Logo

रोल्पाका स्थानीय तहले ल्याए ५ अर्बको बजेट

रोल्पा– आगामी आर्थिक २०८२/८३ का लागि रोल्पाका सबै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । एक नगरपालिका र ९ गाउँपालिका गरी दश स्थानीय तह रहेको रोल्पामा असार १० भित्र दश वटै स्थानीय तहले बजेट ल्याएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार १० भित्र गाउँसभा/नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने हुन्छ । सोही अनुसार रोल्पाका स्थानीय सरकारले पनि बजेट ल्याएका हुन । आगामी वर्ष २०८२/८३ का लागि जिल्लाका दश स्थानीय तहले ५ अर्ब २५ करोडराबरको बजेट ल्याएका छन् ।

सुनिलस्मृति गाउँपालिकाले ५६ करोड १४ लाख, लुंग्री गाउँपालिकाले ४८ करोड ९६ लाख, सुनछहरी गाउँपालिकाले ४४ करोड २४ लाख, परिवर्तन गाउँपालिकाले ४८ करोड ४४ लाख, गंगादेव गाउँपालिकाले ४६ करोड ५८ लाख, माडी गाउँपालिकाले ४२ करोड ४२ लाख, रोल्पा नगरपालिकाले ८० करोड २ लाख, रुन्टीगढी गाउँपालिकाले ६६ करोड ३० लाख, थबाङ गाउँपालिका ३३ करोड ९९ लाख र त्रिवेणी गाउँपालिकाले ५८ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

जिल्लाको सुनिलस्मृति गाउँपालिकाले आगामी वर्षको लागि ५६ करोड १४ लाखबराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १८ औं अधिवेशनको असार ९ मा सम्पन्न दोस्रो वैठकमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले चालुतर्फ ४१ करोड ५३ लाख अर्थात् ७३.०६ प्रतिशत र पुँजीगततर्फ १५ करोड ३१ लाख अर्थात् २६.९४ प्रतिशत विनियोजन गरेको छ । उपाध्यक्ष थापाले गाउँसभामा पेस गरेको बजेट गाउँसभाले सर्वसम्मत पारित गरिसकेको छ ।

लुंग्री गाउँपालिकाले ४८ करोड ९६ लाख रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको जानकारी दिइन् । जसमा चालुतर्फ ३४ करोड ८२ लाख र पुँजीगततर्फ १४ करोड १४ लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक विकासका लागि १ करोड ३४ लाख, सामाजिक विकासका लागि २९ करोड ९३ लाख, पूर्वाधार विकासका लागि ५ करोड १४ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनीक खर्चको लागि करिब ११ करोड २२ लाख विनियोजन गरेको छ ।

सुनछहरी गाउँपालिकाले ४४ करोड २४ लाखको बजेट विनियोजन गरेको जनाएको छ । सो गाउँपालिकाले आगामी आवको लागि कुल ४४ करोड २४ लाख विनियोजन गरेको हो । जसमा चालुतर्फ ३३ करोड १२ लाख अर्थात् ७४.८७ प्रतिशत र पुँजीगततर्फ ११ करोड ११ लाख अर्थात् २५.१३ प्रतिशत रकम विनियोजन गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष घर्तिले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मौज्दात ५० लाख र आन्तरिक राजस्वबाट ५५ लाख गरी आन्तरिक स्रोत १ करोड ५ लाख, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० करोड ५६ लाख, संघबाट प्राप्त हुने समानीकरण अनुदान ८ करोड ८ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । गाउँपालिकाले कृषि, पर्यटन, पूर्वाधार, रोजगारी सिर्जनालगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

परिवर्तन गाउँपालिकाले ४८ करोड ४४ लाखबराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । कुल बजेट ४८ करोड ४४ लाखमध्ये चालुतर्फ २९ करोड २८ लाख अर्थात् ६० प्रतिशत बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ १९ करोड १६ लाख अर्थात् ४० प्रतिशत बजेट विनियोजन भएको छ । गाउँपालिकाले कृषि, पूर्वाधार निर्माण, रोगारी सिर्जना लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

गंगादेव गाउँपालिकाले आगामी वर्षको लागि ४६ करोड ५८ लाख ९६ हजारबराबरको बजेट विनियोजन गरेको छ । गाउँसभाको १९ औँ वैठकबाट गाउँपालिकाले चालुतर्फ ३४ करोड ६८ लाख र पुँजीगत खर्चतर्फ ११ करोड ९० लाख रुपैयाँको अनुमान गरिएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि समयमै बजेट ल्याएका छन् । जिल्लाका अधिकांश स्थानीय तहको बजेटमा पुरानै कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

अधिकांश स्थानीय तहले पूर्वाधार विकासमा जोड दिएका छन् । त्यसका साथै कृषि, शिक्षा, पर्यटन विकास, रोजगारी सिर्जनालगायतको क्षेत्रलाई पनि जोड दिइएको छ । चालु आवमा आन्तरिक विवादका कारण समयमै बजेट ल्याउन नसकेका यहाँका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सभामा समयमै पेस गरेका छन् ।

कतिपय स्थानीय तहले गाउँसभाबाट बजेट पारित गरिसकेका छन् भने केही स्थानीय तहको बजेट पारित हुन बाँकी छ । स्थानीय सरकारको आन्तरिक आम्दानी अत्यन्तै न्यून देखिन्छ । आन्तरिक आम्दानी न्युन रहेको साथै लक्ष्य अनुसार स्थानीय तहले आम्दानी गरेको देखिदैन् । आन्तरिक आम्दानी न्यून हुँदा स्थानीय तहले संघ र प्रदेशको अनुदानको भरमा निती तथा कार्यक्रम र बजेट ल्याएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्