वर्षको बजेट ९७ करोड २७ लाख २८ हजार ६ सय रुपैयाँ रहेको छ ।

पालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासतर्फ ३३ करोड ११ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको छ भने वित्तीय व्यवस्था सुशासन तथा संस्थागत विकासतर्फ ६ करोड ४ लाख ३ हजार, आर्थिक विकासतर्फ ४ करोड ५५ लाख ४८ हजार, सामाजिक विकासतर्फ ३० करोड ४६ लाख ९३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ४५ लाख ६० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वतर्फ १२ करोड ८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा पालिकाले आर्थिक अवस्था कमजोर भएका मिर्गौला प्रत्यारोपण, डायलासिस सेवा लिइरहेका, क्यान्सर र मेरुदण्डको पक्षाघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने उल्लेख छ ।

कैलाशको बजेट ५३ करोड ८६ लाख
कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । गाउँसभाको १६औं अधिवेशनकाबीच उपाध्यक्ष बालकुमार मल्लले कुल ५३ करोड ८६ लाख २० हजार रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आवका लागि चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १०० र पुँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले सामाजिक क्षेत्रतर्फ ३ करोड ७९ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासको क्षेत्रमा १० करोड ११ लाख र आर्थिक विकासतर्फ १ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि ७८ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक आयतर्फ २ करोड ३७ लाख रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

त्यस्तै सशर्त अनुदानबापत १९ करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ करोड ६७ लाख विशेष अनुदानबापत ७५ लाख, समपुरक अनुदान २ करोड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ९० लाख ५२ हजार, सशर्त अनुदानतर्फ १३ करोड ४४ लाख, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ६६ लाख र सवारी साधन राजस्व बाँडफाँटबाट ३ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बागमतीले एकल पुरुषलाई भत्ता दिने
बागमती गाउँपालिले एकल पुरुषलाई भत्ता दिने नीतिसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार ७ गते नै गाउँसभा गरी नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने योजना रहेको बताए ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ७२ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा कुल बजेटको आधा बजेट विनियोजन गरेको छ । सामाजिक विकासमा ४२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

पूर्वधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड १६ लाख, आर्थिक विकासका लागि ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । चालु वर्षको तुलनामा गाउँपालिकाले १२ करोड रुपैयाँ बढीको बजेट बनाएको हो ।

राक्सिराङमा कोदोको रक्सी ब्रान्डिङ
राक्सिराङ गाउँपालिकाले कोदोको रक्सीलाई ब्रान्डिङ गर्न प्रोत्साहन गर्ने भएको छ । ‘कोदोको रक्सी ब्रान्डिङ प्रोत्साहन, खोज अनुसन्धान’ शीर्षकमा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेटसमेत व्यवस्था गरेको छ । घरेलु मदिरा ब्रान्डिङका लागि इच्छुक निजी तथा सहकारी संस्थालाई प्रोत्साहन गर्नेगरी गाउँपालिकाले बजेट व्यवस्थापन गरेको हो ।

रैथाने अन्नबालीको खेती, उत्पादन र व्यावसायीकरण गरी आर्थिक उपार्जनका लागि कोदोको रक्सी ब्रान्डिङ गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजाको वैधानिक खेतीका लागि पहल गर्न गाँजा बहस कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै ९ करोड रुपैयाँ वृद्धि गरी बजेट सार्वजनिक गरेको छ ।

गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको आम्दानी र खर्चको अनुमान पेश गरेका थिए । जुन चालु वर्षको तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो । राक्सिराङले चालु वर्षमा ५४ करोड ६१ लाख ७३ हजारको बजेट कार्यान्वयन गरिरहेको छ । राक्सिराङले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

भिमफेदीमा कृषि र पर्यटन प्राथमिकता
भिमफेदी गाउँपालिकाले आगामी आवका लागि ८५ करोड ४५ लाख ८७ हजार ९९८ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले वार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, ऐतिहासिक भिमफेदी सहरलाई पुर्न जागृत गरी सांस्कृतिक सहरको रूपमा विकास गर्ने नीति लिएको छ ।

निजी क्षेत्रलाई केबलकार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न अवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ । पालिका क्षेत्रभित्र उत्पादन हुने हरियो तरकारीहरू रायोको साग, मुला, बन्दा, काउलीको उचित बजार मूल्य पाउने गरी प्रदेश सरकारको सहयोगमा कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने बताइएको छ ।

इन्द्रसरोबरको बजेट ४१ करोड ७२ लाख्
भौगोलिक र जनसांख्यिक हिसाबले जिल्लाकै सबैभन्दा सानो स्थानीय तह इन्द्रसरोबर गाउँपालिकाले ४१ करोड ७२ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष कुमारी लामाले गाउँसभामा आगामी आर्थिक वर्षको लागि आम्दानी र खर्चको अनुमानित विवरण प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन, गुणस्तरीय र दिगो पूर्वाधार विकास, प्राविधिक तथा गुणस्तरीय शिक्षालाई पनि विशेष ध्यान दिएर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्